संस्कृति सापेक्ष शिक्षण : आवश्यकता र आयामहरू

 

नेपाल बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र हो र यसैको प्रतिबिम्ब हेरक तहका कक्षाकोठाहरुमा पाइन्छ । अर्को शब्दमा भन्नुपर्दा समाजमा भएको जातिय, भाषिक, लैङ्गिक, धार्मिक, क्षेत्रीय तथा सांस्कृतिक विविधता विद्यालयदेखि विश्वविद्यालय सम्मका कक्षाकोठाहरुमा समेत पाउने गरिन्छ । अझ गहन रुपमा हेर्दा यी विविधताहरुका आलावा विद्यार्थीहरुमा पाईने रुची, क्षमता, लक्ष्य, आकंक्षा सवलता एवं कमजोरीहरुका विविधताले कक्षाकोठालाइ साँच्चैनै अनौठो संगमस्थल बनाएको हुन्छ भने शिक्षण सिकाइ क्रियाकलापलाइ योजना , कार्यान्वयन, मुल्यांकन सबै तहमा उत्तिकै जटिल ।यस्तो परिप्रेक्षमा शिक्षकले बिद्ध्यार्थीको अगाडी उभिएर सधै भाषण दिने अनि बिद्ध्यार्थीहरु मुक दर्शक भएर त्यहि श्रवण गर्ने अनि कण्ठ गरेको लेखेर अंक हासिल गर्ने पुरातन कर्मकाण्डी शिक्षण सिकाइले न त कक्षा कोठाको बिबिधता र जटिलता लाइ सम्बोधन गर्छ न यसले एक्काईसौं शताब्दीको युग सापेक्ष जनशक्ति उत्पादन गर्न सक्छ ।

अझ भनौ यस्तो शिक्षण पद्धतिले त हाम्रोजस्तो बहुलतामुलक समाजमा बहुसांस्कृतिक मानिसहरु आपसी सद्भावका साथ मिलेर बस्ने वातावरण समेत बनाउन सक्दैन किनभने यसको शुरुवात कक्षाकोठाको सौहार्द वातावरणबाट गर्नुपर्ने हुन्छ । अर्थात विविध पृष्ठभूमिका सहपाठीहरु बीच कायम हुने आपसी सदभाव, सहयोग ,सहकार्य र सौहार्द सम्बन्धले समाजको विविधतामा मानिसलाई मिलेर बाच्न र संगै हातमाहात मिलाएर अघि बढ्न सक्ने बनाउछ \ यसले सामाजिक एकता, शान्ति, र प्रगतिमा सार्थक योगदान पुर्याउनसक्ने कुरामा कुनै दुइमत छैन । तर एकोहोरो अनि संस्कृति र परिवेश निरपेक्ष शिक्षणले सर्टिफिकेटधारी आसक्षम र बेरोजगारहरुको भिड मात्र उत्पादन गर्ने कार्य गर्दछ ।

सन्तोष गौतम

हाम्रो देशको सन्दर्भमा हेर्दा यहाँका बहुजातीय र बहुसांस्कृतिक मानिसहरुका आफ्नै मौलिक विशेषता,जीवन पद्धति, परम्परागत पेशाहरु, आश्था र विश्वासहरु, चाडपर्वहरु, आफ्नै ऐतिहसिक पृष्ठभूमि र अरुलाई हेर्ने आफ्नै दृष्टिकोणहरु रहेका छन् । यी कुराहरुको खोज र अनुसन्धान गरि संस्कृति सापेक्ष पाठ्यक्रमको बिकास गर्नु र त्यहि अनुसारकै शिक्षण बिधिहरु अवलम्बन गरेर विभिन्न परिवेशका विद्ध्यार्थीहरुसंग सम्बन्धित भौतिक र अभौतिक सम्पदाहरु अनि विशेषताहरुलाई शिक्षणको अभिन्न अंश बनाउनु नितान्त आवश्यक छ ।आयातित दर्शनहरु र सिद्धान्तहरु भन्दा हाम्रै बहुलताबीच अन्तर्निहित जीवनदर्शन र  जीवन पद्धति हाम्रो आफ्नो परिपेक्षमा बढी सान्दर्भिक हुन सक्दछन । तर यसो भन्दै गर्दा संस्कृतिक सवालमा जड्शुत्रबादी बन्नुपर्ने कुराको वकालत गर्न भने खोजिएको होइन ।

विश्वव्यापीकरणको वर्तमान युगमा हामी हाम्रो निरपेक्ष, एकल र विश्वपरिवेशबाट अल्लगीएको अस्तित्वको परिकल्पना गर्न सक्दैनौ ।बर्तमान युगमा देशहरु एकअर्कामा अन्तरनिर्भर र एक अर्कासंग विभिन्न माध्यामद्वारा जोडिएका छन् जसले गर्दा भौगोलिक सिमाहरु पातलिदै एवं कम प्रभावकारी  बन्दै गैरहेका छन् ।अर्को तर्फ अहिले राष्ट्रको अस्तित्व राज्यका सीमानाहरुभित्र मात्र सिमित छैन ।यस्तो परिवेशमा आपसी अन्तरसम्बन्धद्वारा फाइदालिने सम्भावना एकातिर छ भने संस्कृतिक अतिक्रमणको सम्भावना त्यत्तिकै जोडदार छ । यसले गर्दा संस्कृतिक बिबिधता र मौलिकता गुमाएर पहिचानको संकट निम्तिन सक्ने सम्भावनालाइ पनि हामी नकार्न सक्दैनौ ।

संस्कृति सापेक्ष शिक्षण मुलत ‘क्रीटिकल पेडागोजी’को एउटा अभिन्न अंग हो । प्रगतिशील शिक्षण बिधिहरु संस्कृति र समय सापेक्ष हुने गर्दछन । सांस्कृतिक अन्वेषण र भ्रमण गराउने, आफ्नो आफ्नो संस्कृतिक अनुभव अभिव्यक्त गर्न लगाउने, सांस्कृतिक प्रवचनहरु आयोजना गर्ने, विविध संस्कृतिका शिक्षकहरु नियुक्त गर्ने, संस्कृतिक विषयबस्तुहरुमा प्रतिष्पर्धात्मक कार्यक्रमहरु आयोजना गर्ने, सबै संस्कृतिका चाडपर्वहरु सम्भवभएसम्म मनाउने र तिनका खोजमुलक प्रश्तुतिहरु आयोजना गर्ने, विद्यालयमा अभिभावकहरुको संलग्नता बढाउने, पारिवारिक जीवनसंग सम्बन्धित परियोजना कार्यहरु गर्न र प्रश्तुत गर्न लगाउने जस्ता क्रियाकलापहरुले विद्ध्यार्थीहरुको बहुलतामुलक समाजबारेको बुझाइ र सांस्कृतिक सुझबुझमा अभिवृद्धि गर्दै उनीहरुलाई आफ्नो समाजमा महत्वपुर्ण सदस्य बन्न र सार्थक  जीवन बाच्न मद्दत पुर्याउछ ।  बिबिध जनजातिहरु र बहुल संस्कृतिका मानिसहरुको ज्ञान, सीप र क्षमताको प्रबर्धन र संरक्षण गर्दै त्यसलाई राष्ट्र र सम्पूर्ण मनावजातिको उत्थानको लागि प्रयोग गर्नु संस्कृति सापेक्ष शिक्षाको अभीष्ट हो ।

अन्य जातधर्म, संस्कृति र क्षेत्रका मानिसहरुको बारेमा परम्परागत रुपमा हाम्रो मानसपटलमा  जुन नकारात्मक बिम्बहरु सृजना गरिएको छ त्यसले हामीहरुबीच विभाजनका रेखाहरु कोरेर हामीलाई एकभएर अगाडी बढ्न दिदैन । तर बहुसांस्कृतिक वा संस्कृति सापेक्ष शिक्षण ले बिद्धार्थीहरुलाई बिबिध संस्कृतिहरु संग सात्क्षात्कार गराउदै खोजमुलक वा अनुसन्धानमुलक शिक्षण बिधिहरुद्वारा एक अर्कालाइ राम्रोसंग बुझ्ने, स्वीकार्ने र सहकार्य गर्ने वातावरणको सृजना गर्ने र त्यसको अभ्यास गराउने कार्य गर्दछ । जातीय रुपमा हामीसंग विभिन्न पेशाहरु पनि जोडिएका छन् ।

तिनीहरुको पहिचान र प्रवर्धन संगै आत्मगौरवका साथ् आफ्नो संस्कृतिक  पेशामा लाग्ने,हरेकको श्रमको सम्मान गर्ने र तिनीहरुलाई आर्थिक उन्नतिको सवल आधार बनाउने वातावरण संस्कृति सापेक्ष शिक्षाले निर्माण गर्दछ ।त्यस्तै हाम्रो मौलिकता र पहिचानको संरक्षणमा दृढ हुँदै कुन हद सम्म विश्वव्यापीकरणको तरङ्गलाइ पछ्याउने भन्ने कुरा पनि यसको एक महत्वपुर्ण पक्ष हो । र यहि नै आजको शिक्षण क्षेत्रको टड्कारो आवश्यकता पनि हो ।

ब्यचेलरस  तथा मास्टरस प्रोग्राम कओरडिनेटर, (द टाइम्स इन्टरनेसनल कलेज, डिल्लीबजार, काठमाडौं)

 

तपाईको प्रतिक्रिया