नेविसंघद्वारा ताप्लेजुङमा प्रधानमन्त्री ओलीको पुत्ला दोहन

ताप्लेजुङ  / सरकारले पेट्रोलियम पदार्थ लगायतमा गरेको मुल्य वृद्धि फिर्ताको माग सहित आन्दोलनरत नेपाल विद्यार्थी संघले ताप्लेजुङमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दोहन गरेको छ । गत सातादेखि चरणवद्ध आन्दोलनमा रहेका आन्दोलनरत विद्यार्थीले विहान नाराजुलुस प्रर्दशन सहित सदरमुकाम फुङलिङमा आज विहान प्रधानमन्त्री ओलीको पुत्ला दोहन गरेका हुन् ।

विरोधका कार्यक्रमलाई लक्षित गरि जिल्लाको सुरक्षा व्यवस्था थप कडाई गरिए पनि प्रहरी प्रशासनलाई नै छक्याउँदै नेवि संघले प्रर्दशन र पुत्ला दोहन गरेको थियो । आज साँझ प्रर्दशन र पुत्ला दोहन गर्ने जनाएको नेविसंघले विहानै पर्दशन गरे पछि प्रहरीलाई नियन्त्रण गर्न केही ढिलाई भएको थियो । देश व्यापी रुपमा सरकार विरुद्ध आन्दोलन गरिरहेको नेवि संघले ताप्लेजुङमा समेत चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

यस अघि ठाउँठाउँमा मशाल जुलुस निकाल्नुका साथै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाईएको नेवि संघ ताप्लेजुङका सभापति डम्बर हाङ्गामले जानकारी दिनुभयो । राष्ट्रवादको नारा लगाउँदै सत्तामा पुगेको सरकारले जनताको हित विपरित काम गरेकाले आन्दोलित हुनु परेको हाङ्गामको भनाई छ । पेट्रोलियम पदार्थ साथै उपभोग्य बस्तुमा बढेको मुल्य वृद्धि तत्काल फिर्ता नभए सम्म आन्दोलनका कार्यक्रमलाई जारी राखिने नेविसंघले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया