३९ घण्टा सुरुङ भित्र , एक अर्कालाइ हेरेर बाँच्ने आस बढ्यो (तस्विरहरू सहित)

संखुवासभा / सुरुङमा पहिरो खसेपछी केही सञ्चार माध्यमले उनीहरुको मृत्युको खबर पनि लेख्न भ्याए । श्रद्धाञ्जली र समवेदनाका अक्षरहरुले सामाजिक सञ्जाल फेसबुकका भित्ताहरु भरिएका थिए । तर आयोजनाका केही कर्मचारीहरु, घटना स्थल पुगेकाहरु र पहिरोका प्रत्यक्ष दर्शीहरुले भने उनीहरुको आशा मारेका थिएनन् । सोँचे जस्तै साबित पनि भयो । भाग्यले बाँचेकाहरु भने जस्तै अरुण तेस्रो सुरुङ मार्गमा पहिरो खसेपछी थुनिएकाहरु आइतबार बिहान ११ बजे सकुशल उद्धार गरिएको छ । शुक्रबार राती ८ः४० बजे सुरुङमा पहिरो खसेपछी नेपाली नागरिक दुई जना र भारतिय मुलका दुई जना सुरुङ भित्रै छोपिए । पहिरोले छोपिए पछी उनीहरुले ३९ घण्टा सुरुङ भित्रै बिताए ।

भारतको झारखण्डका अपरेटर ५५ वर्षिय बुधन मुण्डा पानीको भरमा ३९ घण्टा बसेर बाहिर निस्कदा पुर्नजन्म पाएको महसुस गरे । मुण्डा सुरुङमार्ग पहिरोले पुरिएर फसेका बुमर (सुरुङ मार्ग खन्न प्रयोग गरिने मेसिन)का अपरेटर हुन् । हामी चार जना एक आपसमा यति दृढ थियौ की हामीलाई बचाँउने छन् भनेर एकसाथ बसि एकले अर्काकोे आत्माबल बढायौं । यदी म¥यौं भने पनि एक साथ मर्ने प्रणका साथ हामी बस्यौं । हामी संग खानेकुरा केही थिएन, पानीका भरमा बाँच्यौं । बाहिरको आवज आए पछि अब भने बाँच्ने आशा पलायो । सुरुङमार्गको बाहिरी भागबाट थोरै पुवाल परेपछि बाहिरको हावा भित्र पस्न सुरु गरेपछि श्वास फेर्न समेत सहज भयो मुण्डाले भने । अनि थोरै उज्यालोले फेरी जीवनको आश ग¥यौं ।
सुरुङ भित्र मुण्डा सहित सिउना गाउँपालिका ४ कालिकोटका ३२ वर्षिय प्रदिप शाही, चन्द्रनाथ नगरपालीका १ जुम्लाका ४४ वर्षिय प्रेम परियार, भारत बिहारका पम्प सहयोगी ४५ वर्षिय नन्द किशोर फसेका थिए ।

उनीहरुको उद्धार शनिबार विहानै बाट गरिए पनि दिनभर बेलाबेला पहिरो खस्नुका साथै वर्षाले उद्धारमा ढिलाई भएको थियो । उद्धार प्रभावकारी नभए पछि आइतबार रौताह कम्पनीको स्काईभेक्टर थप गरेपछि मात्र उनिहरुको उद्धार कार्य सफल भएको थियो । स्काईभेटरले पहिरो हटाए पछी सुरुङ मार्ग भेटिएपछी उद्धारमा खटिएका सुरक्षा कर्मीहरुले डोरीको सहायतामा उनीहरुलाई बाहिर निकालिएको हो ।

प्रेम परियार र प्रदिप साहीलाई आइतबार नै सदरमुकाम खाँदबारी ल्याइएको छ । परियारको ढाडमा समस्या देखिएकाले थप स्वास्थ्य परिक्षणको लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्याम कुमार सारु मगरले जानकारी दिए । स्वास्थ्य अवस्था सामान्य रहेका दुई भारतियलाई आरामका लागि उनीहरुकै क्याम्पमा राखिएको मगरले बताए ।

पहिरोेका कारणा परियोजनाको एक वटा पुलमा पुर्णरुपमा क्षति पुगेको छ । पहिरो बाट कति क्षति भयो भन्ने विवरण आउँन बाँकी रहको छ । मकालु गाउँपालिका ५ मा रहेको बाँध निर्माण स्थलमा हाल सुरुङ मार्ग सहित पुर्वाधारको काम सुरु गरीएको छ । निर्माण सुरु गरिएको सुरुङ मार्ग ३० मिटर लामो रहेको आयोजनाले जनाएको छ । नौं सय मेगावटको अरुण तस्रो जलविद्युत आयोजना सन् २०२२ सम्ममा निर्माण समपन्न गर्नुपर्ने छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया