प्रवासकोे अभियान : ‘विदेशको आम्दानी, स्वदेशमा लगानी’

म्याग्दी / वैदेशिक रोजगारी आमनेपाली युवाका लागि बाध्यता हो । रोजगारी, अध्ययन, व्यापार व्यवसायको सिलसिलामा प्रवासमा पुगेपछि आर्जन गरेको कमाइले कतिपय व्यक्ति सम्पन्न बन्दै सुविधायुक्त जीवनयापन गरिरहेका छन् । तर, म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाका प्रवासीहरुले भने विदेशमा मजदुरी गरी आर्जन गरेको कमाइलाई आफ्नो दैनिक जीवनयापनको लागि मात्रै खर्च नगरी गाउँको शिक्षा, स्वास्थ्य, खेलकूद, सडकलगायतको विकास निर्माणमा समेत खर्चिने गरेका छन् ।

विविध कारण जन्मथलो बेगखोला भन्दा बाहिर बस्दैआएका नागरिकले बेगखोला कल्याणकारी समाजमार्फत गोलबद्ध भएर गाउँमा विकास निर्माण र सामाजिक क्षेत्रमा सहयोग जुटाउने गरेका हुन् । पछिल्लो समय बेगमा रहेको महादेव माविको स्वर्ण जयन्तीको अवसरमा प्रवासी बेगखोलावासीहरुको नेतृत्वमा विद्यालय भवन पुनःनिर्माण गर्न थालिएको छ । प्रवासमा रहेका बेगखोलावासीले सामाजिक सञ्जाल फेसबुक लगायतको माध्यममार्फत विद्यालय स्थापना भएको ५० औँ वर्ष पूरा भएको अवसरमा विद्यालय पुनःनिर्माणको लागि आर्थिक संकलन गरेका हुन् ।

अभियानअन्तर्गत अहिलेसम्म विद्यालय पुनःनिर्माणका लागि रु १ करोड ३३ लाख संकलन भैसकेको अभियानका सचिव नक्कु ९नगेन्द्र० पुर्जाले बताउनुभयो । रु ५ लाख भन्दा बढी सहयोग गर्ने दाताहरुको नामबाट कक्षाकोठाको नामकरण गर्ने गरी अभियान चलाइएको र विश्वका विभिन्न मुलुकमा पुगेका बेगखोलावासीहरु कोही पनि नछुट्ने गरी आर्थिक सहयोग अभियानमा सहभागिता जनाउने क्रम जारी रहेको पुर्जाले जानकारी दिनुभयो । अभियानअन्र्तगत करीव रु २ करोड आर्थिक संकलन गरी हाल जीर्ण रहेको विद्यालय भवनको पुनःनिर्माण गर्ने अभियन्ताहरुको योजना छ ।

बेलायत, हङकङ, दक्षिण कोरिया, जापान, पोर्चुगल, मलेशिया, कतार, सउदी अरब, अमेरिकालगायतका मुलुकमा पुगेका बेगखोलावासीले अहिले गाउँको विकास निर्माण र सामाजिक क्षेत्रमा सहयोग गर्दैआएका छन् । एनआरएनए बेलायतका अध्यक्ष समेत रहेका बेगखोला कल्याणकारी समाज युकेका अध्यक्ष योगकुमार फगामीले विद्यालयको स्वर्ण जयन्तीलाई उपलब्धिमूलक तवरले मनाउने उद्देश्य अनुरुप प्रवासमा रहेका बेगखोलावासीको पहलमा विद्यालय पुनःनिर्माण अभियान सञ्चालन गरिएको बताउनुहुन्छ । “हामीले यसअघि गाउँमा सडक सञ्जाल विस्तार गर्न, खेलमैदान स्तरोन्नति गर्न, विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि अक्षयकोष स्थापना लगायतका क्षेत्रमा पनि ठूलो रकम भित्र्याइसकेका छौँ” – फगामीले भन्नुभयो ।

प्रवासमा हुने कमाइबाट जन्मथलोको विकाससँगै स्वदेशमा लगानीको लागि समेत बेगखोलावासीहरु जुटेको उहाँको भनाइ छ । ‘‘एक प्रवासी, एक स्वदेशी रोजगारी’का लागि समेत सम्भाव्यता अध्ययन थालिएको र निकट भविष्यमै स्वदेशमै आयआर्जन हुने खालका योजनामा लगानी भित्र्याउने उहाँले बताउनुभयो । फगामीका अनुसार, पछिल्ला केही वर्षमा मात्रै सडक निर्माण, खेलकूद मैदान पुनःनिर्माण, विद्यालयमा अक्षयकोष, कला संस्कृति संरक्षणका लागि सहयोग स्वरुप प्रवासी बेगखोलावासीले रु ३ करोड भन्दा बढी रकम गाउँमा भित्र्याएका छन् ।

बेनी–जोमसोम सडकखण्डअन्तर्गत बेगखोलादेखि बेग र तिप्ल्याङदेखि बाँदुक गाउँमा सडक सञ्जाल निर्माण गर्ने क्रममा समेत प्रवासी बेगखोलावासीहरुकै पहलमा रु १ करोड २५ लाख रकम संकलन गरी करीव १३ किलोमिटर सडक निर्माण गरिएको थियो । प्रवासबाटै आर्थिक संकलन गरी बेग, सिम र बाँदुक गाउँमा रहेका क्लबहरुको खेलमैदान ढलान गर्ने योजनामा समेत लाखौँ सहयोग जुटेको थियो । बाँदुक गाउँमा जन्मिएका दोस्रो विश्व युद्धमा अद्वितीय युद्धकला प्रदर्शन गरे बापत बेलायतको सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रम पाउनुभएका स्व तुलबहादुर पुनको परिवार र अन्य प्रवासी स्थानीयवासीको पहलमा बाँदुक गाउँमा विकास निर्माण र सामाजिक कार्यका लागि लगानी भित्रने गरेको छ ।

तपाईको प्रतिक्रिया