किशोर छोरी भागेपछि १३ सन्तान बन्धक बनाएको खुलासा

एजेन्सी । क्यालिफोर्नियामा आफ्नै बाबुआमाले बन्धक बनाएका १३ सन्तानलाई प्रहरीले उद्धार गरेको छ । वर्षौंदेखि बन्धक बनाइएकामध्ये एक किशोरी भागेर प्रहरीलाई जानकारी गराएपछि प्रहरीले उनीहरूको उद्धार गरेको हो । सन्तान बन्धक बनाउने डेभिड एलिन टर्पिन र उनकी पत्नी लुइस अन्ना टर्पिनलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

बाबुआमाले सन्तानलाई बन्धक राख्नुको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनीहरूलाई कम्तीमा सात वर्षदेखि बन्धक बनाइएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।प्रहरीका अनुसार बन्धक बनाइएका सबै सन्तानलाई दुर्गन्धित अवस्थामा राखिएको थियो । प्रहरीका अनुसार सो घरमा बन्धक बनाइएका १३ जनामध्ये सातजना १८ देखि २९ वर्षका थिए ।

उनीहरू कुपोषणग्रस्त देखिनुका साथै अनुहार मलिन र पहेँलो देखिन्थ्यो । ‘पीडित सन्तान कुपोषणग्रस्त र फोहोरी देखिन्थे, उनीहरूलाई निकै दुर्गन्धित स्थानमा राखिएको थियो,’ प्रहरीले भनेको छ । अभिभावकले उनीहरूलाई चेनले बाँधेर राख्नुको कारणबारे प्रहरीले केही खुलाएको छैन ।

प्रहरीको उद्धारपछि बन्धक बनाइएका पीडित बालबालिका र वयस्कलाई स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ । उनीहरूको अवस्था अत्यन्तै दयनीय देखिएको एक अस्पतालका प्रमुख मार्क उफरले जानकारी दिए । उनले भने, ‘उनीहरूको अवस्था साँच्ची नै दयनीय देखिन्थ्यो । उनीहरूलाई देख्दा विश्वासै गर्न सकिँदैनथ्यो । २९ वर्षका वयस्क पनि बालबालिकाजस्ता देखिन्थे ।’ उनीहरूलाई लामो समयदेखि सीमित खानेकुरा दिइएको हुन सक्ने अस्पतालले अनुमान गरेको छ । सिक्रीमा बाँधिएकामध्ये केहीको मानसिक सन्तुलन गुमेको अनुमान गरिएको छ ।

प्रहरीको रेकर्डअनुसार क्यालिफोर्निया जानुअघि सो दम्पती धेरै वर्ष टेक्सासमा बसेको थियो । टर्पिनले वायु तथा रक्षा प्रविधिसम्बन्धी कम्पनी नर्थरोप ग्रुमम्यानमा कुनै समय काम गरेका थिए । सो कम्पनीले टर्पिनलाई आकर्षक तलब दिएको एउटा रेकर्डमा देखिएको प्रहरीले जनाएको छ । तर, सन्तान र पत्नी बेरोजगार भएसँगै उनको खर्च आम्दानीभन्दा दोब्बर बढेको थियो । उनी दुईपटकसम्म टाट पल्टिएको बैंक रेकर्डमा देखिएको छ ।

डेभिड टर्पिनले बन्धक बनाउन प्रयोग गरेको घरलाई निजी विद्यालयका रूपमा दर्ता गरेको क्यालिफोर्नियाको शिक्षा विभागको वेबसाइटमा उल्लेख छ । घरलाई स्यान्ड क्यासल डे नाम दिइएको र टर्पिन त्यहाँका प्रिन्सिपल रहेका विभागको वेबसाइटमा जनाइएको छ । सन् २०११ को मार्च २१ मा स्थापना गरिएको भनिएको सो ‘विद्यालय’मा १ देखि १२ कक्षा खोलिएको उल्लेख छ । ६ जना विद्यार्थी सो विद्यालयमा भर्ना भएको रेकर्डमा देखाइएको छ । सबैजना फरक–फरक कक्षामा पढ्ने जनाइएको छ । सो वेबसाइटअनुसार विद्यालय अझै ‘सक्रिय’ छ ।

टर्पिनले आफ्ना परिवारलाई लामो समयदेखि गुपचुप राखेको छिमेकीले बताएका छन् । एक छिमेकीले भने, ‘टर्पिनले आफ्ना सन्तानलाई बाहिर निकाल्दैनथे । उनीहरूको घरमा बाहिरी मानिस जाँदैनथे । टर्पिनका सन्तानलाई भेट्न पनि अरू कोही जाँदैनथे । सामान किन्नुपरेमा कहिलेकाहीँ टर्पिनले गाडीमा राखेर सँगसँगै पसल लान्थे ।’‘बच्चाबच्चीलाई कहिल्यै पनि बाहिर नदेखाउँदा हामी छक्क पथ्र्यौं,’ टर्पिनका अर्का छिमेकी किम्बले मिलिगान भन्छिन्, ‘सन्तानलाई घरमै पढाएको हुन सक्ने अनुमान गथ्र्यौं तर केही गडबड भएजस्तो लाग्थ्यो ।’

५७ वर्षीय डेभिड एलिन टर्पिन र उनकी पत्नी ४९ वर्षीया लुइस अन्ना टर्पिनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई बालबालिकामाथि दुव्र्यवहार र यातना दिएको आरोप लगाएको छ । प्रहरीले छापा मार्दा दुई वर्षदेखि २९ वर्षसम्मका सन्तान लस एन्जलसबाट ५९ माइल दक्षिण–पूर्वको पेरिसमा रहेको एउटा कोठामा सिक्रीले बाँधेको अवस्थामा फेला परेका थिए । सिक्रीमा बाँधिएकामध्ये प्रायः छोरी थिए । पीडितमध्येकी एक १७ वर्षीया किशोरी घरबाट भागेर प्रहरीलाई खबर गरेकी थिइन् । कुपोषणका कारण १० वर्षकी बालिकाजस्तै देखिने उनी आइतबार दिउँसो घरबाट उम्केर प्रहरीलाई खबर गरेकी थिइन् । उनी घरमा रहेको मोबाइल लिएर भागेकी थिइन् ।

तपाईको प्रतिक्रिया