स्वस्थानी व्रतकथा, भाग – २० (शिव शर्मा र गोमाको विदाइ)

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! शिव शर्मा ब्राह्मण र गोमा कन्याको विवाह भएको पनि दश–आठ वर्ष समय व्यतीत भयो । त्यतिञ्जेल शिव शर्माले ससुराली अर्थात् शिव भट्ट र सती ब्राह्मणीका घरमैं बसेर गुजारा गरे । उक्त समयमा राम्रो सेवासुश्रुषा र चाकरी पाएकाले उनी हृष्टपुष्ट भए र खाइलाग्दा देखिन थाले । रहँदा बस्दा एक दिन उनलाई आफ्नो घरको सम्झना आयो र मनमनै गुन्न थाले – ‘अब यहाँ सधैं बसेर के गर्नु, घर जानुपर्छ होला ।’ यस्तो विचार गरी सासु–ससुराका छेउमा गएर उनले भने – ‘हे माता/पिता  ! तपाईंहरूका कृपाले कन्यादान पाई मेरो घरजम भयो ।

यसरी म हजुरहरूकहाँ बसेको पनि निकै वर्ष बितिसकेछ । उता मेरा घरमा हेरचाह गरिदिने कोही छैन । यस कारण, आज्ञा पाए घर जाँदो हुँ ।’ शिव शर्माका यी कुरा सुनी शिव भट्ट भन्दछन् – ‘ज्वाइँनारायण ! यो पनि त हजुरकै घर हो, हाम्रा पो को छन् र ? तपाईं हाम्रो र हामी तपाईंकै हौं, अनि यो जिलोजेथो पनि तपाईंकै हो, जान्छु भनेर नभन्नुहोस् !’ ससुराको कुरा सुनी शिव शर्मा बोले– ‘हजुर ! नजानु भन्ने आज्ञा नहोस् । एकचोटि पुग्छु र घरको हेरविचार गर्छु, त्यसपछि बरु चाँडो गरी फर्की आउँला । मेरो पनि त तपाईंहरूबाहेक अरु को छ र ? बाबा/महतारी, इष्टमित्र, कुलकुटुम्ब जे भने पनि तपाईंहरू । जस्तो मन लागेको जे पनि खान र लाउन दिई पाल्नेपोस्ने यस्ता दयालुलाई छोडी हामी कता जान्थ्यौं र ?’

यसरी आफ्ना माता/पिता सित आफ्ना पतिले गरेको कुरा सुनी गोमा ब्राह्मणीले भनिन् – ‘हे पतिदेव ! जाने मन भए मलाई पनि साथै लै जानुहोस्, नत्र म तपाईंलाई जानै दिन्न । तपाईंविना म यहाँ कसरी रहुँली ?’ गोमाले त्यति भनेको सुनी शिव शर्मा बोले – ‘हे प्रिये ! तेरो अवस्था काँचै छ, मसित जान नसक्लिस् । हाम्रो घर धेरै टाढा छ, पर्वतमा उक्लिनु र ओह्रालो झर्नु गर्दै लामो बाटो हिड्नु पर्छ । निकै दिन वनमा, ओढारमा, खोलामा र बगरमा बास बस्नुपर्छ । बाघ, भालु, स्याल र चितुवाको भय हुन्छ । तँ आफ्ना खुसीले बाबा/आमाका काखमा घरबाट टाढा नगईकन सुखले रहेकी हुँदा मसंग जाँदा बाटामा जाडो, गर्मी र भोक तिर्खाले दुःख पाउलिस् । अर्कातिर मेरो बृद्ध अवस्था छ, बाटामा चोर डाँकाले तँलाई हरेर लैजाने डर पनि छ । यसर्थ, तँ यहीं बस्, म घर पुगी वहाँको सबै खबर बुझी दुई महिना भित्रै आईपुग्छु, त्यति कति हो र ?’

शिव शर्माका कुरा सुनी गोमा भन्छिन् – ‘हे प्राणप्रिय ! फर्की आउन दुई महिना देखाउनु हुन्छ, तर तपाईंविना दुई घडी पनि म रहन सक्तिन । घामपानी, भोकतीर्खाले दुःख पाउलिस् भन्नु हुन्छ । पर्वत चढ्नुपर्छ, ओह्रालो झर्नुपर्छ, वनमा बस्नुपर्छ, वन्यजन्तुको डर हुन्छ, के तपाईंलाई चाहिं केही हुँदैन ? के तपाईंलाई चाहिं केहीले खाँदैन ? जस्तो गत तपाईंको त्यही गत मेरो पनि । म यहाँ एक दिन पनि बस्न सक्तिन । नलिई एक्लै जान्छु भन्नुभयो भने म हत्या गरी मर्नेछु ।’ आफ्नी स्त्री गोमाका यस्ता खरा र रामका वाणजस्ता तीखा कुरा सुनेर शिव शर्माले भने – ‘हे प्रिये ! त्यसो हो भने जाऊँ न त, जाऊ बाबा/आमासित विदा माग ।’ पतिको आज्ञा पाएपछि गोमाले माता/पिताछेउ गएर भनिन् – ‘हे बाबा/महतारी ! मेरा स्वामीसित म पनि आफ्ना घर जान्छु, विदा दिनुहवस् ।’

उनका माता/पिता ले यी कुरा सुनी – ‘हे पुत्री ! जान्छु नभन् । हेर, हामी दुबै अब बृद्ध भयौं । हाम्रो छोरो भने पनि तँ नै होस्, छोरी भने पनि तँ नै होस्, यसरी तैंले पनि छोडेर गएपछि भरेदेखि हाम्रो भोकतीर्खा कसले हेर्ला ? छोरी हुँदा घरै कत्ति उज्यालो भएको छ, तर छोडेर गईस् भने शून्य र औंसीको रात झैं अँध्यारो हुनेछ, तँविना हामी बाँच्न सक्तैनौं । हाम्रो सेवा गरेर बस् । तेरा पुरुषलाई यस पटक एक्लै जान दे, दुई महिना पछि ती आई जालान् ।’ आफ्ना बाबा/आमाको कुरा सुनी गोमाले भनिन् – ‘हे पिता ! हे माता ! तपाईंहरूले सम्पूर्ण धर्मशास्त्र, श्रुतिस्मृति र पुराणहरूमा हेरेर मलाई पनि बुझाउनु भएकै छ – स्त्री जातिका निम्ति तीर्थ भने पनि, व्रत भने पनि, दान भने पनि, धर्म भने पनि आफ्ना पति नै हुन् । पुरुष रहेसम्म स्त्रीले तीर्थ, व्रत, दान, धर्म नगरे पनि हुन्छ । कुनै स्त्रीले आफ्ना पतिलाई रिसले हेरे डेरी हुन्छे, पतिको वचन काट्ने पापिनी हुन्छे । पतिका मुख लाग्ने, पतिलाई गाली गर्ने लाटी हुन्छे । लुकाएर खाने कुकुर्नी हुन्छे । पतिका महिमा कति छन् कति ? यसर्थ, मलाई नछेकी दिनुहोस्, म नगए मेरो बृद्ध पतिलाई जाँदा र आउँदा बाटाघाटामा र वहाँ घरमा रहँदा कसले स्याहार गर्छ ? वास्तवमा यो संसारको नियम अनुसार, हाम्रो कुल परम्परानुसार बढेकी चेली माइत बसेर हुँदैन तथापि तपाईंहरूका निम्ति छोरो भने पनि, छोरी भने पनि म एउटै हुँ । यसकारण, मैले फर्किएर आई जानुपर्छ, जति सक्तो चाँडो आउँला ।’

छोरी गोमाका कुरा सुनी शिव भट्ट र सतीले भने – ‘हे पुत्री ! अब हामीले के भनौ र ? तँ आफ्ना पतिका साथमा जानू, होशियार रहनू, पतिको सेवा राम्रो गर्नू ।’ यति भनी दुबैले बर्बर आँसु खसाई छोरीलाई नाना थरीका वस्त्र र गहना पहिर्याए । त्यसपछि प्रशस्त द्रव्य दिई, डोलीमा चढाई, ब्रह्मपुर सहरका बाहिरसम्म पुर्याउन गए । त्यहाँबाट डोलेहरूलाई ‘बाटामा राम्रो गरी लगे है’ भनी अह्राई छोरीसित ‘गोमा ! हामीलाई नबिर्से, भरसक चाँडो फर्की आए’ भनीकन विदा गरे । गोमा पनि डोलीबाट ओर्लिई, बाबा/महतारीलाई निहुरेर प्रणाम गरी आफ्ना साथीसंगीसित पनि विदा भई फेरि डोलीमा चढिन् र गहभरी आँसु पारी डोलेहरूलाई बाटो लाग्न आज्ञा दिईन् । डोलेहरूले काँधमा डोली बोकी त्यहाँबाट प्रस्थान गरे । यसरी सात वर्षको उमेरमा बृद्ध पति पाएकी गोमाले आफू जन्मिएको, बढेको, खेलेको ठाउँ हेर्दे माइतीघर त्यागेर कर्मगृहको यात्रा प्रारम्भ गरिन् ।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघमहात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां गोमा-पतिगृहगमनवर्णनं नामैकविंशोऽध्यायः ।।

ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्

दिनकरकिरण निबोधितनवनलिनदलनिभेक्षणः कृष्णः ।।

काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।

देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।

अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।

निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।

तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।

तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता

या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।

या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता

सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।

कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।

करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।

अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।

समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।

ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।

खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।

चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।

सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।

ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

 

ज्योर्तिबिद तथा बास्तुविद कोइराला पिण्डेश्वर बिद्यापिठ धरानमा सहप्राध्यापक हुनुहुन्छ । उहाँ पूर्वेली न्जुजका स्तम्भकार समेत हुनुहुन्छ ।

कृष्ण प्रसाद काेइरालाबाट थप

आजको राशिफल / २०७५ ज्येष्ठ ०८ गते मङ्गलबार

तपाईको लागि यो हप्ता सुभ छ की अशुभ ? यस्तो छ तपाईको साप्ताहिक राशिफलमा भाग्य (ज्येष्ठ ०६ -१२, २०७५)

आजको राशिफल / वि.सं. २०७५ ज्येष्ठ ०५ गते शनिबार

आजको राशिफल / वि.सं. २०७५ ज्येष्ठ ०१ गते मङ्गलबार

राशिफल / २०७५ वैशाख २२ गते शनिबार

राशिफल / वि.सं. २०७५ वैशाख २० गते बिहीबार

राशिफल / वि.सं. २०७५ वैशाख १७ गते सोमबार

राशिफल / वि.सं. २०७५ वैशाख १६ गते आइतबार

राशिफल / वि.सं. २०७५ वैशाख १५ गते शनिबार

राशिफल / वि.सं. २०७५ वैशाख १४ गते शुक्रबार

तपाईको प्रतिक्रिया