लोकतान्त्रिकले टुंग्यायो तत्कालीन पार्टीको अवस्था

काठमाडौं  । पार्टी एकीकरण भएर प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि कांग्रेसले लोकतान्त्रिक फोरमको सांगठनिक अवस्थाबारे प्रतिवेदन मागेको थियो । त्यसपछि तत्कालीन अध्यक्ष गच्छदारले उपाध्यक्ष रामजनम चौधरीको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएका थिए । समितिमा भारतेन्दुकुमार मल्लिक, देवीप्रसाद आचार्य, कृष्ण दुलाल, योगेन्द्र चौधरी र गोपाल दहित सदस्य थिए ।

समितिले पार्टीको केन्द्रदेखि स्थानीयस्तरसम्म भएको संरचना र नेता–कार्यकर्ताको जिम्मेवारी समेटेर अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको संयोजक चौधरीले बताए । कांग्रेससँग एकीकरण हुनुअघि लोकतान्त्रिक फोरमको ३ सय १५ सदस्यीय केन्द्रीय कार्यसमिति, २१ सदस्यीय राजनीतिक समिति, तराई–मधेसका २२ वटै जिल्लासहित केही पहाडी जिल्लामा समेत समिति रहेको तथा पार्टीका सदस्य तथा ती समितिमा नेतृत्व कस–कसको थियो भनेर प्रतिवेदन बुझाइएको चौधरीले बताए ।

उनका अनुसार केन्द्रीय समितिमा २५ र महासमितिमा पाँच सय प्रतिनिधि माग्नुपर्ने सुझाब प्रतिवेदनमा दिइएको छ । सो प्रतिवेदन अध्यक्ष गच्छदारले जारी केन्द्रीय समिति बैठककै वेला सभापति शेरबहादुर देउवालाई बुझाउने भने पनि नेता खुमबहादुर खड्काको निधन भएपछि बुझाउन नसकिएको चौधरीले बताए ।

‘सहमति कार्यान्वयन हुने आशा’

गच्छदार प्रतिनिधिसभा र नेता जितेन्द्र देव राष्ट्रिय सभाका सदस्य छन् । चौधरीले कांग्रेस सभापतिसहितका शीर्ष नेताले आश्वासन दिएकाले आफूहरू महासमिति बैठकपछि सहमतिअनुसार जिम्मेवारी पाउनेमा आशावादी भएको बताए । ‘सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेललगायत शीर्ष नेताहरू सकारात्मक रहेकाले सहमति कार्यान्वयन हुनेमा हामी आशावादी छौँ,’ चौधरीले भने । केन्द्रीय समितिमा ल्याउन दबाब दिने उद्देश्यले १० जनालाई आमन्त्रित केन्द्रीय सदस्यका रूपमा सहभागी गराउन देउवाले नाम मागे पनि आफूहरूले नदिएको चौधरीको भनाइ छ।

विधान सुल्झाएर कार्यान्वयन गर्छौँ  : विश्वप्रकाश शर्मा

विधानमा देखिएको समस्याका कारण एकीकरणका वेला भएको सहमति कार्यान्वयनमा केही ढिलाइ भइरहेको छ । महासमिति बैठकबाट समस्या समाधान गर्ने प्रक्रियामा छौँ । जारी केन्द्रीय समिति बैठकले महासमिति बैठकको मिति तय गर्छ, त्यसले विधान संशोधन गरेपछि सहमति कार्यान्वयन हुन्छ । तत्कालीन फोरमका अध्यक्ष गच्छदारलाई केन्द्रीय समिति बैठकमा पदाधिकारीकै लाइनमा आमन्त्रित सदस्यका रूपमा बस्ने व्यवस्था गरेका छाैँ। अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया