स्वस्थानी व्रतकथा, भाग – १९ (७ वर्षे गोमाको ७० वर्षका शिव शर्मासँग विवाह)

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! भिक्षुकको श्राप पाई अति मलीन मुख लगाएर गोमा खिन्न भई बसिरहेकी थिई । उता गङ्गास्नान, हरिहरको पूजा र सुवर्ण, अन्न, वस्त्रादि दान गर्न गएका मातापिता आई पुगेर रोइरहेकी छोरीलाई देखी ‘तँलाई के भयो ? किन रोएर बसिरहेकी ?’ भनी बाबामहतारीले सोधनी गर्दा गोमा भन्छिन् — ‘हे बाबाआमा ! तपाईहरू गङ्गास्नान गर्न गएका बेला म पूजाका निम्ति अक्षता केलाइरहेकी थिएँ, त्यसबेला एक भिक्षुक आई बलेंसीबाट अलख जगाए । तब मैले ‘अक्षता केलाउँदैछु, एक छिन पर्खनुहोस्’ भनी अक्षता केलाई सकेपछि भिक्षा लिई सिकुवामा आई ‘हे भिक्षुक ! भिक्षा लिनुहोस्’ भनें । ती भिक्षुकले मलाई ‘यति बेलासम्म पर्खाएर भिक्षा दिन आईस् ? म त्यो भिक्षा लिन्न, दिने भए तेरा बाबाले पूजा गर्ने तैंले केलाएका अक्षता भिक्षामा दे’ भने । मैले पनि ‘लिने भए, यही भिक्षा लेऊ, अक्षता त दिने होइन’ भन्दा ती भिक्षुकले रिसाएर भने — ‘हे पापिनी ! तैंले अहङ्कार गरी मलाई भिक्षा दिईनस्, तँ सात वर्षकी हुँदा सत्तरी वर्षका बुढासित तेरो बिहे होस्, तेरा बाबामहतारीले कष्टसाथ गणेशको सेवाबाट पाएको सारा सम्पत्ति नष्ट होस्, तँलाई नाना थरीका दुःख आई लागून्, अनि तेरा बाबाआमासित चाँडै तेरो वियोग होस्’ भनी यति चार थोक श्राप दिई जान्छु भनी डमरु बजाई अलप भए । यति भनेर गोमा बलिन्द्र आँसुका धारा बगाउँदै डाँको छोडी रुन लागिन् ।

स्नान, दान, सत्कर्मले पवित्र भैसकेका ब्रह्मज्ञानी शिव भट्टले भने — ‘हे गोमा ! ती भिक्षुकको भेष लिई आउनु भएका त कैलाशपति महादेव हुन् । तिम्रा निम्ति भविष्यमा जेजे हुन लेखिएको छ त्योत्यो भनेर जानु भएको । महादेवले कुनै अपराध नगरी श्राप दिनु हुन्न । तिमी यति सानी बालिकाले केलाएका अक्षता नदिएका कारण त्यति ठूलो श्राप दिनु भएको होइन । महादेवले दिएको त श्राप पनि आशीष हुन जान्छ । भिक्षुकले श्राप दिए भनेर रुनु हुँदैन’ भनी सम्झाए, बुझाए । गर्दैभन्दै जाँदा गोमा छ वर्षकी पुगिन् । आफ्नी ब्राह्मणी सतीसित सल्लाह गरी शिव भट्टले कतै मिल्दोजुल्दो वर पाइन्छ कि भनी वरपर खोजी गर्न लमी पठाए । तर जगदीश्वरको श्रापका कारण गोमाको कन्यादान लिने योग्य वर मिल्न सकेन । आफै जानुपर्यो भनी वर खोज्नका निम्ति शिव भट्ट ब्राह्मण जहाँतहाँ घुमी हेरे, तर मनले खाएको वर कतै पाइएन । धिक्कार मान्दै गङ्गा किनारमा पुगेर स्नान गर्न आएका ब्राह्मण कुमारहरूमध्ये कुनै एउटा त भेटिन्छ कि चारैतिर आँखा घुमाए, तर पत्तो लागेन । हार भएर घर फर्कनै लागेको शिव भट्ट ब्राह्मणले एक सेतै फुलेका बृद्धब्राह्मणलाई गङ्गा किनारका एक कुनामा सन्ध्या गर्न बसेको देखे ।

हाड र छाला मात्र भएको, कुप्रो, बहिरो, डेरोडेरो गरी हेर्ने, कैला आँखा र आँखा भरी कचेरा भएको, आँखीभुईं जोडिएको, मुखमा एक दुईवटा मात्र दाँत रहेको, मुखबाट र्याल चुहाइरहेको, दुवै कानमा भुत्ला भएको, आङमा मैलो र पातलो वस्त्र ओढेको, अन्दाजी सत्तरी वर्षको उमेरको, ढुङ्गामाथि बसेर सन्ध्या गर्दै गरेको बुढालाई सन्ध्या नसकुन्जेल सम्म शिव भट्टले हेरिरहे । जब ती बृद्धले सन्ध्या सके, उनैले शिव भट्टलाई सोधे – ‘तिमीले मतिर अघिदेखि हेर्दैछौ, किन हेर्यौ ? तिमी को हौ अनि कहाँबाट आयौ?’ यो सुनी उनले भने — ‘म शिव भट्ट नाम भएको ब्राह्मण हुँ । छोरीको विवाहका निम्ति कतै राम्रो वर देखेका छौ कि सोध्नुपर्यो भन्ने मनले यहाँ तिमीलाई पर्खिरहेको हुँ, तिमी को हौ ? अनि घर कहाँ हो ?’ यो सुनी बृद्धले भने — ‘हे शिव भट्ट ! म पनि शिव शर्मा नाउँ गरेको ब्राह्मण हुँ । कसैले कन्यादान दिए लिने थिएँ भनी सोह्र वर्षका उमेरदेखि खोज्दै हिडेको हुँ । आज सत्तरी वर्ष पूरा हुन आँटे र पनि कुनै कन्यादान मिल्न सकेको छैन, तर आज मेरो भाग्यको उदय भएजस्तो छ । हे पिता ! ममाथि दया गरी आफ्नी कन्या अब मलाई कृपा गर । हेर, यो उमेर भइसक्दा पनि मेरो विवाह हुन सकेको छैन । तिमीले मेरो इच्छा पूर्ण गरिदिए म पनि गृहस्थ भई सुख गर्न पाउँदो हुँ ।’

ती बृद्धको कुरा सुनी उदेक मान्दै शिव भट्ट बोले — ‘हे बृद्धब्राह्मण ! तपाईले यो के बोलेको ? यो उमेरमा बिहे गर्छु भन्नुहुन्छ । तपाईं यस्ता बृद्ध र कुरूपलाई कामदेवकी स्त्री रतिजस्ती सुन्दरी बालिका कन्या कसरी दिऊँ ? त्यस्तो अयोग्य कुरा नभन्नुहोस् ‘। त्यो सुनी फेरि बृद्धले बोले— ‘हे शिव भट्ट ! त्यसो नभनिदेऊ, दया गर, आफ्नी कन्या मलाई देऊ । दिन्न नै भन्छौ भने म हत्या गरी मरुँला ।’ शिव शर्माले भनेका यी कुरा सुनी शिव भट्टले मनमनै गमे– ‘हे देव ! मेरी छोरीका निधारमा भावीले यस्तै नै कोरेछ त ? अब म कसो गरुँ ? भिक्षुक रूप महादेवले नै त्यो दिन श्राप दिनु भएको रहेछ, जुन श्रापले मिल्दो वर आजसम्म पाउन सकिएन । महादेवको श्राप टार्न इन्द्र जस्ताले, रावण जस्ताले त सक्तैनन् भने म जस्ताले कसरी सकूँला ?’ यस्ता विचारमा डुबेका शिव भट्टले मन बुझाई ती शिव शर्मालाई अघि लगाई ब्रह्मपुर आफ्ना घरमा पुर्याए ।

उनकी ब्राह्मणी सतीले आफ्ना स्वामीलाई देखी हर्षित हुँदै साथमा आएका बृद्धका बारेमा जान्ने इच्छा गरिन् । शिव भट्टले भने — ‘हे प्रिये ! यी शिव शर्मा नाउँ गरेका ब्राह्मण हुन् । गोमाका निम्ति असल वर खोजी हिड्दा कतै पाउन सकिन र घर फर्किने इच्छाले आउँदाआउँदै गङ्गाका किनारमा बसी सन्ध्या गर्दै गरेका यिनलाई देखें । सन्ध्या सकेपछि यिनले पनि मलाई देखेर छेउमा आई मेरो सोधखोज गरे । मैले पनि आफ्नो परिचय दिएँ र कन्यादानका निम्ति वर खोज्न गएको कुरा गरें । मेरो सबै आशय बुझी यिनले भने — ‘म पनि ब्राह्मण हुँ । कसैले कन्यादान दिए विवाह गर्ने थिएँ भनी सोह्र वर्षका उमेरदेखि कन्यार्थी हुँदै हिडेको आज सत्तरी वर्ष उमेरको भएँ, अहिलेसम्म कुनै दाता निस्किएको थिएन तर आज मेरा भाग्यले तिमीसित भेट भयो, अब तिम्री कन्या मलाई नै दिने काम गर ।’ हे स्त्री ! यिनका ती अनौठा कुरा सनेर बडो आश्चर्य मान्दै मैले भने — ‘हे ब्राह्मण ! तिमी यस्ता बृद्ध उमेरका अनि यस्ता कुरूपलाई मैले आफ्नी सुकोमल र बाल्यावस्थाकी पुत्री, त्यसमा पनि कामदेवकी स्त्री रतिजस्ती राम्री पुत्रीलाई तिम्रा हातमा कसरी सुम्पिउँ ? यस्ता कुरा नगर, यस्तो काम गर्नु र भन्नु दुबै अयोग्य छ ।’ मैले यति भन्दा पनि फेरि ढिपी गर्दै— ‘हे शिव भट्ट ! त्यसो नभन, तिम्री कन्या मलाई दान गर । दिंदै दिन्न भन्छौ भने म हत्या गरी मरुँला’ भन्न थाले र मेरा अघिलागी आए । अब कसो गर्नु ? ब्रह्महत्या लिउँ कि गोमाको कन्यादान गरौं ?’

आफ्ना पतिका यस्ता कुरा सुनी सती ब्राह्मणी भन्छिन् — ‘हे पतिदेव ! हजुर कतै सपनामा त हुनु हुन्न ? यो भन्नै नमिल्ने के भनिबक्सेको ? एक त यस्तो रुवा झै सेतै टाउको भएको बुढो, त्यसमाथि कान नसुन्ने, कैला आँखाको, डेरोडेरो गरी हेर्ने, आँखीभुईं  जोडिएको, परेला फूलेको, कालो, मुखबाट राल र नाकवाट सिंगान चुहाइरहेको, यस्तालाई छोरी कसरी दिनु ? हाम्री छोरी मध्याह्नकालका सूर्यको जस्तो तेज र प्रातः कालका सूर्यको जस्तो ज्योति भएकी, पूर्णिमाका चन्द्रको जस्तो मुखमण्डल, हात्तीका सुँडजस्ता हातपाउ, बाघको जस्तो कम्मर, सावित्रीका जस्ता पैताला, राजहंसको जस्तो गमन, कोइलीको जस्तो मीठो स्वर, कमलका पातजस्ता आँखा, सुगाको जस्तो नाक, अनारका दानाजस्ता दाँताका पङ्क्ति, गोल काँक्रीजस्ता ओठ, स्याउका दानाजस्ता गाला, शङ्खजस्तो घाँटी, बाघिनीको जस्तो केश, ठूलो निधार र अरु पनि धेरै लक्षणले युक्त भएकी छिन् । यो आकाश र पातालको फरक पर्ने कुरा हजुरका मनपेटमा कसरी पुग्यो ? अर्काले कन्यादान दिएन भनेर जतिले हत्या गरी मर्छन्, त्यो हत्या उसैले बेहोर्नु पर्छ, नदिनेलाई कतै लाग्छ ? आत्महत्या गरी मर्छ भने मरोस्, त्यो पापका निम्ति म टाउको थापुँली । त्यसका त्यस्ता घुर्कीले केही गर्दैन । संसारमा अरु कोही वर नभए जस्तो यो के कुरा हो ? हजुरले नसके वरको खोजीमा म जाउँली ! ‘

यस्ता कुराहरू आफ्ना पति शिव भट्टका सामु सती ब्राह्मणीले भनेको सुनी छेउमा बसीरहेका शिव शर्माले भने — ‘हे माताजी ! संसारमा बुढा पनि छन्, बालक पनि छन् । राम्रा पनि छन्, नराम्रा पनि छन् । कसैका पुरुषभन्दा पत्नी जेठा छन् । कसैका पत्नीभन्दा कता हो कता पति जेठा छन् । कोही पुरुष स्त्रीविनाका र कोही स्त्री पतिविनाका पनि छन् । कोही सर्वहारा कङ्गाल र कोही अलेख धनी पनि छन् । यो त कुह्मालेको चक्र हो, यहाँको बालक हुँदैन, को तन्नेरी हुँदैन अनि को चाहिं बुढो हुदैन ? यो संसारमा मर्नु नपर्ने को छ ? यी सबै कुरा बुझेर तपाईहरूकी कन्या मलाई देऊ, नत्र भने तिमीहरू दुबैलाई श्राप दिई यहीं मर्छु ।’ यति भनी ती बुढा ब्राह्मणले आसन बाँधी प्राणवायु खिंचेर ब्रह्माण्डमा पुर्याई साच्चै नै प्राण छोड्न आँटे । यो देखी गोमाका पिता डराएर भने — ‘हे ब्राह्मणदेवता ! त्यसो नगर । तिमीलाई म मेरी पुत्री दिउँला ।’ पतिका वचन सुनेर सती ब्राह्मणीले नमान्दा शिव भट्टले सम्झाउन लागे — ‘प्रिये ! यता हेर, त्यो दिन हाम्री छोरीलाई श्राप दिई जाने भिक्षुक साक्षात् महादेव हुनुहुन्थ्यो । तेत्तीस कोटि देवता अघि सरेर हाम्रो सहाय हुन आए पनि त्यो श्राप टर्ने छैन । यो त दैवले पारिल्याएको कुरा हो, यसमा व्यर्थको ढिपी गर्नु ठीक होइन । अब यिनैलाई कन्यादान गरी हाम्री छोरी गोमा सुम्पिदिऊँ, चाहिने सामाग्री तैयार गर ।’ आफ्ना पतिका कुरा सुनेर सती ब्राह्मणीले मनमा अनेक कुरा खेलाउन लागिन् ।’ अहो ! आश्चर्य ! यस्ता बुढा र यस्ती बालिकाको विवाह देखिन आँट्यो । निर्विवेकी विधाताले मेरी पुत्रीका ललाटमा यस्तो के लेखी दिएछन् ? न्वारानका दिन गुरुपुरोहितले त ‘यो बालिका भविष्यमा भाग्यशाली हुनेछ र सबै लोकले मान्नेछन्’ भनेका थिए, तर त्यो आज उल्टो भयो । हाम्रा मातापिताले पनि त्यस्तो कुनै नगर्ने काम त गरेका थिएनन् । आजसम्म हामीले पनि कसैको कुभलो चिताएका छैनौं । कुन पापका कारण मेरी छोरीलाई महादेवले यति ठूलो श्राप दिनु भएछ । फेरि यस्ता अबोध बालकलाई सानो र ठूलाको के ज्ञान हुँदो हो र महादेवबाट यस्तो दण्ड पाई ।’ यति भनेर सती ब्राह्मणी रुन लागिन् ।

आफ्नी गृहिणीको त्यो अवस्था देखेर शिव भट्ट ब्राह्मण पनि बडो धर्मसङ्कटमा परे । फेरि आँखाका आँसु पुछिदिदैं उनले भने – ‘हे प्रिय ! नरोऊ, दैवले जो चितायो त्यही नै हुन्छ, अब विस्मात् गर्ने बेला छैन, यी शिव शर्मा ब्राह्मणका निम्ति खानपिन र आराम गर्ने ठाउँ मिलाऊ ।’ आफ्ना पतिदेवबाट यसरी सम्झाउँदा दैव नै बलवान् रहेछ भन्ने बुझी ब्राह्मणीले मन शान्त पारिन् र आफ्ना घरमा भएअनुसारको खानपिन गराई आराम गर्ने ठाउँ पनि मिलाई दिईन् । मिलाइएका ठाउँमा पाहुना ब्राह्मण गएर सुते । त्यसपछि आफ्ना बिछाउनामा शिव भट्ट आराम गर्न पसेपछि आफ्नी पुत्री गोमालाई डाकी सती ब्राह्मणीले आफ्ना काखमा राखी भन्न लागिन् — हे पुत्री ! अब तेरो विवाह हुन लाग्यो । ती आज आएका बृद्ध ब्राह्मणका साथ विवाह गरिदिन्छौ, किनकि उस दिन तँलाई श्राप दिई जाने भिक्षुक महादेव रहेछन् । तँलाई त्यो श्राप आई लाग्यो, हामीलाई दोष नदिनू, तँ पनि सुर्ता न गरेस् । तेरा कर्मले यस्तै गरायो । कर्ममा लेखेको मेट्न कसैको सामर्थ्य छैन ।’ यति भनी मुटु गाँठो पारी सती ब्राह्मणी आँखाबाट आँसु झार्न थालिन् ।

आमाको बचन सुनी गोमा भन्छिन् — ‘हे आमा ! तपाईहरूलाई केही दोष छैन, यो सबै मेरो आफ्नै कर्मको खेला हो । अघि मैले अहङ्कार गरी भिक्षुक महादेवको अनादर गरेकीले आज त्यसैको फल आई लागेको हो । महादेवले दिएका श्रापलाई कसले टार्न सक्ला र ? आफ्ना द्वारमा आई पुगेका भिक्षार्थीलाई जसले विमुख पारी पठाउला, त्यसको अवश्यै नै अकल्याण होला । हे माता ! मेरा बाबाले सधैं पढेर सुनाउनु भएका धर्म कथाहरू सुनेर अनि तपाईका साथमा धार्मिक स्थल, मन्दिर र कथा, पुराण, प्रवचनमा जाँदा सुनेर बुझेका कुराअनुसार बुढो भए पनि खोरण्डो भए पनि, दरिद्र, रोगी, कुष्ठी, पापी, धार्मिक, ज्ञानी, धनी, सुन्दर युवक जस्तो भए पनि आफ्ना कर्मले जस्तो पति भेटिन्छ, त्यसैमा नारीले सन्तोष गर्नुपर्छ भन्ने बुझेकी थिएँ । मलाई दैवले यस्तै जुरायो । हे माता ! तपाई नसुर्ताउनुहोस् । पुराणका कथाअनुसार भगवान् रामलाई पनि दिन लागेर बनवास लाग्नु पर्यो । त्यतिले भएन रावणले पत्नी पनि हरेर लगिदियो । महादेव जस्ताले पनि कालकूट विष पिएर नीलकण्ठ भएर रहनु पर्यो । धर्मराज युधिष्ठिर जस्ताले पनि दैवकै खेलले गर्दा भाइहरू र द्रौपदीसहित बनवास र गुप्तवासका कष्ट बेहोर्नु पर्यो । दिन दशाले गर्दा नै द्रौपदीले दुर्योधनका सभामा अपमानित हुनुपर्यो । दैव दशाकै कारण बलि राजाले सुतल लोकमा बस्न पुग्नुपर्यो । कृष्णको जस्तो शक्ति र उनको जस्तो माया कसको छ, तिनैले पनि आफ्नो नाति अनिरुद्धलाई वाणासुरले नागपाशले बाँधेको आफ्नै आँखाका सामुमा देख्नुपर्यो । फेरि उनले छप्पन्न कोटि आफ्ना वंशज समस्त यदुवंशीको संहार भएको पनि देख्नुपर्यो । यो दिनदशाकै खेल हो । यो विश्वब्रह्माण्डका कीरा, पुतली, मनुष्य राक्षस, देवता आदि समस्त जीवात्माका सृष्टिकर्ता ब्रह्माले पनि दैवदशाकै कारण आफ्नो शिर कटाएर बस्नु पर्यो । देवताका राजा इन्द्रले पनि कतिपल्ट राज्य छाडी भागेर ज्यान जोगाउनुपर्यो । हे माता ! विधाताले जे गर्न खोजेका छन्, त्यसलाई उलङ्घन गर्न कसैले पनि सक्दैन । अघिल्ला जन्ममा जस्तो कमाइएको छ, त्यस्तै भोग गर्नका निम्ति जन्म लिइएको हो, सो अवश्य नभोगी हुँदैन । समुद्रमा गएर भरे पनि कुवाँमा गएर भरे पनि आफूले बोकेका लोटाभन्दा बढी पानी आउँदैन, तसर्थ भाग्यमा थोरै लेखेको छ भने धेरै खोजेर पाइने होइन । तपाईहरूले जस्तालाई दिए पनि जहाँ दिए पनि, म आफ्नो कर्मलाई नै कारण मान्दछु । मातापिताले ठ्याम्मै सन्देह, सुर्ता र दिकदार नलिनुहोला ।’

हे अगस्त्य मुनि ! छोरी गोमाले भनेका यी सारगर्भित कुरालाई सुनी सती ब्राह्मणी ले आँसु पुछ्तै भनिन् — ‘हे पुत्री ! तँ धन्य रहिछस् । धर्मशास्त्र र सज्जनका संगतिका प्रभावले यो अवस्थामा नै तँलाई यत्रो ज्ञान छ । छोरी ! तैंले राम्रा दिनहरू पनि देख्न पाउलिस् । यस तरहले त्यो रातभरी दुई आमाछोरीले दुःखसुखका कुरा गरे । भोलिपल्ट उज्यालो भएपछि शिव भट्ट ब्राह्मणले हजाम डाक्न पठाएर शिव शर्माका गोडाका नङ र केश दाह्री कटाएर नुवाईधुवाई गराए । केही दिनपछि शिव भट्ट ब्राह्मणले असल लग्न ठहराई, कन्यादानको सामाग्री तैयार गरी, नाना माङ्गलिक कार्यका साथ गोमालाई हीरा, मोती, स्वर्ण, मणिमाणिक्य र वस्त्रालङ्कार पहिर्याई शास्त्रोक्त विधिले आफ्ना मर्यादाअनुसार शिव शर्मालाई कन्यादान दिए । गोमा कन्याले हातमा फूलको माला लिएर बुढा वर शिव शर्माका गलामा पहिर्याई ढोगी दिईन । कन्यादानको कर्म सकेपछि शिव भट्टले गुरुपुरोहितलाई श्रद्धापूर्वक भोजन दक्षिणा दिए । निम्त्याएका आफन्त र इष्टमित्रलाई समेत यथायोग्य खानापिनाले खुसी गराई गुरुपुरोहित सबैलाई विदा दिए । गोमा ब्राह्मणीले पनि आफ्ना स्वामी शिव शर्मा ब्राह्मणलाई प्रेमका साथ सेवा गरी राख्दी भईन ।

 

इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां गोमा-कन्यादानं नाम विंशोऽध्यायः ।।

ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्

दिनकरकिरण निबोधितनवनलिनदलनिभेक्षणः कृष्णः ।।

काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।

देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।

अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।

निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।

तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।

तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता

या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।

या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता

सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।

कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।

करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।

अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।

समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।

ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।

खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।

चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।

सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।

ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

तपाईको प्रतिक्रिया