१४ जिल्लाका चार लाख भूकम्पपीडितले दोस्रो किस्ता पाउँदै

काठमाडौँ / भूकम्पका कारण अति प्रभावित १४ जिल्लाका चार लाखभन्दा बढी पीडित लाभग्राहीले दोस्रो किस्ताको रकम पाउने पक्का भएको छ । मङ्गलबारसम्मको तथ्याङ्कअनुसार दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएकामध्ये चार लाख दुई हजार ७०३ लाभग्राहीको नाम दोस्रो किस्ताका लागि प्रमाणीकरण भएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पहिलो किस्ताको ५० हजार रुपियाँबाट जग हाल्नेसम्मको प्रक्रिया पूरा गरेकालाई प्राविधिकले सिफारिस गरेपछि दोस्रो किस्ताको डेढ लाख रुपियाँ उपलब्ध गराउँदै आएको छ । स्थानीय तहसँगको सहकार्य, प्राविधिक जनशक्तिको स्थानीय तहमा उपलब्धता र निजी आवास पुनःनिर्माणमा समयसीमा निर्धारण गरिएका कारणले पनि घर बनाउन सुरु गर्ने लाभग्राहीको सङ्ख्या ह्वात्तै बढेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो ।

निजी आवास पुनःनिर्माणले गति लिएसँगै एक लाख ५२ हजार १३० घरको पुनःनिर्माण सम्पन्न भएको छ । पछिल्लो तथ्याङ्कअनुसार चार लाख ५३ हजार ६८३ घरको पुनःनिर्माण भइरहेको छ । यसैगरी तेस्राे किस्ता भुक्तानीका लागि एक लाख ४० हजार ५६० लाभग्राहीको निवेदन प्रमाणीकरण भइसकेको प्राधिकरणले जनाएको छ । तेस्रो किस्ताका लागि एक लाख ४८ हजार ४८४ ले निवेदन दिएका छन् ।

प्रभावित १४ जिल्लामध्ये दोलखामा सबैभन्दा धेरै घरको पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणको तथ्याङ्कले देखाएको छ । दोलखामा अहिलेसम्म २८ हजार ८०७ घरको पुनःनिर्माण सम्पन्न भएको छ भने ४८ हजार २७१ घर पुनःनिर्माण भइरहेका छन् । सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोक जिल्लामा भने निर्माणाधीन घरको सङ्ख्या बढी भएको प्राधिकरणले जनाएको छ ।

तथ्याङ्कअनुसार सिन्धुपाल्चोकमा ६९ हजार ४१५ घर पुनःनिर्माण भइरहेको छ भने २० हजार ९७१ घर निर्माण सम्पन्न भइसकेको छ । भूकम्पका कारण भत्किएका निजी आवास पुनःनिर्माणका लागि कुल सात लाख ६७ हजार ७०५ लाभग्राही सूचीमा परेका छन् । तीमध्ये सात लाख दुई हजार ३९४ लाभग्राहीले पहिलो किस्ता लिइसकेका छन् । अाजकाे गाेरखापत्रमा
खबर रहेकाे छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया