उत्तर कोरियाको प्रतिनिधिमण्डल दक्षिण कोरियाबाट स्वदेश फिर्ता

प्योङयोङ । लोकतान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) को उच्चस्तरीय प्रतिनिधिमण्डल दक्षिण कोरियाबाट आइतबार राति स्वदेश फर्किएको छ । प्योङचाङ शीतकालीन ओलम्पिक प्रतियोगिता २०१८ को उद्घाटन समारोहमा सहभागी हुन आएको टोली उच्चस्तरीय भेटघाट गरेर आइतबार फर्किएका छन् ।

उत्तर कोरियाको संसद्का प्रमुख तथा देशको राजनीतिक प्रणालीअनुसार आलङ्कारिक राष्ट्रपतिसमेत मानिनुहुने किम योङ नामको नेतृत्वमा उच्चस्तरीय टोली शुक्रबार दक्षिण कोरिया आएको थियो । प्रतिनिधिमण्डलमा उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी तथा सत्तारुढ वर्कस् पार्टीको केन्द्रीय समितिको प्रथम उपनिर्देशक किम यो जोङ पनि सहभागी हुनुभएको थियो ।

उहाँहरु दुई जनासहितको चार सदस्यीय प्रतिनिधिमण्डलले शनिबार बिहान दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनलाई उहाँकै कार्यालय ब्लु हाउसमा भेटवार्ता गरेको थियो । उक्त भेटवार्ताका क्रममा उत्तर कोरियाका सर्वोच्च नेताकी बहिनी जोङले आफ्ना दाजु तथा सर्वोच्च नेता किम जोङ उनको निमन्त्रणा पत्र राष्ट्रपति मुनलाई हस्तान्तरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया