रोजाको वास्तविकता र सामाजिक सद्भाव

रोजा इस्लाम धर्मावलम्बीको पाँच आधार स्तम्भहरूमध्येको एक हो । अरबी पात्रोको नवौं महिना रमजानमा विश्वभरका मुस्लिमहरू एकैसाथ रोजा (उपवास) बस्दछन् । यस महिनामा मुस्लिम समुदायका महिलापुरुष दुवै एक महिनै रोजा अर्थात व्रत बस्छन् । एक महिने व्रतलाई मुस्लिम समुदायले धार्मिक उत्सव मान्छन् ।संसारका सबै मुस्लिम समुदायको लागि यो एक महिनाको निकै विशेष महत्त्व रहेको छ ।यसै रमजान महिनामा इस्लाम धर्मको धार्मिक ग्रन्थ कुराआन अवतरण भएको थियो । यसै खुशियालीको अवसरमा मुसलमानहरु एक महिने कठोर व्रत बसी रमजान पर्व मनाउने गरिन्छ । रमजान महिनामा दैनिक करिब १५ देखी १६ घण्टा पानी पनि नखाई रोजेदारले आफूलाई कडा नियममा बाध्ने गर्छन् । यहीँ यस पवित्र महिनामा बसिने रोजाको नियम पनि हो ।हरेक वालिग, समझदार महिला तथा पुरुषमाथि रोजा अनिवार्य गरिएको छ ।

तर, बृद्धबृद्धा, अशक्त वा दीर्घ रोगी, यात्री, गर्भवति, रजश्वला भएकी, सुत्केरी वा दूध चुसाउने महिलाहरूका लागि रोजा अनिवार्य गरिएको छैन ।रमजान महिनाको रोजामा कुनै विशेष समयमा केही वस्तुहरूबाट निश्चित शर्तहरूका साथ सूर्याेदय हुनुभन्दा पूर्वदेखि सूर्यास्तसम्म बिषेशतः खानपिन र सम्भोगबाट चित्तलाई अलग राख्नु नै रोजा हो ।रोजाको वास्तविक उद्देश्य दिनभर खानपिनलाई छोड्नु मात्रै होइन । यसले मानिसमा आत्मशुद्धि, सन्तुष्टि र अल्लाहको भय उत्पन्न गराउँदछ । जसरी यो महिनामा कुविचार र कुकर्मबाट मानिस बच्छ, त्यही निरन्तरता अन्य ११ महिनामा पनि हुनुपर्ने व्यवहारिक प्रशीक्षण रोजाले दिन्छ । रोजाले मानिसलाई भलो र सदाचारी बन्न सहायता गर्छ । रोजा मनुष्यमा ईशपरायणता जन्माउने अत्यन्तै महत्त्वपूर्ण माध्यम हो । रोजाबाट मानिसको आत्मिक एवं चारित्रिक उत्थान हुने मुस्लिमहरू विश्वास गर्दछन् । रमजान दान, प्रतिदान र क्षमादानको महिना हो । यसमा गरिने प्रत्येक सुकर्म अन्य दिनको तुलनामा सात सय गुना प्रतिदान मिल्ने विश्वास गरिन्छ ।रोजा राख्ने व्यक्तिलाई अल्लाह ताला (ईश्वर) आफैंले उक्त कार्यको मुअब्जा दिन वाचा गर्नुभएको छ ।

मिकाइल आलम

रोजालाई जम्मा तीन भागमा विभाजन गरिएको छ । पहिलो दश दिनसम्म अल्लाहले हामीलाई रहमत प्रदान गर्नुभएको हुन्छ । त्यसैगरी दश रमजानदेखि २० रमजानसम्म अर्थात् यो १० दिन आफनो जीवनमा गरेका पापहरुका लागि माफी माग्ने सुवर्ण अवसर हो । यस्तै, अन्तिम दश दिनमा जहन्नम (नर्क) बाट कसरी मुक्ति पाउने भन्नेमा विशेष ध्यान दिएर अल्लाहमा आफनो जीवनलाई परिवर्तन गरी आफूले गरेका पापहरुका लागि माफी मागेर आफनो जीवनलाई एउटा सानो बच्चाको समान बनाउनु आवश्यक हुन्छ । अन्तिम १० दिनका बिजोर रातहरु अर्थात् २१, २३, २५, २७ र २९ औँ रातलाई अरबी भाषामा ‘शब्वेकदरको रात’ भनिन्छ । अर्थात् यी रातहरु हजारौँ रातभन्दा महत्त्वपूर्ण हुन्छन् । माथि उल्लेखित रातहरुमा नसुती कुरान पढ्ने, नमाजहरु पढ्ने र आफ्नो जीवनमा गरेका पापहरुको विश्लेषण गरी अल्लाहसँग सही नियतले माफी मागेमा अल्लाहले वादा गरेका छन् कि म गफुरुररहीम हुँ अर्थात् म रहम गर्नेवाला छु । अवश्य तिम्रा पापहरु समाप्त गर्नेछु ।

सेहरी:

रातको आखिर प्रहरमा सूर्याेदय हुनुपूर्व रोजाको नियतबाट खानपिन गर्नुलाई सेहरी भनिन्छ । सेहरी खानामा धेरै प्रतिदान र अभिवृद्धि रहेको बताइन्छ । रोजा राख्न नियत अनिवार्य गरिएको हुन्छ । सेहरी खान नपाए पनि रोजा भने आवश्य राख्नुपर्छ ।

इफ्तार :

सूर्यास्तपश्चात् रोजा तोड्नका लागि केही खानपिन गर्नुलाई इफ्तार भनिन्छ । इफ्तारमा ढिला गर्नुहुन्न । भनिन्छ– व्रतालुहरूको पुकार इफ्तारको समयमा स्वीकार हुन्छ । अर्काेतर्फ व्रतालुहरूलाई इफ्तार गराउनु अत्यधिक प्रतिदानको कार्य हो भन्ने मुस्लिमहरूको विश्वास छ ।

तराविह:

रमजान महिनामा विशेष किसिमको नमाज पढिन्छ, जसलाई तराविह भनिन्छ । यो रातमा पढिने नमाज हो । प्रायः तराविहमा सम्पूर्ण कुरानको पाठ गरिन्छ ।

शबे कद्र:

रमजान महिनाको आखिरी भागमा “शबे कद्र” अर्थात् सम्मानित रातमा मानव जातिको मार्गदर्शनको लागि सर्वशक्तिमान अल्लाहको तर्फबाट हजरत मुहम्मदमाथि कुरान अवतरित गर्न प्रारम्भ गरिएको थियो । यसलाई “लैलतुल कद्र” पनि भनिन्छ । यस दिव्य रातलाई हजारौँ महिनाभन्दा उत्तम भनेर कुरानले वर्णन गरेको छ । यस रातमा ईशदूतहरू पलनहारको निर्देशनअनुसार हरेक कार्यको व्यवस्थाका लागि अवतरित हुन्छन् भन्ने विश्वास छ ।

कुरानको अवतरण:

रोजा र कुरानबीच घनिष्ठ सम्बन्ध रहेको छ । रमजान कुरान अवतरित भएको महिना हो । यो महिनामा धेरैभन्दा धेरै कुरानको पाठ गर्नु पर्छ । मनवजातिको मार्गदर्शन तथा सत्य र असत्यबीच स्पष्ट अन्तर गर्नका लागि अल्लाहले कुरान हजरत मोहम्मदमाथि १७ अगस्त, सन् ६१० बाट अवतरण हुन सुरु भयोे । परिस्थिति र जुन अन्तर्वस्तुमा मार्गदर्शक वा आदेशको आवश्यकता पर्‍यो त्यसैअनुसार कुरानको अवतरणको प्रारम्भ भएको हो । यो सिलसिला मार्च, सन् ६३२ सम्म रह्यो । कुरानमा कुल ११४ सूरह (अध्याय) र ६६६६ आयात (श्लोकहरू) रहेका छन ।

