पर्यटकलाई समेत लक्षित गर्दै अत्याधुनिक मन्दिर

चितवन / नेपालका धार्मिक तीर्थस्थलहरुले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गरिरहेको बेला जिल्लाको पर्यटकीय नगरी सौराहा नजिकै पर्यटक तान्ने गरी एक मन्दिरको जिर्णोद्धार गरिएको छ । रत्ननगर नगरपालिका–११ जिरौनामा ५० वर्ष पुरानो मन्दिरलाई स्तरोन्नति गरी अत्याधुनिक बनाइएको हो ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहाबाट ६ किलोमिटर दूरीमा रहेको सो स्थलमा अत्याधुनिक भव्य मन्दिरसँगै यज्ञ मण्डप, विवाह मण्डप, वृद्धाश्रम, भोजनालय, पानीका फोहोरा सहितको मनोरम दृश्य स्थल बनाइएको हो । मुख्य मन्दिरभित्र राधाकृष्णको मूर्तिसहित आधुनिक र परम्परागत रुपमा कुँदिएका झ्याल–ढोका, भित्तामा कुँदिएका धार्मिक, मनोरम दृश्य सहितको सुन्दरता रहेको छ ।

श्रीकृष्ण प्रणामी मन्दिर जिरौनाले मन्दिरलाई परम्परा र आधुनिकताको संयोजन गरी भव्य रुपमा निर्माण गरेको हो । पूर्व–पश्चिम राजमार्गको भानुचोकबाट ३.५ किलोमिटर उत्तरमा पर्ने उक्त मन्दिर रु पाँच करोडमा निर्माण गरिएको हो । पन्ध्र कट्ठा सात धुर क्षेत्रफलमा रहेको उक्त मन्दिरले केही पर १० कट्ठा जमिनमा विद्यालयसमेत सञ्चालन गर्ने तयारी गरेको छ । मन्दिर परिसरमा रहेको वृद्धाश्रममा अहिले पाँचजना वृद्धवृद्धा रहेका छन् ।

वृद्धाश्रमलाई अझै व्यवस्थित गरिँदै लाने योजना रहेको मन्दिरको स्वर्ण महोत्सव वर्ष–२०७४ मूल समारोह समितिका संयोजक तिलकराज शर्मा पौडेलले बताउनुभयो । २०२४ सालमा स्थापना भएको मन्दिर जीर्ण बन्दै गएपछि श्रीकृष्ण प्रणामी सेवा समितिले अहिले भव्य मन्दिर बनाएको हो । मन्दिरको आगामी फागुन ६ गते शुभारम्भ गरिने कार्यक्रम रहेको छ ।

फागुन ५ देखि फागुन १२ गतेसम्म श्रीमत् तारतमसागर १०८ पाठपारायण ज्ञान महायज्ञ एवम् श्रीमद् भागवत कथा अनुष्ठान गरिने उहाँले बताउनुभयो । सात दिनसम्म सञ्चालन हुने उक्त अनुष्ठान कार्यक्रममा श्रीकृष्ण प्रणामी धर्मका धर्माचार्य श्री १०८ कृष्णमणीजीको प्रमुख सानिध्य र नेपालका राष्ट्रपति र उपराष्ट्रपतिसमेत उपस्थिति गराउन पहल भइरहेको पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो समारोहमा नेपाल, भारतलगायत अन्य राष्ट्रबाट समेत सन्त, महन्त, गुरुजनलगायत एक लाख श्रद्धालु भक्तजनको सहभागिता रहनेछ । नवीनतम् प्रविधिको प्रयोग गरी निर्माण गरिएको उक्त मन्दिर निर्माण गर्न श्रीकृष्ण प्रणामी धर्ममा आबद्ध तथा अन्य भक्तजन, व्यक्ति तथा संघसंस्थाको चन्दा सहयोगबाट गरिएको संयोजक पौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया