क्यामेरा छलेर आँशु चुहाउछु : कृष्णविनोद लम्साल

कृष्णविनोद लम्सालको जन्म २००६ सालमा भोजपुर जिल्लाको दिङ्लामा भएको हो । उहांको पिताको नाम स्व. केशव लम्साल तथा माताको नाम स्व. सरस्वता लम्साल हो । साहित्यकार तथा अग्रज पत्रकार लम्साल हाल इटहरीको बालग्रामचोकमा बसोवास गर्नुहुन्छ । उहाका बन्दी आस्थाहरु (कविता सङ्ग्रह) परिस्थितीका मुद्दाहरु (कथा सङ्ग्रह)पूर्वान्चलमा यातायातको अवस्था : विगत र वर्तमान (खोज अनुसन्धान) विभाजित समय (उपन्यास) युगान्तर (कथा सङ्ग्रह) लगायतका कृतिहरु प्रकाशित छन् ।

२०३३ साल देखी पत्रकारितामा संलग्नता रहनु भएका उहां प्रगति पाक्षिक तथा प्रतिनिधि साप्ताहिकको सम्पादक समेत भएर कार्य अनुभव बटुल्नु भएको छ । उहां इटहरी साहित्यिक समुहको अध्यक्ष तथा षडानन्द स्मृति प्रतिष्ठान इटहरीको संस्थापक सदस्य हुनुहुन्छ । उहां जेष्ठ नागरिकको अनुभव नयां पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले पहिले सप्तकोशी एफ.एम. बाट उहिलेका कुरा तथा अहिले मकालु टि.भी. बाट साप्ताहिक रुपमा इतिवृत्तान्त कार्यक्रम समेत संन्चालन गदै आउनु भएको छ । विभिन्न सामाजिक शैक्षिक तथा साहित्यिक सङ्घ संस्थाहरुबाट सम्मानित हुनुभएको उहां साहित्य समाजको ऐना र पत्रकारिता समाजसेवा हो भन्ने मान्यता राख्नुहुन्छ । मिलनसार, सरल , बहुमुखी प्रतिभाका धनि अग्रज पत्रकार तथा साहित्यकार लम्साल संग मणिराम दाहालले गरेको कुराकानी याहां प्रस्तुत गरिएको छ ।

तपाईको बिगत तिर जाँउ न ?

मेरो जन्म भोजपुर जिल्लाको दिङ्लामा भएको हो । मेरो जन्मथलो पहिले केउरेनी पानी १ कटहरे वितलप् हो । अहिले षडानन्द नगरपालिका ३ भएको रहेछ । केही बर्ष धरानमा विताएर अहिले इटहरीमा स्थायी वसोवास गर्दछु । पिता श्री श्रीकेशव लम्साल र माता सरस्वता लम्सालका कोखवाट जन्म भएको हो । चारओटी दिदीहरु पछि म जन्मिएको रहेछु । माता पिता र चारैजना दिदीहरु परमधाम गैसक्नु भयो ।
दुई छोरी र दुई छोराको पिता हुँ । साथै चारओटी नातिनी र दुई नातीको हजुर्वा पनि हुँ म । २०७४ चैत ६ गते देखि ७० बर्षको भएँ ।

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?

हिजोआज मकालु टेलिभिजनमा ज्येष्ठ नागरिकसँग वार्तालाप गर्छु । कथाले मागेका फुटेज समावेश गरेर साप्ताहिक रुपमा कार्यक्रम सञ्चालन गर्दछु । त्यो कार्यक्रम उत्पादन गर्न झन्नै दुईदिन खर्च हुन्छ । त्यो कार्यक्रम हेरेर ठाउँठाउँका दर्शक श्रोता मलाई हौस्याउनु ह्ुन्छ । ए ?समाजलाई खुशी पार्ने काम गरिदैरहेछ जस्तो लाग्छ र मख्ख पर्छु ।

 बुढाबुडीसँग कुरा गरेको , उनीहरुका दुःखसुखका कुरा सुनेको धेरै बर्ष भयो । कस्तो अनुभव गर्नुभएको छ ?

अनुभव त म सवैलाई बाँडीरहेकै छु । ग्रामीण भेगका ज्येष्ठ महिला पुरुषवाट अहिले पनि मैले खोज्ने गरेको नेपालको पुरानो लोककला संस्कृति रितिपरम्परा पाइन्छ । तर, शहर बासीहरुवाट त्यस्ता कुरा कमै आउँछन् । अथवा शहरमा नेपाली मौलिकता हराउँदै गएको छ । तर जहाँ वस्ने भए पनि हाम्रा ज्येष्ठ नागरिकहरु पारिवारिक गुनासो गर्नुहुन्न । बुहारीले मीठो वचन बोलेर भोक लागेका वेलामा खान दिईभने खुशी हुन्छन् । कामवाट फर्केर घर आएपछि छोराले सामान्य सोधखोज गरिदियो भने उहाँहरुलाई पुग्छ । अझ म यो काम गर्दैछु कसोहोला भनेर छोराले सोधिदियो भने वुढाबुढीका खुट्टा भुइँमा हुँदैनन् ।

त्यसोत कार्यक्रममा आएका अतिथिका बुवा आमा अथवा आफन्तको देहावसान वा बिछोडपछि उहाँहरुले पाएका हण्डर र भुक्तमानका कुरा सुनेर म आफैँ धेरै पटक द्रविभूत भएको छु । क्यामेरा छलेर आँशु चुहाएको छु । धेरै बर्ष भएकाले अनुभव पनि धेरै छन् । ती प्रसङ्ग वस आउँनेहुन् ।

अनि तपाई त साहित्यकार, केही लेखनकार्य पनि गर्दै हुनुहुन्छ होला ?

अनुसन्धानमूलक यौटा कृति लेख्तैछु ।  त्यो कृति योजना वनाएरै लक्ष्य अनुसार लेखन कार्य प्रारम्भ गरेको थियो । कृतिमा हिन्दु धर्मावलम्बीहरुको आस्थाको धरोहर बराहक्षेत्रको वर्णन छ । अनेक किंवदन्ति वोकेको औलियाबाबाका कुरा र औलिया मठको वर्णन छ । पौराणिक आधारमा वालसन्त मोहनशरण देवाचार्यले चतरामा तीनपटक कुम्भ सम्पन्न गरेको कुम्भको वर्णन छ । कुम्भमेलाको प्रतिकका रुपमा स्थापित कुम्भस्तम्भको वर्णन छ ।

त्यो कृतिमा गोसाईकुण्ड पूर्व र कञ्चनजङ्गा पश्चिम अवस्थित नेपालको हिमवतखण्डको संक्षिप्त वर्णन छ । नेपालको सवभन्दा ठूलो नदी सप्तकोशीको पनि यथाशक्य वर्णन छ । कोशी सभ्यताका केही झलकको वर्णन गर्दै त्रिवेणीदेखि कोशी व्यारेज सम्मका किनाराको पनि केही विवरण वर्णन गरिएको छु ।

चतरालाई कर्मथलो वनाएर वसेका वालसन्त मोहनशरण देवाचार्यका त्यागको वर्णन छ । ,तपस्याका प्रतिमूर्ति सिद्धयोगीाबाबा डा.कृष्णदासमा अपार ज्ञान भण्डार र उनको भूसमाधीको वर्णन छ । पौराणेयधरा र प्राचीन हरिद्वारको परिचय वनाउँदै गएको चतराको वर्णन पनि समेटिएको छ । आदिइत्यादि दस्तावेज सहित एउटा कृतिको तैयारीमा जुटेको छु । यसको लेखन कार्य नव्वे प्रतिशत सकियो ।

धरमराउँदो अवस्थाको हाम्रो संस्कार संस्कृति रितिपरम्परा माथि बहससको पनि वर्णन छ । यो कृतिको नाम नै वर्णनको जुलुस राख्ने भनेर भर्खरै तय भएको छ । अव यसको पुनःसूक्ष्म अध्ययन हुनेछ । भाषा सम्पादन ,व्याकरण सम्पादन गरिने छ । त्यसपछि प्रकाशन हुनेछ ।

तपाई साहित्य सिर्जना गर्नुहुन्छ । धेरै पुस्तकहरु प्रकाशन गर्नु भएको छ । साहित्यमा किन र कहिलेदेखि निकट हुनुभयो ?

