दृष्टिविहीन भए पनि गाएरै परिवार पालेको छु

काठमाडौँ / दृष्टिविहीन कमल रायमाझीले सडक, पेटी वा चोकमा गीत गाएर दिनमा कम्तीमा रु पाँचसय आम्दानी गर्नुहुन्छ । त्यसरी चोकहरुमा गीत गाएर कमाएको पैसाले नुवाकोटका कमलले आफ्ना तीन छोरा÷छोरी र श्रीमतीको समेत पालनपोषण गर्दै आउनुभएको छ ।
“बिहान दश बजेपछि प्रत्येक दिनजसो काठमाडौँका विभिन्न सडकमा अरूले गाएका गीतको म्याजिक ट्र्याकमा त्यही गीत गाउँछु, बाटो हिँड्नेहरुले कसैले रु २०÷२५ त कसैले एक–दुई सय पनि दिने गरेका छन्”, उहाँले भन्नुभयो ।

सिन्धुपाल्चोकका दृष्टिविहीन अमर राईले पनि सडकमै गीत गाएर आफ्नो जीविकोपार्जन गर्दै आउनुभएको छ । “दृष्टिविहीन भएर पनि मैले आफ्नो कला देखाएर परिवार पालेकै छु, कम्तीमा पनि यो समाजले दृष्टिविहीनले पनि केही गर्न सक्छन् भनेर सकारात्मक सोचिदिए हुन्थ्यो,” अमरले भन्नुभयो ।

कमल र अमरले मात्रै होइन यसरी राजधानीका सडकमा गीत गाएर धेरै दृष्टिविहीनले राम्रैसँग जीविकोपार्जन गर्दै आएका छन् । “यो समाजमा अपांगता भएका व्यक्ति वा दृष्टिविहीनले केही पनि गर्न सक्दैनन् भन्ने सोच छ, तर हामी दृष्टिविहीन भए पनि आफ्नो कला देखाएर आम्दानी गरिरहेका छौँ, कसैसँग मागेर खानुपरेको छैन,” दृष्टिविहीन कमलले भन्नुभयो ।

दृष्टिविहीन सडकमा मात्र होइन राजधानीका दोहोरी साँझमा समेत आफ्नो कला प्रस्तुत गरेर जीविकोपार्जन गर्दै आएका छन् । “हामी आँखा नदेख्ने दृष्टिविहीन भनेपछि यिनीहरुले केही नि गर्न सक्दैनन्, यिनीहरु समाजका बोझ हुन् भन्ने नजरले हेरिन्छ, हामी दृष्टिविहीन भए पनि धेरै गर्न सक्छौँ,” काठमाडौँको दोहोरी साँझमा गीत गाउने धिरेन राईले गुनासो गर्नुभयो ।

नेपाल नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेल राज्यका हरेक संरचनामा दृष्टिविहीनको समान सहभागितासँगै उनीहरुको क्षमता अनुसारको रोगजारीको सुनिश्चितता गर्नुपर्छ भन्नुहुन्छ । शरीरका अंग र शारीरिक प्रणालीमा भएको समस्याले भौतिक, सामाजिक, सांस्कृतिक वातावरणका साथै सञ्चारबाट सिर्जना भएको अवरोध समेतले दैनिक क्रियाकलाप सामान्यरुपमा सञ्चालन गर्न एवं सामाजिक जीवनमा पूर्ण सहभागी हुन कठिनाइ हुने अवस्थालाई अपांगता भनिन्छ ।

राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले सबैभन्दा पहिला अपांगता भएका व्यक्तिले केही पनि गर्न सक्दैनन् भन्ने भन्दा पनि गर्न सक्छन् भन्ने सोचमा सकारात्मक परिवर्तन ल्याउन जरुरी छ भन्नुभयो ।

तपाईको प्रतिक्रिया