पैतृक सम्पत्ति राज्यको हुनुपर्छ सन्तानको होइन !

नेपाल र नेपालीको समृद्धिका लागि चिन्तनशील रहनेको संख्या कम छैन। स्वदेश या विदेशमा बसेका जो कसैको मनमा समृद्ध नेपालको सपना छ। तर यसलाई साकार तुल्याउने मार्ग पहिचान गर्न सकिएको छैन। मुलुक समृद्ध तुल्याउने एउटा मात्रै कारक हुन सक्दैन। तर त्यसमध्ये एउटा विषय पैतृक सम्पत्ति पनि हो र पैतृक सम्पत्ति छोरा वा छोरीलाई दिने कानुनको सट्टा सो सम्पत्ति राज्यकोषमा जानुपर्छ भन्ने बहसलाई यस आलेखमार्फत सार्वजनिक गर्न चाहान्छु।

राणाकालमा उच्च पदस्थ राणाजीको छोरा जन्मिँदै ‘जर्नेल’ पदवीसहित जन्मन्थ्यो। यसलाई हामी बौद्धिक वर्गले न्वारानदेखिको बल झिकेर विरोध गर्ने गरेका छौं, तर के हामीले हेक्का गरेका छौं वर्तमान दिनहरूमा एउटा अर्बपति बाबुको छोरो जन्मिँदै ‘अर्बपति’ भएर जन्मिरहेको छैन ? नेपालमा बैंक वा बिमा कम्पनीजस्ता निजी क्षेत्रबाट सञ्चालित संस्था निकै छन्। ती निकायको अध्यक्षमा अर्बपति लगानीकर्ता नियुक्ति हुनु स्वाभाभिकै हो। तर सो अर्बपति जब बुढो हुन्छ, स्वतः निजको छोरा वा छोरी बाबुको अपुतालीमा अध्यक्ष हुन पुग्छन्। संसारको यो रित सही हो भने सिंहदरबारको सचिवको छोरोलाई सचिव नै दिनुपर्ने र टुँडिखेलको जर्नेलको छोरोले जर्नेल नै पाउनुपर्ने होइन र ? विश्वमै राजनीतिक दलमा आफ्नो अध्यक्ष पदलाई छोरा वा छोरीमा विर्ता बाँड्ने प्रचलन अझै बाँकी छ। आजभोलि यस्तो पद श्रीमतीमा पनि हस्तान्तरण हुन थालेको छ। यी सबैको स्रोत पैतृक सम्पत्ति एकपुस्ताबाट अर्को पुस्तामा सर्ने प्रचलनको ‘लिगेसी’ त होइन ?

नेपालमा नेता र कर्मचारीले घुस खाएर, व्यापारीले जनतालाई ठगेर तथा एनजीओवालाले डलर खेती गरेर सात पुस्तालाई पुग्ने गरी सम्पत्ति जोडे भनेर तीव्र आलोचना गरिन्छ। तर सो सम्पत्ति यसरी पुस्ता-पुस्तामा नसर्ने कानुन बनाऔं भनेर कोही मुख खोल्दैन किन ? एउटा बाबुलाई लागेको रोग मलाई पनि पुस्तौनी सम्पत्ति झैं सरेर आओस् भन्ने छोरा वा छोरी कहाँ भेट्टिएला ? मेरा बा मरे, मलाई पनि बासँगै चितामा जल्न मन लाग्यो भन्ने छोराछोरी कलियुगमा भेट्टाउने त के, कल्पना गर्नु पनि मुख्याईं हुनेछ।

मेरा बा भ्रष्टाचारमा पोलिए, उनी जेलमा छन् तर म उनको घरमा बसेको छु। यसर्थ म बाबुको पीडा कम गर्न ‘भ्रष्टाचारी’ को संज्ञा लिएर समाजमा हिँड्न चाहन्छु भनेर कसले भन्ला ? ‘बाबुको अपराधमा जेल जान्छु’ भनेर कसैले भन्ला ? यसरी विश्लेषण गर्दा बाबुको दुःखपीडा छोराछोरीमा सर्न नसक्ने तर सम्पत्ति मात्रै सर्ने कुरा ठीक हो त ? यसमा परिवर्तन भएमा घुस खानेले पनि सात पुस्ताका लागि घुस खानुको सट्टा आफू बाचुन्जेल खपत गर्न सक्नेबराबरको रकम मात्रै कमाउने थियो कि भनी अनुमान गर्न सकिन्छ।

विकसित मुलुकमा १६ वा १८ वर्षको उमेर पुगेपछि छोराछोरीले बाबु-आमालाई छोडेर जान्छन् भन्ने सुनिन्छ। चराचुरुंगीका बच्चा उड्न सक्ने भएपछि बाबुआमाको गुँडमा फर्केर आउँदैनन्, यो शास्वत सत्य हो। जनावरको बच्चा जन्मिएपछि आफैं उभिएर आमाको दूध चुस्छ। तर मानिसको बच्चालाई आमाले दूध चुसाउँछिन्। यही क्षणबाट मानिस अर्काले बचाइदिए बाँच्ने, आफैं बाच्न नसक्ने निकम्मा प्रमााणित हुन थाल्छ। यस शृंखलामा निश्चित उमेर र पढाइ सकिएपछि बाबुआमाबाट अलग हुनेले बाँच्नका लागि कमाउनुपर्ने हुन्छ।

कमाएर खानेकुरा किन्न, त्यसलाई पकाउन, भाँडा माझ्न र घर सफा राख्न, आफ्नो जीवन साथी रोज्न जान्नुपर्छ। वर्तमान दिनमा नेपालको मध्यमवर्गीय र उच्चवर्गीय परिवारलाई नियाल्दा यी सबै काम आमाबाबुले गरिदिँदा केटाकेटी अक्षम या परजीवीसरह भएका छन्। छोराछोरीले डाक्टर, इन्जिनियर पास गरेर आएपछि जागिर खोज्न ‘जिहजुरी’ र चाकडी गर्दै हिँड्ने बाबुहरू सर्वत्र भेटिन्छन्। केही वर्षअघि जागिर पाउन, पदोन्नति हुन र तक्मा लाउन फलानाले जुत्ता फटाए भनिन्थ्यो। हिजोआज छोराछोरीको बन्दोबस्त मिलाउँदै कतिपयको जीवन बित्न थालेको देखिन्छ।

पछिल्लो महाभूकम्पमा धेरै मानिसको मृत्यु भयो, घर भत्किएर। घरहरू जीर्ण भएका कारण भत्किए। घरको पनि मान्छेको जस्तै आयु हुन्छ। जुन पुस्ताले बनाउँछ, सो पुस्ता पछि घर भत्किनुपर्छ। तर बाबुको अपुतालीमा सम्पत्ति पाउने छोराछोरी बाबुले बनाएकै घरमा बस्छन् र म्याद गुज्रेको घरमा बसी मृत्यु निम्त्याउँछन्। समय गतिशील छ तर पैतृक सम्पत्तिको कारण समाज परिवर्तनलाई आत्मसात् गर्न पछाडि परेको छ। एकहल गोरुसहित बाबुले मृत्युवरण गरेमा छोरो हली हुने लगभग निश्चित छ। सो हली बन्ने छोराको सहपाठी, जसको बाबुको कुनै सम्पत्ति छैन भने निजले आफ्नै आम्दानीले जमिन खरिद गरी गोरुको सट्टा ट्याक्टर किन्छ, जो समयको माग हो।

बाजे, बा र नाति एउटै घरमा छन् भने ती घरमा मासिक रक्तस्राव हुने महिलाहरू अझै पनि ४ दिन कुना बस्छन्। तिनको ४ दिनको उत्पादकत्व घट्छ। तर नाति आफैं स्वतन्त्र भएर श्रीमतीसँग एक्लै बसेको छ भने आवश्यक स्वास्थ्य सजगता अपनाउँदै अनावश्यक ४ दिन बार्ने प्रथाबाट उ मुक्त हुन्छ। यी सबै विश्लेषणको एउटै सार हो, छोराछोरीलाई बाबुआमाको सम्पत्तिले अगाडि बढ्न होइन पछाडि धकेल्न मद्दत गरिरहेको छ। यो प्रणालीको बन्धन तोड्नैपर्छ।

कसैले जीवनभर मिहेनत र दुःख गरेर कमाएको सम्पत्तिको अधिकार कोसँग हुन्छ भन्ने विषयमा चर्चा गर्नु नै बेकार छ। जसले सम्पत्ति आर्जन गर्छ, उसैले उपभोग गर्छ, गर्न पाउनुपर्छ। आफ्नो सम्पत्ति उपयोग गर्ने अधिकारभित्र रहेर छोराछोरीलाई बाआमाले सम्पत्ति बक्सिस दिन पनि सक्छन्। यसमा सबै सन्ततिलाई समान रूपमा सम्पत्ति बाँड्नुपर्छ भन्ने छैन। आफूलाई बढी ख्याल राख्ने र माया गर्नेलाई बढी दिन सकिन्छ। यसमा छोराछोरीलाई हालको जस्तो बाबुआमाविरुद्ध अंशमुद्दा गर्ने अधिकार हुने छैन। कुनै कारणवश सम्पत्तिका मालिक बाबुआमाको मृत्यु भएमा सो सम्पत्ति कुनै ट्रस्टमा वा स्थानीय तहमा वा राज्य कोषमा राखिनुपर्छ।

राज्यकोषमा सम्पत्ति अपुतालीस्वरुप आउने भएपछि राज्यले वृद्धवृद्धालाई पाल्न कुनै ‘आइतबार’ पर्खिनु पर्दैन। विकसित भनिने मुलुकहरूमा उमेर पुगेपछि छोराछोरी आफैं कमाउने र खानेगरी बाबुआमाको घरबाट निस्किने गर्छन्। बाबुआमा पनि आफ्ना पाखुरी चलाएर कमाउँछन्, खान्छन् र राज्यको सहयोग लिएर बुढेसकाल खुसीले बिताउँछन्। जुनबेला तिनले धर्ती छोड्छन्, सो दिन बुढेसकालमा सघाउने ट्रस्ट वा स्थानीय सरकार वा राज्य ढुकुटीमा उनीहरूको सम्पत्ति हस्तान्तरण हुन्छ। यसले हामी प्रत्येक नागरिकलाई आफ्नै खुट्टामा उभिन र बाँच्न सिकाउँछ।

अन्नपुर्णपोस्टबाट

तपाईको प्रतिक्रिया