साहित्य सिर्जनाका कुरा उठ्ता सवैमा भावातित भावना हुन्छ । त्यो साहित्यिक भावना हुनसक्छ । सामाजिक भावना पनि हुनसक्छ । तर, ती भावनालाई मलजल गरेर विकसित गराउन अध्ययन चिन्तन मनन हुनुपर्छ । त्यसो गर्न धे्रैलाई फुर्सद हुँदैन । तसर्थ सवैमा साहित्य सिर्जना गर्ने सौभाग्य प्राप्त हुँदैन । अतः म स्वाध्यायनवाट ती साहित्यिक भावनालाई जगाउने प्रयत्नमा तल्लिन छु ।

मैले लेखेका उपन्यास २,कथासंग्रह २,कवितासंग्रह १, र प्रर्वाञ्चलको यातायातको खोजी गरेको यौटा गरेर ६ ओटा कृति प्रकाशित भएका छन् । मेरो समर्पणभाव अनुसार ती त्यति धेरै होइनन् । साहित्य सिर्जना गर्ने भावनाहरु आएकाले लेखियो । यी भावनाहरु खासगरिकन बिद्यालयमा अध्ययन गर्दागर्दै आएर विकसित वन्दा रहेछन् । अतः साहित्यमा त किन लागियो भन्ने प्रश्न भावनाले मात्र जान्दो रहेछ । म कहिले देखि साहित्य लेखन गर्न थालेँ भन्ने सम्झेर ल्याउँदा २०२३ देखि हो ।

साहित्य के हो ?

साहित्य भनेको समाजको ऐना भनेर पहिलेदेखिनै परिभाषित हुँदै आएको छ । त्यसो भनेको साहित्यमा समाजका विविध पक्ष मुखरित भएको हुनुप¥यो । पहिलेका साहित्य क्लिष्ट, दुरान्वय भएका, दोहोरो तेहरो अर्थलाग्ने शब्द प्रयोगगर्नुलाई उत्कृष्ट साहित्य मानिन्थ्यो । तर, अहिले जनताले भोगेका कुरालाई शिष्ट,सरस, सरल तरिकाको साहित्यलाई राम्रो मानिने परम्परा विकसित हुँदै गएको छ । साहित्यकारको सम्मान बढदै छ ।

नयाँ साहित्य सिर्जना र पुरानो साहित्य सिर्जनामा के फरक छ ?

साहित्य नयाँ र पुरानो हुदैन भन्छु म त । तर, बिषयलाई कुन कोणवाट कस्ता प्रतिक र विम्वमा उतार्ने कुरा भने नयाँ र पुरान हुन सक्छन् । तर, अहिले नयाँ हुनलाई केही मान्छे लिग छोड्दैछन् ।

 तपाई साहित्यको कुनकुन विधामा कलम चलाउनु हुन्छ ?

म पहिले पहिले कविता लेख्थेँ । यौटा कवितासंग्रह पनि प्रकाशन गरेको छ् । त्यसले म सन्तुष्ट भइन । फलतः आख्यान विधामा लागेको छु । आख्यान विधामा लागेपछि दुइटा उपन्यास दुइटा कथासंग्रह लेखेँ र प्रकाशन गराउन सफल भएँ । यिनै पुस्तक माथि स्नातकोत्तर गर्दै गरेका पढ्दै गरेका १० जनाले शोधपत्र लेखे ।

तपाईँ पुरानो पत्रकार पनि हुनुहुन्छ । वास्तवमा पत्रकारिता के हो र कस्तो हुनुपर्दछ ?

पत्रकारिता पनि समाजसेवा हो । हामी त समाजको दर्पण हो भनेर लागेका थियौँ । अव अहिले व्यवसाय मूलक हुँदै जान थालेको छ । यो व्यवसायिकरणतर्फ उन्मुख भएकाले सुदीर्घ र सुदृढ भविष्यको आशा पलाएको छ ।

पत्रकारितामा लागेर अथवा साहित्यकार भएर गलत गरेँ जस्तो लाग्दैन ?

पत्रकारितामा लागेर पछुुतो मान्नुभन्दा पनि पत्रकार साहित्यकार नवनेको भए मेरा के पहिचान हुन्थ्यो होला भन्ने मनभरी कल्पना आउँछन् ।

बिगत लामो समयदेखि विभिन्न प्रकारका सञ्चार माध्यमवाट बृद्धबृद्धाका अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिरहनुभएको छ ।यो सोच कहाँवाट आयो ? यसवाट के उपलब्धी भयो ?

ठीकै भन्नुभयो , निकै लामो समयदेखि ज्येष्ठ नागरिकहरुसँग वार्तालाप गरिरहेकोछु । काठमाडौको सगरमाथा रेडियोमा भैरव रिसालले सञ्चालन गरेको उहिले बाजेका पालामा भन्ने कार्यक्रम सुनेपछि यो सोच ममा विकसित भएको थियो । नभन्दै इटहरीमा सप्तकोशी एफएम खुलेपछि त्यहाँ मैले पनि समाचार सम्पादन गर्ने अवसर पाएँ । सञ्चालकहरुलाई यस्तो कार्यक्रम चलाउँछु भन्दा स्वीकृेती भयो र कार्यक्रम चलाउन थालेको हुँ ।

श्रोता दर्शकले मेरो प्रश्न गर्ने शैलीलाई मन पराइदिनु भएकाले ठाउँठाउँवाट हौसला पाएँ । अहिले मकालु टिभिको कार्यक्रमवाट झनु हौसला पाईरहेको छु ।

साहित्य र पत्रकारितामा आएका विकृतिलाई हटाउन सकिन्छ ?

माझिने सुधारिने क्रमको अवस्था हो यो । तसर्थ विकृति भन्न म रुचाउँदिन । अलि अलि ठिमाहा त जहाँ पनि हुन्छन् नै । त्यसैलाई आधार मानेर विग्रियो सकियो भन्नुहँदैन । बरु हाम्रा संस्कार संस्कृति र परम्परामा विदेशी हस्तक्षेप बढेको छ । त्यसको निराकरणतर्फ लागौँ । लागुपदार्थका व्यापारी, शिक्षाका व्यापारी,रक्सीका व्यापारी र निकोटिनका व्यापारिवाट देश प्रताडित छ । बरु यिनको न्यूनिकरण तर्फ सोचौँ ।

तपाईलाई राजनीतिमा कत्तिको रुची छ ?

पहिला पहिला राजनीति गरियो । माक्र्सवादी दृष्टिकोण राम्रो लागेको थियो । पुष्पलाल , मनमोहन सँग धाइैधाई भेट पनि गरियो । तर, पत्रकारितामा लागेपछि विस्तार विस्तार पछि हटेर अहिले तटस्थ छु । तर, भोट दिने कुरामा सम्झौता हुँदैन ।

आध्यात्मिक पक्षमा तपाइलाई कत्तिको विश्वास छ ?

अध्यात्ममा विश्वास नगर्ने मान्छे असल मान्छे हुन सक्तोरहेनछ भन्ने मेरो अनुभव छ । तर, मान्छे आध्यात्मिक हुनु धर्मात्मा हुनु भनेको स्वर्गजाने नर्कपर्ने होइन । यो स्वर्ग र नर्क प्रकारान्तरले खाइजीबिकाको मेलो हो भन्ने मेरो अभिमत रहन्छ ।

जीवन र जगतलाई कसरी परिभाषित गर्नुहुन्छ ? । वास्तवमा जीवन के रहेछ ?

जीवन अथवा मानव जीवन श्रृष्टिको अनुपम र संसारको अप्राप्य निधि हो । यसलाई सामाजिक पक्षमा लगाउन सकियो भने आफैलाई आनन्द आउँछ । यसको सही सदुपयोग गर्न सकियो भने जीवन सार्थक हुने रहेछ । प्रस्तुती : मणिराम दाहाल

Purbeli TV

तपाईको प्रतिक्रिया