ताप्लेजुङमा पाथीभरा पर्यटन महोत्सव सुरु

ताप्लेजुङ / पुर्वि पहाडी जिल्ला ताप्लेजुङमा पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाईड्स पाथीभरा म्याराथन सुरु भएको छ । “ताप्लेजुङमा अवस्थित आस्था र विस्वासको धरोहर पाथीभरा जाऔँ, अलौकिक दैवी शक्ति र अद्धितीय प्राकृतिक सौन्दर्य संग साक्षात्कार गरौँ” भन्ने नारा सहित आज देखि महोत्सव सुरु भएको हो । प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिर र कञ्चनजंघा हिमाललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रर्वद्धन गर्दै यस जिल्लालाई एक नम्बर प्रदेशकै प्रमुख पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको हो ।

मंगलबार बिहान सदरमुकाम फुङलिङमा कलस यात्रा सहित महोत्सवको शुभारम्भ गरिएको छ । एक नम्बर प्रदेश सभा सदस्य प्रताप प्रकाश हाङ्गामले परेवा उडाएर कलस यात्राको उद्घाटन गर्नुभएको थियो । कलस यात्रामा स्थानीय नीजि विद्यालयका विद्यार्थी, नागरिक समाज, सरकारी तथा गैर सरकारी संघ संस्थाका कर्मचारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना लगायतको सहभागीता थियो । नयाँ रणभीम गुल्मको अघाडीबाट सुरु भएको कलस यात्रा सिद्धिडाँडा हुँदै पुन गुल्ममा आईपुगे पछि औपचारिक रुपमा महोत्सवको उद्घाटन गरिएको छ ।

महोत्सवमा आजै देखि विभिन्न खेलकुद प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारद्धारा सांस्कृतिक कार्यक्रमको प्रस्तुति र विभिन्न झाँकी प्रर्दशनी हुने जनाईएको छ । यस्तै कृषि प्रर्दशनीका साथै विभिन्न परिकारका खानाको स्वाद लिन सकिने सकिने समेत बताईएको छ । प्रमुख आकर्षणको रुपमा रहेको पाथीभरा म्याराथन भने महोत्सवको अन्तिम दिन फागुन ३ गते हुने आयोजकले बताएको छ । सदरमुकाम देखि तीन हजार सात सय ९४ मिटरको उचाईमा रहेको पाथीभरा मन्दिर सम्म म्याराथन दौड प्रतियोगिता हुने छ ।

तपाईको प्रतिक्रिया