मोदी भर्सेज ओली : कसको हार कसको जीत ?

समयको धारले पुनः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको दुईदिने राजकीय भ्रमणमा ल्यायो । उनको भ्रमण २ नंं. प्रदेशको राजधानी जनकपुरबाट हुनुले पनि उनी नेपालसँग सलामी, गुलामी र मलामीको भाव र भाकामा नेपाल र नेपालीलाई अर्कोपल्ट उल्लु बनाउन सफल भएका छन् भन्ने कुरा स्पटसँग देखायो । हुन त उनले २ नं. प्रदेशलाई ‘१ अर्ब रुपैयाँको ललीपप’ दिने जुन ऐलान गरे त्यसमा पनि उनी कति टिक्न सक्छन् त्यो भविष्यका दिनहरुले नै देखाउने छन् । भूकम्प ताका भारतले दिएको वचन अझै परिपालना नभएको भन्ने कुरा नेपाली सञ्चार माध्यममा अझै आउन छाडेका छैनन् ।

नेपाली फितलो सुरक्षा प्रबन्धलाई खिल्ली उडाउँदै भारतीय कमाण्डोहरुको नेपाल प्रवेशले नेपाली सुरक्षा संयन्त्रको मनोवललाई पक्कै फेरि अपमानित हुन बाध्य बनाएको छ । यो कुरा चेतनशील नेपालीलाई किमार्थ मन परेको छैन । प्रम मोदी र प्रम ओलीको पिंक कलरका लुगा मिलेका सन्दर्भमा पनि अनेकानेक टिका टिप्पणीहरु पढ्नमा आएका छन् । ‘भारतले पठाएको हो’ भन्ने सम्मका तल्लो स्तरका कुरा पनि आए । ‘नेपालले नै उपहारका रुपमा उपलब्ध गराएको’ भन्ने कुरा पनि उठे । अन्ततः ‘नेपालको परराष्ट्र मन्त्रालयले भारतीय दूतावाससँग नाप लिएर मिथिला शैलीको कुर्ता, सुरुवाल र पगरी दिएको हो’ भन्ने आधिकारिक भनाइ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईबाट आएर सञ्चार माध्यममा प्रकाशित भएपछि थप टिप्पणीको जरुरत परेन ।

नेपालले नै अतिथिका लागि मिथिला शैलीको पोसाक व्यवस्थापन गरेकामा मित्रताको भाव लुकेको रहेछ भन्ने लख जनताले काटेका छन् । भलै त्यो जुन बेला सञ्चार माध्यममा भाइरल बनेको थियो त्यही बेला नै स्पष्ट हुनु पर्दथ्यो । ढिलो भए पनि समाचार दिएर जनतालाई सुसूचित गरेकामा सरकारी संयन्त्रलाई धन्यवाद् भने दिनै पर्छ ।

रह्यो २ नं. प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु यादवले मोदीसँग गरेको गुनासो बारेमा विश्लेषण, त्यसलाई चाहिँ इटहरीका पाका पत्रकार कृष्ण अधिकारीले आफ्नो स्टाटसमै तीखो पाराले छेड हाने । अधिकारीले लेखेको स्टाटसको मजबुन यस्तो थियो –‘लालबाबुले मोदीलाई लगाएको पोल घर बसेकी स्वास्नीले परदेशबाट आएको लोग्नेसँग उसको घरमा सासू र ससुराले गरेको ज्यादती विरुद्धको जस्तो थियो ।’ अधिकारीका स्टाटसका समर्थन र विरोधमा धेरै कमेन्ट आए तर बास्तवममा अधिकारीले साँचो बोलेका थिए । जसले नेपालको वर्तमान परिस्थिति र पात्रको जीवन्त चित्रण गर्दथ्यो । यतिसम्म बोल्न नै नेपालीले विगत्मा लोकतन्त्रका लागि रगत बगाएका हुन् । सबै मानिस बोल्न कहाँ सक्छन् र ? उद्भट् शक्ति भएकाले नै ऐन मौकामा जनताका लागि बोल्नु पर्छ । अतः उनले बोले पनि ।

पेशल आचार्य

‘नेपालको संविधान मधेश र मधेशी जनताका लागि विभेद्कारी थियो’ भने त्यो आफ्नो देशको घरेलु मामला थियो । आफ्नो आन्तरिक मामलामा छिमेकी देशका प्रधानमन्त्रीलाई होका परेर त्यति सारो पोल लगाउनुले हाम्रा मुख्यमन्त्रीहरुको चेतना, ह्याउ र व्यक्तित्व कतिसम्म गिरेको रहेछ भन्ने देखायो ।

अर्को सन्दर्भ, काठमाडौँमा विवेकशील साझा पार्टीले आफ्नो केन्द्रीय कार्यालय बखुन्डोलमा राखेको ‘प्रम मोदी तपाईंलाई स्वागत् छ तर हामीले नाकाबन्दी अझै बिर्सेका छैनौं’ ब्यानरलाई सरकारले प्रहरी लगाएर झिक्न लगायो भने जनकपुरमा मोदी–ओली उपस्थित भारी भरकम् सभामा ‘स्वतन्त्र मधेश देश’ नामको ब्यानरमा कथित स्वतन्त्र (?) मधेशी कार्यकर्ताहरुले मोदीलाई सगौरव (?) ब्यानर प्रदर्शन गर्ने शैलीले नेपालीहरु आफैँमा कति स्वाधीन रहेछन् भन्ने अर्थ विश्व सञ्चार जगत्मा गएको छ । भलै त्यो आक्रोशले एकछिनलाई रामरमाइलो दिलायो होला तर हाम्रो आन्तरिक मामलामा छिमेकीलाई भाउ दिने परम्परा नराम्रोसँग बसेको देखियो ।

‘मोदीलाई ‘स्वतन्त्र मधेश देश’ भनेर देखाउँदा स्वतन्त्र मधेशमा देशको खोजी गर्नेहरु पनि भारतकै आडमा अझ मोदीकै कुर्ताको फेर समातेर अघि बढिरहेका रहेछन्’ भन्ने अर्थ समेत बाहिर आएको छ । अर्कातिर ‘भारत आफैँ अझै आफ्ना घुसपैठियाहरु लगाएर नेपाललाई उसको भित्री विग्रहको भाषा घुमाउरो तरिकाले सुनाउन चाहन्छ’ भन्ने विश्लेषण पनि गर्न सकिन्छ ।

‘मोदीलाई ‘स्वतन्त्र मधेश देश’ भनेर देखाउँदा स्वतन्त्र मधेशमा देशको खोजी गर्नेहरु पनि भारतकै आडमा अझ मोदीकै कुर्ताको फेर समातेर अघि बढिरहेका रहेछन्’ भन्ने अर्थ समेत बाहिर आएको छ । अर्कातिर ‘भारत आफैँ अझै आफ्ना घुसपैठियाहरु लगाएर नेपाललाई उसको भित्री विग्रहको भाषा घुमाउरो तरिकाले सुनाउन चाहन्छ’ भन्ने विश्लेषण पनि गर्न सकिन्छ ।

अन्ततः यस पटकको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणसँगै नरेन्द्र दामोदरनाथ मोदी र खड्गप्रसाद ओली दुवैको राजनीतिक बजारमा एकाएक भाउ घटेको देखियो । अप्रिय सुनिने जस्तो लागे पनि यो कुरा चाहिँ दुवैका लागि दुःखको कुरो हो । यो उनीहरु दुवैका समर्थक भनिएका भनेर चिनिएका धेरै मानिसहरुको बोली, लेख, फेसबुक स्टाटस र टुइटरबाटै पनि स्पष्ट हुन सक्छ । मोदी स्वतन्त्र भारतका अहिलेसम्म सत्तामा आएका सत्तासीनहरुमा सबैभन्दा बढी चातुर्य शैली भएका ‘कूटील’ खेलाडी हुन् । अगाडिबाट गला मिलाएर पछाडिबाट छुरा धस्ने स्वभाव उनले भूकम्पले थिल्थिलिएका नेपालीलाई अमानवीय पाराले नाकाबन्दी लगाएबाटै थाहा पाउन सकिन्छ । भलै नाकाबन्दीका बारेमा राजेन्द्र महतोजस्ता अलोकप्रिय नेताले त्यसको जिम्मेवारी लिँदै स्पष्टीकरण दिइसकेका छन् । भविष्यले उनका बारेमा पनि न्याय जरुर गर्ला ! ‘जनकपुर भारतको थियो र त्यो पछि नेपाललाई दिइएको’ भन्ने भावका उनका भनाइहरुलाई सरकारले किन यतिखेर खण्डन गर्न लगाउन सकिरहेको छैन यो प्रसङ्गको गुत्थी चाहिँ बुझि नसक्नु छ ।

नेपालमा भने सत्तासीन पार्टी भित्रै पनि माओवादी केन्द्रका नेताहरु राजधानीमा भएको नागरिक अभिनन्दनमा उपस्थित नहुनु र एमालेमै पनि मोदी स्वागत्को विषयलाई लिएर फरकफरक बोली र वाणि प्रशारण हुनुले सरकार फेरि अर्कोपटक धर्मराएको जस्तो देखिएको छ ।

यसपटकको आफ्नो भ्रमणलाई मोदीले प्रधानमन्त्रीका रुपमा भन्दा पनि प्रधान तीर्थयात्रीका रुपमा लिइदिन भनेका छन् । भारतको यसमा पनि कूटिल चाल नहोला भन्न सकिन्नँ । भ्रमणका भएका भेटघाट, आपसी भलाकुसारी र भाषणमा पनि सरकारी तबरबाट नाकाबन्दीको कुरो चुँसम्म नउठाइनु सरकारको राष्ट्रवादी जामाकै सुरक्षाका लागि हो वा भविष्यमा हुने चुनावलाई लक्षित गरी सरकार डराएको हो त्यो यसै भन्न सकिने स्थिति छैन । किन सरकारले सिमा विवाद, असमान सन्धिसम्झौता र नाकाबन्दी बारे दह्रोसँग कुरा उठाउन सकेन ? यसको सार्वजनिक जवाफ मुलुकका सर्वशक्तिमान प्रधानमन्त्री ओली र सत्ता साझेदार पार्टीका अर्का शक्तिशाली नेता प्रचण्डले दिनु पर्ने हुन्छ ।

भारतले सनातन पाराको भैयागिरी देखाउँदै जाने र नेपालले यो वा त्यो बहानामा सहँदै जाने हो भने राष्ट्रियताको विन बजाएर सरकार बनाएको वाम गठबन्धनको असली रुप जनताले शनैःशनैः एकदिन देखिसक्ने छन् । अहिले जनता हरेक कुरामा जानकार छन् । सूचनाको पहूँच हरेक जनताको हात हातमा भएको स्मार्ट फोनले सेकेण्ड सेकेण्डमा उपलब्ध गराइरहेको छ । यस्तो परिस्थितिमा सरकारले भित्र भएका कुराहरु बाहिर ल्याइदिनु पर्छ । नत्र सरकारको शाख एकाध घटनाबाटै ह्वात्तै गिर्न थाल्छ जस्तो कि यसपटक गिरेको महसुस गरिएको छ ।

जनतालाई यतिखेर विकास र समृद्धि चाहिएको छ तर त्यो विकास र समृद्धिमा जनताहरु स्वयम् ‘इमोसनल ब्याकमेलिङ् भएको परिस्थितिमै’ सँधै सहिरहन चाहँदैनन् । नेपाल परिवर्तनको सँघारमा छ । मुलुकका कोको राष्ट्रवादी हुन् ? कोको राष्ट्रवादी भएको अभिनय गरिरहेका छन् ? ती सबै कुराको अन्तर्य अब जनतालाई थाहापत्तो हुन थालिसक्या छ ।

विश्लेषक केशवप्रसाद भट्टराईले आफ्नो फेसबुक वालमा मज्जैले लेखे –‘देश भित्रको एउटा जिम्मेवार मुख्यमन्त्रीले बोल्ने कुराहरु देशको परराष्ट्र मन्त्रीलाई थाहा थियो भने उनले मुख्यमन्त्रीलाई त्यस्तो विवादास्पद बोली बोल्नबाट रोक्न किन सकेनन् ? यदि थाहा थिएन भने परराष्ट्र मन्त्रालय र मन्त्री साथै प्रधानमन्त्रीलाई थाहा नदिइकन मौखिक अभिव्यक्ति दिँदा राष्ट्र र राष्ट्रिय स्वाभीमानको धज्जी उडाउने स्वतन्त्रता मुख्यमन्त्रीले कहाँबाट पाए ? केन्द्रमा मुख्यमन्त्रीको दलको समर्थन अहिलेको सरकारलाई छ भने उसले मुख्यमन्त्रीलाई राष्ट्रिय अपमान हुने गरी बोलेको सन्दर्भमा उनको पार्टीबाट कार्यबाही हुनु पर्छ भनेर सचेत गराउनु किन सक्दैन ?’

भट्टराईको प्रसङ्गले पनि हामी जतिजति स्वतन्त्रताको उपभोग गर्दै छौं त्यतित्यति कमजोर बन्दै गैरहेका त छैनौं, आखिर किन ? भन्ने अर्थ द्योतन गर्दछ । भारत हामीलाई अप्ठ्यारोमा पारेका बेला त सहयोग गर्न त परै जाओस् मानवताका नाताले बोल्न पनि तत्पर छैन भन्ने व्यवहार देखाएको छ । अहिले उसको हात तल परेका बेला झन् ऊ नेपाली राजनीति स्थितरतातर्फ लम्कँदै गरेका बेला पुनः पानी धमिल्याएर माछा मार्ने तरखरमा लागेको देखिन्छ ।

भारतीय प्रधानमन्त्रीको २ दिने यो भ्रमणमा मोदी र ओली मार्फत् भारत र नेपाल कसले जिते कसले हारे ? त्यो त भविष्यका दिनले विस्तारैविस्तारै देखाउलान् तर स्वतन्त्र विश्लेषण गरेर हेरेका खण्डमा मोदीले नेपाललाई लगाएका नाकाबन्दीका बारे माफी नमागेर हारेका छन् भने डराएरै सही नाकाबन्दीको कुरा नउठाएर नेपाली प्रधानमन्त्रीले नेपाली जनतामा भएको उनको सान र मान घटाउने कार्यको शुभारम्भ एकैपल्टमा गरेका छन् ।

त्यसैले यो भ्रमण ‘मोदी भर्सेज ओली ः कसले जिते कसले हारे’ भनेर अहिले नै छिनोफानो हुने गरी टिका टिप्पणी गरिहाल्नु भन्दा पनि भविष्यमा यसले खेल्ने दूरगामी भविष्यलाई हेरेर मात्र मूल्याङ्कन गर्न सकिन्छ तर राजनीतिक क्षेत्रका जानकारहरुका भनाइमा यो भ्रमण नेपाल र नेपाली मानसिकताको पानी छाम्नैका लागि भारतले असमयमै राखेको हो जसले गर्दा हतारमै सही ऊ नेपाल नीति परिवर्तन गर्न होइन नयाँनयाँ एङ्गलले नेपाल र नेपालीलाई अझ पेल्न र हियाउन चाहन्छ भन्ने कुराको मेसेज समाजमा गएको छ ।

एमालेका उपमहासचिव घनश्याम भुसालको हालै प्रकाशित एक लेखको मजबुनले पनि सोही चुरो निर्देश गर्छ –‘अबको नेपालले बराबरी र इज्जतदार सम्बन्धको अपेक्षा भारतबाट गरेको छ नकि पारम्परिक शैली र भैया गिरीको ?’
।।समाप्त।।

तपाईको प्रतिक्रिया