मृत्यु जितेर मात्रै यार्साबाट कमाई

डोल्पा / जेठ १ देखि डोल्पाका सम्पूर्ण पाटनहरु यार्सागुम्बा संकलनका लागि खुला गरिएसँगै सर्वसाधारण आफूले जान चाहेको पाटन रोज्दै धमाधम इजाजतपत्र लिएर पाटन प्रवेश गर्न थालेका छन् । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जिल्लाका विभिन्न नाकाबाट संकलन इजाजतपत्र वितरण गर्दै हिजोबाट यार्सागुम्बा पाटन जान खुल्ला गरेको हो ।

मध्यवर्ती क्षेत्र भित्रकालाई रु एक हजार, मध्यवर्ती क्षेत्र बाहिर डोल्पा जिल्लाका सर्वसाधारणलाई रु २५ सय र जिल्ला बाहिरकालाई रु ३५ सय रकम तोकिएको निकुञ्जले जनाएको छ । डोल्पामा सयौँको सङ्ख्यामा रहेका यार्सागुम्बा पाटनमा दशौं हजार सर्वसाधारण वनस्पती र जीवको दुबै गुण पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाको खोजीमा पुगिसकेका छन् । यार्सागुम्बा टिपेर आम्दानी गर्नका लागि गर्भवती, सुत्केरी महिला दूधेबालक च्यापेर यार्सागुम्बा पाटन पुगेका छन् ।

आम्दानीको मुख्य स्रोत 

बहुमूल्य जडीबुटी यार्सागुम्बा डोल्पाली जनताको मुख्य आम्दानीको स्रोत हो । नेपालमै गुणस्तरीय र धेरै परिमाणमा यार्सागुम्बा पाइने क्षेत्रको रुपमा समेत डोल्पा चिनिन्छ ।

डोल्पाली जनताको जीवनस्तरसँग जोडिएको यार्सागुम्बाको संकलनका लागि वर्षेनी दशौँ हजार सर्वसाधारण वन्दोवस्तीका सामानसहित डोल्पाका उच्च हिमाली यार्सागुम्बा पाटनमा पुग्ने गर्दछन् । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि डोल्पामा यार्सागुम्बाको महाकुम्भ मेला सुरु भएको छ ।

यार्सागुम्बा संकलन गरी वर्षभरिको खर्च जुटाउने लक्ष्यसहित डोल्पाबाट मात्रै नभई छिमेकी जिल्ला रुकुम जाजरकोट, जुम्लालगायतका विभिन्न जिल्लाबाट पनि सर्वसाधारण डोल्पाका उच्च हिमाली भू–भागमा पुगेका छन् ।

त्रिपुरासुन्दरी नगरपालिका–१ का लोकमान श्रेष्ठ पनि बन्दोबस्तीका सामानसहित भाङ्का पाटनमा यार्सागुम्बा टिप्न पुगिसकेका छन् । साना बच्चाबच्चीलाई घर कुरुवाको भरमा घरमै छाडेर पाटन हिँडेका श्रेष्ठ यसवर्ष एक महिने अवधिमा दुई लाखसम्म कमाउने लक्ष्य रहेको बताउँछन् ।

त्यस्तै त्रिपुरासुन्दरी नगरपालिकाकै जमानसिँह कठायत पनि विगत वर्षमा जस्तै यसपटक पनि यार्सागुम्बा टिपेर राम्रो आम्दानी गर्ने सुरमा छन् । पाटनमा पुगेर यार्सागुम्बा टिप्ने आफू एक्लैले दुई लाख रुपैयाँसम्म कमाउने लक्ष्य रहेको उनले बताए ।

यार्सागुम्बाबाट धेरैले राम्रो आम्दानी गर्न सकेपनि कतिपयले भने उल्टो नोक्सानी ब्यहोर्नुपर्दछ । यार्सागुम्बा टिप्ने समयमा पचासौँ हजारका उधारो सामान लिएर पाटन पुग्छन्, भनेजति यार्सागुम्बा नपाएपछि घरको अन्य आम्दानीबाट उधारो रकम चुक्ता गर्नु पर्दछ । त्यसो त यार्साको कमाइको साटो साहुसँग ऋण काढेर व्यापारीको उधारो चुक्ता गर्दा ऋणबाट माथि उठ्न नसकेका थुप्रै उदाहारण छन् ।

तपाईको प्रतिक्रिया