सदका­ए­फित्र:

सदका­ए­फित्र तथा जकात (धर्मादान) द्वारा इस्लाम सामाजिक न्यायको व्यावहारिक आर्थिक उदाहरण प्रस्तुत गर्छ । इदको नमाजभन्दा पहिला नै सदका­ए­फित्र दिनुपर्छ । सदका­ए­फित्रबाट सङ्कलित रकम गरिब, मजदुर तथा बेसहारा मानिसहरूलाई दिनुपर्छ । जोसँग प्रचलित साढे ७ तोला ५२ तोला सुन वा साढे ५२ तोला चाँदी मूल्य बराबरको चलअचल सम्पत्ति छ, त्यस्ता व्यक्तिहरूले आफू र आफ्नो परिवारका सदस्यहरूको फित्र दिनुपर्छ । फित्रको मात्रा पनि इस्लामले निर्धारण गरिदिएको छ । पौने दुई सेर गहुँ वा साढे ३ सेर जौ वा यसको पीठो वा यसको मूल्य बराबरको कुनै अनाज प्रति व्यक्तिको दरले गरिबलाई दिनुपर्ने हुन्छ । त्यस्ता व्यक्ति सद्काको हकदार हुन्छन, जसमाथि सद्का अनिवार्य छैन । यस दानबाट रोजामा भएका केही सानातिना त्रुटिहरू माफ हुने विश्वास गरिएको पाइन्छ ।

जकात:

जकातको अर्थ पवित्र गर्नु वा असल पार्नु हो । कुनै व्यक्तिसँग भएको सुन, चाँदी, अन्न वा जनावर इस्लामी विधिशास्त्रले तोकेको सीमा पुगिसकेको छ भने त्यस्तो व्यक्तिको सञ्चित रकमको निश्चित परिणाममा समुदायको अधिकार हुन जान्छ । यसलाई नै जकात भनिन्छ । जकात दिनको लागि प्रचलित चाँदीको मूल्यको हद साढे ५२ तोला वा साढे ७ तोला वा यसको मूल्य बराबरको नगद रूपियाँ, एक वर्षसम्म सञ्चित रहिरह्यो भने त्यसको मालिकले १०० को २ दशमलव ५ प्रतिशतका दरले जकात निकाल्नु पर्छ ।जनावर र उब्जनीमा माटोको क्षमता तथा सिँचाई आधारमा जकात निकाल्नु पर्ने हुन्छ  । आयस्रोत नहुने, गरिब, नोकरको स्वतन्त्रता, ऋणीहरूको कर्जा तिर्न आदिमा जकातबाट सङ्कलित रकम प्रयोग गर्न सकिन्छ ।

जीवनमा सफल हुनका लागि कर्म गर्न जरुरी छ । रोजा यस्तो कर्म हो, जो मनुष्यलाई लोक एवं परलोक दुवैमा सफलता दिन्छ । रोजाले मनुष्यका सबै ज्ञानेन्द्रीयहरूलाई कुकर्म गर्नबाट रोकेर सत्यतर्फ प्रवृत्त गराउँछ । यो कुकर्मबाट टाढा रहने र पुण्य फैलाउने उपमा हो । यसैगरी रोजा उपासना, जनसेवा एवं मानवकल्याण हो । यसमा हामी सफल भए जताततै शान्ति फैलनेछ ।अरबी पात्रोको १० औं महिना सौवालको खुर्पे चन्द्रमा देखिसकेपछि यो खुर्पे चन्द्रमाले रमजानको समाप्ती र ईदुल फित्रको खुशीयालीको संकेत दिन्छ । यसैले सौवाल महिनाको पहिलो तारिखमा “ईदुल फित्र” पर्व धुमधामसँग मनाउछन् । बिभिन्न जातजाति,समूदायको बिचमा अल्पसंख्यक मुस्लिम समूदाय बस्दै आए पनि कुनै मतभेद भएको पाईदैन् । मुस्लिमहरुको पर्व होस चाहे अन्य धर्मको पर्व सबै समूदाय उत्तीकै उत्साहपूर्ण तरिकाले एक अर्काको पर्वलाई सम्मान गर्ने गरेको पाउन सकिन्छ । नेपाली मुसलमान विश्वभरिकै मुसलमानहरूको तुलनामा शान्तिप्रेमी छ ।

