आलुको मूल्य नपाएपछि किसान चिन्तित

बनेपा / काभ्रेपलाञ्चोकका किसान यसवर्षको आलु उत्पादनबाट त्यति सन्तुष्ट छैनन् । विगतको तुलनामा आलु कम फल्नुका साथै उचित मूल्य नपाएपछि किसान चिन्तित बनेका हुन् । यसवर्ष खन्ने मौसममा असिनापानी परेपछि किसान आलु बिग्रन्छ कि भन्ने चिन्तामा छन् । पनौती नगरपालिका–९ फिरफिरेका नवराज श्रेष्ठ उत्पादन कम भएको बताउनुहुन्छ ।

गतवर्ष उत्पादन बढी हुनुका साथै उचित मूल्य पाएको उहाँको भनाइ छ । उहाँले भन्नुभया, “आलुखेतीबाट खासै फाइदा भएन, गरेको लगानी धानखेतीबाट उठाउने गरेको छु ।” खोपासीका किसान सविना श्रेष्ठ उचित मूल्य नपाउँदा मारमा परेको बताउनुहुन्छ । “खेती नै यही हो, मूल्य नपाउँदा मारमा परेका छाँै,” उहाँले भन्नुभयो ।

किसानले आलु प्रतिधार्नी रु ५० देखि रु ६० सम्ममा बिक्री हुने गरेको छ । बजारमा त्यही आलु प्रतिधार्नी रु ८० देखि रु ९० सम्ममा बिक्री भइरहेको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन इकाइ (आलु) कार्यक्रम सञ्चालनमा छ । सरकारले अनुदान दिने र प्रविधिका बारेमा सिकाउनेबारे जानकारी नभएको किसान बताउँछन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन इकाइ (आलु) बनेपा कार्यालयका प्रमुख किशोरप्रसाद पन्त जिल्लामा आलुको उत्पादन पर्याप्त रुपमा भइरहेको बताउनुहुन्छ । उन्नत जातको आलुको बीउ प्रयोग गर्न नपाएका कारण किसानले फाइदा लिन नसकेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया