विदेशी युवतीलाई भैरहवाको होटलमा राखी रातदिन बलात्कार, युवतीहरु ‘भिआइपी’ यौनकर्मीको रुपमा काम गर्न नेपाल आएको रहस्य खुल्यो

भारतका कुख्यात यौन व्यापार हुने कोठीहरूमा नेपाली युवतीलाई बिक्री गरिने समाचार नौलो होइन । अझै पनि कैयौँ नेपाली युवती विभिन्न बहानामा भारत पुर्याई कोठीमा बेचिइरहेकाछन् । यस कथामा भने हालै नयाँ मोड आएको छ । पछिल्लो समय विदेशी युवतीलाई पनि भारतका कोठीमा राख्ने गरिएको खुलेको छ । र, यसको मूल ट्रान्जिट नेपाल बन्न थालेको छ ।

एक भारतीय युवा प्रहरीको सहयोग खोज्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आइपुगे । उनीबाट आएको सूचनाले कार्यालयमा रहेका प्रहरी छक्कै परे । दिल्लीबाट ढुन्मुनिदै भैरहवा आइपुगेका उनले दिएको सूचना अलि अविश्वसनीय थियो । सहजै पत्याउनु कठिन हुनु स्वाभाविक थियो तर सूचना गम्भीर भएकाले एसपी श्याम ज्ञवालीले उनले भनेको लोकेसनमा प्रहरी टोली पठाए ।

देवकोटा चोकमा रहेको चल्तीको होटल नान्सको कोठा नम्बर २०४ र २०५ मा पुग्दा प्रहरी टोली छक्क पर्याे । दुवै कोठामा थिए दुई जना विदेशी युवती । मुहारले उनीहरु केही दिनदेखि भोकै रहेको ठम्याउन मुस्किल भएन प्रहरीलाई ।

दुई युवतीमध्ये एक थिइन्, उज्वेकिस्तानकी र अर्की किर्गिस्तानकी । प्रहरी टोली देख्नासाथ दुवै युवतीको मुहार केही उज्यालो भयो । उनीहरु रुन थाले । प्रहरीले दुवै युवतीलाई होटलबाट निकालेर गाडीमा राख्यो । उनीहरुको कुरुवा बसेका बब्लु सिद्धिकी मुसलमानलाई प्रहरीले तत्काल नियन्त्रणमा लियो ।

‘बब्लुलाई कार्यालयमा ल्याएर सोधपुछ गर्दा छक्क पर्ने घटनाको पाटो खुल्यो,’ रुपन्देहीका जिल्ला प्रहरी प्रमुख एसपी ज्ञवालीले शुक्रबारसँग भने, ‘ती दुवै युवती तीन दिनदेखि होटलमा बन्धक थिए । भौकभोकै राखिएको रहेछ ।’

तीन दिन होटलमा बन्धक

रुसी र अफ्रिकी युवती कल गर्लको रुपमा काम गर्न पर्यटन भिसामा नेपाल आउने गरेको तथ्य शुक्रबार साप्ताहिकले गत जेठदेखि लगातार खुलासा गर्दै आइरहेको छ । तीन महिने पर्यटन भिसामा नेपाल आउने रसिया र त्यसको आसपासका देशका युवती, अफ्रिकी र चिनियाहरु कोही काठमाडौँका महँगा होटलमा बस्छन् त कोही फ्ल्याट नै लिएर बस्ने गरेका छन् । क्यासिनो र महँगा बार चहार्दै ग्राहक खोज्न सक्रिय विदेशी युवतीहरु छ्यापछ्याप्ती भेटिन्छन्, काठमाडौंमा ।

भैरहवाको घटनाले पुष्टि गर्याे , उनीहरुको देह व्यापारको धन्दा यत्तिमै मात्र रोकिएको रहेनछ । नेपालको तीन महिने बसाई सकाएर उनीहरु स्वदेश फर्कनुको साटो छिमेकी मुलुक भारत जाने र उताबाट पुन नेपाल आउने गरेको समेत खुल्यो । यस्तोमा मानव तस्करीमा सक्रिय समूहको सम्पर्कमा पुग्ने उनीहरु फन्दामा समेत पर्ने रहेछन् ।

भैरहवाको होटलमा बन्धक बनाएको अवस्थामा फेला परेका यी दुवै युवती ‘भिआइपी’ यौनकर्मीको रुपमा काम गर्न पर्यटकको आवरणमा नेपाल आएका थिए । उज्वेकिस्तानकी युवती नेपालको भिसा सक्किएपछि भारतको दिल्ली पुगेर नेपाल फर्कदा मानव तस्कर समूहको फन्दामा परेकी थिइन् । किर्गिस्तानकी युवती नेपालबाट गोवा सिफ्ट हुने क्रममा भैरहवामा फँसेकी थिइन् । बब्लु सिद्धिकी मुसलमान मानव तस्कर समूहको नेपाली एजेन्ट रहेको समेत अनुसन्धानबाट खुलेको छ ।

एसपी ज्ञवालीका अनुसार मानव तस्करीमा सक्रिय समूहले भैरहवा क्षेत्रको होटललाई सेल्टर बनाएर उनीहरुलाई बन्धक बनाएको थियो । दिल्लीबाट नेपाल फर्किएकी युवती र नेपालबाट भारत हिँडेकी युवती तीन दिनदेखि होटलमा बन्धक थिए ।

प्रहरीका अनुसार भारतबाट नेपाल आउन र नेपालबाट भारत आउन दुवै युवतीले एजेन्टलाई ४–४ हजार अमेरिकी डलर दिइसकेका थिए । उनीहरु बीचको डिल त्यत्ति रकममा भएको थियो तर होटलमा पुगेपछि सिद्दिकीले थप रकम माग्न थाले । दुवैसँग पैसा सक्किइसकेको थियो । पैसा नदिएसम्म जान नदिने भन्दै उनले दुवै युवतीलाई बन्धक बनाएर राखेका थिए ।

बन्धक मूल्य ४ हजार डलर

नेपालबाट तीन महिनाअगाडि भारत पुगेकी उज्वेकिस्तानकी युवती पहिला गोवा र त्यसपछि दिल्ली पुगेकी थिइन् । दिल्ली बसाइका क्रममा एक भारतीय युवासँग उनी नजिकिइन् । ती भारतीय युवाले युवतीलाई मन पराउने रहेछन् ।

भारतको भिसाको म्याद सकिएपछि उनी नेपाल आएर स्वदेश फर्किएपछि पुनः भारत आउने वाचा गरेर नेपाल आएकी रहिछन् । भारतमा रहेका उनको एजेन्टले उनैबाट तीन महिनाको नेपाली भिसा मिलाइदिए । भारतीय एजेन्टको सहयोगमा उनी भैरहवासम्म आइपुगिन् । नेपाल आएपछि उनलाई काठमाडौंसम्म ल्याउने जिम्मेवारी सिद्धिकीले लिएका थिए । उनले वाचा पूरा गरेनन् ।

पटक–पटक पैसा मागेर भएको चार हजार डलर लिइसकेपछि पनि काठमाडौँ नपुर्याएपछि उनै युवतीले भारतीय ब्याइफ्रेन्डसँग पैसा माग्छु भनेपछि सिद्धिकीले उनलाई फोन सम्पर्क गर्न दिएका थिए । उनले भारतीय प्रेमीलाई फोन गरेर केही पैसा पठाउन आग्रह गरिन् । सिद्धिकीको निर्देशनअनुसार उनले आफू भैरहवामा रहेको होटलको नामसमेत बताएपछि ती युवाले पैसा पठाउनुको साटो आफैँ नेपाल आए । शुक्रबार साप्ताहिकले छापेको छ ।

होटलमा गएर प्रेमिका भेटेपछि उनलाई त्यहाँको अवस्था सामान्य लागेन र उनी सहयोगका लागि प्रहरी कार्यालय पुगेका थिए । ‘ती भारतीय युवाका कारण नै भैहरवामा मानव तस्करहरुले बनाएको सेल्टर खुल्यो,’ एसपी ज्ञवालीले भने, ‘उनले प्रहरीलाई ठूलो सहयोग गरे ।’

PURBELI TV

तपाईको प्रतिक्रिया

×