उनीहरूले मध्यकालीन इतिहासदेखि नै सामाजिक सद्भाव र सहिष्णुतालाई मन पराएका देखिन्छ । विविधताले भरिपूर्ण समाजमा सहअस्तित्वको आधारमा मिलिजुली बसे । पहाडमा न्यून संख्यामा मुस्लिमहरू छन् । तर, उनीहरू ससम्मान पहाडी समाजसँग घुलमील भएर बसेका छन् । तराई मधेशमा पनि छिटुपट घटनाबाहेक मुस्लिमहरू अन्य समुदायसँग सौहार्द्रपूर्ण वातावरणमा बस्दै आएका छन् । उसको शान्त स्वभाव र सहिष्णु प्रवृत्तिले गर्दा देशभर नै ठूलो संख्यामा सहज रुपमा मस्जिद, मद्रसा, कब्रिस्तान लगायत सञ्चालनमा रहेका छन् ।रमजान महिनापछिको अर्को महिना सववाल हो । सववालको पहिलो दिन इदउल फित्रका रूपमा मनाइन्छ । यो दिन बिहानै चाडैं उठेर नुहाइधुवाइ नयाँ नयाँ लुगालगाइ मुस्लिम समुदाय एक विशेष नमाज पढ्नका लागि इदगाह वा मस्जिदमा तोकिएको निर्धारित समयमा भेलाभइ इदको नमाज पढ्ने गर्छन् । नमाज पूरा हुन साथ एकआपसमा अंगालो मारेर इद मुबारक भनी खुशी साटासाट गर्छन् ।

मिठामिठा परिकार बनाएर आफन्त,इष्टमित्र,छरछिमेकी,गरिब,अनाथ,लगायत सबैलाई बोलाएर खान दिने र आफूपनि खाने गर्छन् । यसरी पुरानो कुनै रिसिइबी भए यस दिनबाट सबै रिसिइबीबिर्सेर प्रेम र उत्साहका साथ इदउल भित्र मनाउने गरिन्छ । विगतको जस्तै यो वर्षको रमजान महिनाले पनि नेपाली समाजमा नवता, आपसी सदभाव,भाइचारा कायम गरुन् मुलुकमा समृद्धिको युग सुरु होस्, रमजानको हार्दिक शुभकामना !

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

इनरुवामा इन्जिनियरमाथि कार्यालयमै हातपात : कर्मचारीद्वारा कामकाज ठप्प

क्याम्पसमा एकैदिन स्वागत तथा बिरोध कार्यक्रम विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाए

अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भाण्टावारी विजयी

सुनसरीको लौकही बाट डेढ लाख बराबरको अवैध समान बरामद

सरकारी स्वास्थ्य बीमामा गोलमालको आशंका बीमाको नाममा ठगिएको सेवाग्राहीको गुनासो

सुनसरीका मुस्लिम समुदायमाथि किन भईरहेको छ श्रृखलाबद्ध हत्या ? यसाे भन्छन् मुस्लिम अगुवा

इनरुवामा पुस २१ गतेबाट एकदिवसीय क्रिकेट प्रतियोगिता हुने

कहिलेसम्म खेदाउनुपर्ने हात्ती

सुनसरीमा मकालु बस बसको ठक्करबाट एकको मृत्यु

अपडेट : सुनसरीबाट एकै दिन कटुवा पेस्तोलसहित तीन भारतीय पक्राउ

तपाईको प्रतिक्रिया