यसकारण पुनः बिवादमा तानिए धरानका मेयर

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका मेयर तारा सुब्बा झण्डै ६९ लाखको गाडी खरिद गर्ने टेण्डर स्वीकृत गराएपछि फेरी विवादमा मुछिएका छन । भुमाफियाको तर्फबाट सम्मान थापेर विवादमा परेका उनी दोस्रो पटक एमाले नेता पत्नीलाई विनाप्रतिष्पर्धा जागिर लगाएर विवादमा तानिएका थिए । तेस्रोपटक मेयर सुब्बा फेरी बिवादमा तानिएपछि धरानमा हंगामा मच्चिएको छ । उपमहानगरपालिका सँग अहिले तीनवटा गाडी र दर्जन बढी मोटरसाइकललगायत सवारी साधन छन । त्यहि बिचमा उनले् आफू चढ्नका लागि ६८ लाख ८० हजार ५ सय ३० रुपैयाँको टाटा कम्पनीको हेक्सा गाडी खरिद गर्ने टेण्डर स्वीकृत गराईसकेका छन ।

एमाले सुनसरी १ का अध्यक्ष इन्द्र राईकी श्रीमती र एमाले धरानका सचिव राजमणि निरौलाकी श्रीमती प्रमिला निरौलालाई उपमहानरपालिकामा जागिर लगाएर विवादमा परेको घटना सेलाउन नपाउँदै सुब्बाले महंगो गाडी चढ्ने मोह देखाएपछि उनी एमाले कार्यकर्ताको नजरमा समेत विवादित बन्न पुगेका छन । उपमहानगरपालिका आर्थिक धरासयमा रहँदारहँदै पनि महंगो गाडी किन्ने निर्णय गलत छ, १८ नम्बर वडाअध्यक्ष प्रविण राईले बताए । उनले मेयरको गाडी किन्ने निर्णयले नगरबासीलाई चिन्तित तुल्याएको समेत बताए ।

मेयर सुब्बाले अन्य जनप्रतिनिधिले विरोध गर्दागर्दै पनि टाटा कम्पनीको हेक्सा गाडी किन्नलाई डेण्टर स्वीकृत गराएका छन । सुब्बाले उक्त गाडी खरिदका लागि सिप्रद्धि ट्रेडिङ नैकाप काठमाडौंले हालेको ६८ लाख ८० हजार ५ सय ३० रुपैयाँको बजेट स्वीकृत गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताए । उनले उपमहानगरपालिकालाई गाडीको अतिआवश्यक परेकाले खरिद गर्न लागिएको बताए ।

पास नगराइकन गाडी किन्ने स्वीकृत गराएका सुब्बाको आफ्नै पार्टी एमालेमा समेत असन्तुष्टि बढेको छ । तर, सुब्बाले गाडी खरिद गर्ने अडानलाई यथावत राखेपछि उनी धरानको विकास र धराने जनताको समस्या समाधान गर्न नभएर गाडी चढ्न मात्र निर्वा्चित भएको प्रष्ट भएको युवासंघ नेपालका केन्द्रीय सदस्य ज्ञानदीपले बताए । गाडी खरिदबारे मेयर सुब्बालाई सम्पर्क गर्दा बोल्न नमिल्ने प्रतिक्रिया दिए । यो बिषयले अहिले धरानमा नयाँ तरंग नै सिर्जना गरिदिएका्े छ ।

तपाईको प्रतिक्रिया