साकार हुँदै एउटा नेपालीको सपना, सगुनमा हिन्दूस्तान टाइम्सले गर्यो ५० करोड लगानी

काठमाडौं / एउटा नेपालीको आइडियामा स्थापित सामाजिक संजाल सगुन डटकमले भारतको प्रतिष्ठित संचार गृह हिन्दूस्तान टाइम्सबाट ५० करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । सगुनमा ठूलो संभावना देखेर भारतको चर्चित मिडिया कम्पनी हिन्दूस्तान टाइम्स संचालक कम्पनी एचटी ओभरसिजले ५० लाख डलर लगानी गर्ने भएको हो । यस सम्बन्धी सम्झौतामा सगुन र एचटी ओभरसिज (एचटी सिंगापुर) ले सम्झौता गरेका छन् । दुई कम्पनीबीच भएको सम्झौतापछि सगुनको प्रचारप्रसारमा एचटी ओभरसिजका हिन्दुस्तान टाइम्सजस्ता प्रतिष्ठित सञ्चार माध्यमले सघाउने पनि बताइएको छ ।

नेपालको पूर्व संखसभामा जन्मिएका नेपालीको छोरो गोविन्द गिरीले विकास गरेको सगुनले अमेरिकी सेयर बजारमा मिनी आइपिओ निस्कासन गरेर चर्चा बटुलेको थियो । यसअघि सगुनमा मिनी आइपिओमार्फत ३ हजार जनाभन्दा बढीले करिव ४८ करोड रुपैयाँ लगानी गरिसकेका छन् । सगुनको मिनी आइपिओमा खासगरी अमेरिका र एशियाली मुलुकमा रहेकाहरु लगानी गर्न ओइरिएका थिए । हिन्दुस्तान टाइम्सको भगिनी संस्था एचटी ओभरसिजको लगानीले सगुनलाई उचाइमा पुर्याउने यसका संस्थापकको विश्वास छ ।

हरेक प्रयोगकर्तालाई आफूले कमाएको आम्दानी बाँड्ने फरक कन्सेप्ट लिएर नेपाली इन्जिनियरले विकास गरेको सगुनले अमेरिकाको सेयर बजारको नियामक निकाय सेक्युरिटी एन्ड एक्स्चेन्ज कमिसन (एसइसी) बाट मिनी आइपिओ निस्कासन गर्ने सन २०१६ मा अनुमति पाएको थियो । सगुन इन्कले मिनी आइपिओबाट २ करोड डलर (करिव २ अर्ब रुपैयाँ) लगानी जुटाउने लक्ष्य राखेकोमा एचटीको लगानीले १ अर्ब हाराहारीमा लगानी जुटेको छ ।

संसारलाई हल्लाउने अमेरिकाको शक्तिको स्रोत पेन्टागनमा जागरि खाँदै गरेकाले केही फरक काम गर्ने हुटहुटीले सगुनको विकास गरेका थिए । उनले फेसबुक, ट्वीटर, स्न्यापच्याट लगायतका विशेषता भएको एउटै प्लेटफर्मको परिकल्पना सगुनमा गरेका छन् । यसलाई बिजनेस नेटवर्किङ प्लेटफर्मका रुपमा रुपान्तरण गरेर प्रयोगकर्तालाई आफ्नो आम्दानीको हिस्सा बाँड्ने उनको योजना छ ।

उनी अहिले सगुनलाई अमेरिकी सेयर बजारमा स्थापित गराउने ध्याउन्नमा छन् । सगुनमा नेपालीले समेत लगानी गर्ने अभूतपूर्व अबसर पाएका थिए । अहिलेका आइटीका ठूला कम्पनीहरु फेसबुक, अलिबाबा, उबर, गुगल, ट्विटरजस्तै बन्न सक्ने सम्भावन बोकेको सगुनमा थोरै रकम बचाउनेहरुका लागि पहिलो पल्ट यस्तो अबसर आएको हो । लगानी गर्न चाहनेहरुको लागि तेस्रो राउन्डको लगानी समेत खोलिसकेको सगुनको वेभ साइटमा जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया