बसाइँसराइले गाउँ सुनसान बन्दै

पाल्पा  / बसाइँसराइका कारण पाल्पाका धेरै गाउँ सुनसान बन्दै गएका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायत भौतिक पूर्वाधारका अभावले यहाँका ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरु शहर, बजार र तराई क्षेत्रमा बसाइँसराइ जान थालेका छन् ।

रम्भा गाउँपालिका–२ फोक्सिङकोटको फोक्सिङडाँडा, भन्ज्याङथोक, कोटथर, बेलौजा, लाँबे, रानीवास, झर्लेङलगायतका स्थानीयबासी गाउँ छाडेर अन्यत्र जान थालेका छन् । बसाइँसराइका कारण अहिले यहाँ २१ घर मात्र रहेको फोक्सिङकोटडाँडाका स्थानीयवासी गणेश पछाईले बताउनुभयो ।

“युवा गाउँमा एकदमै न्यून छन्, मर्दापर्दा अगाडि सरेर काम गर्ने कोही पनि युवा छैनन्, सबै अशक्त वृद्ध मात्र छौ” उहाँले भन्नुभयो । गाउँमा हाल बसोवास गरेको जनसंख्या भने ४६ जना मात्र छ ।

गाउँमा धेरैजसो उमेर ढल्केकाको मात्र बाहुल्यता छ । स्कुले विद्यार्थी, युवा जति सबै शहर बजारतिर बसोवास गर्न थालेका छन् । यसले गर्दा गाउँ नै रित्तिन पुगेको स्थानीयवासी सारु बताउनुहुन्छ ।

सबैले गाउँ छाडेर जान थालेपछि गाउँका उर्वरभूमी खेर गइरहेका छन् । राम्रै खेती हुने जमिन अहिले वनमारा सहितको झाँडीले भरिँदै गएको छ । बढ्दो बसाइँसराइका कारण यस शैक्षिक सत्रमा नरेश प्राथमिक विद्यालको कक्षा १ मा एकजना पनि नयाँ विद्याथी भर्ना हुन नआएको शिक्षक लक्ष्मी गैरेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया