स्वस्थानी व्रतकथा, भाग – १८ (सात वर्षकी अन्जान बालिकालाई महादेवको श्राप)

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! तपाईंलाई मैले स्वर्गको र पातालको कुरा कहेँ । अब मर्त्यलोकका कुरा पनि कहन्छु । ध्यान लगाएर सुन्नुहोस् । मर्त्यमण्डलको दक्षिणपट्टि ब्रह्मपुर नामको एक नगर छ । त्यो ठाउँमा वेदपुराणादि धर्मशास्त्रहरूको अभ्यास गर्दै ब्राह्मणहरू आफ्ना स्वधर्मको नियमपूर्वक पालना गरी बसेका थिए । ती मध्ये शिवभट्ट नाम गरेका एकजना अतीव गरिब ब्राह्मण पनि थिए । कस्तै दुःख भए पनि तिनलाई कुनै कुरामा लोभ र मोह भने थिएन । कस्तै दुःख भएपनि आफ्नो ब्रह्मकर्म छोड्दैनथे । अर्कालाई दुखाएर कहिल्यै बोल्दैनथे । तिनकी ब्राह्मणीको नाम सती थियो । यी दम्पतीको एकआपसमा ज्यादै प्रेम थियो । धनसम्पत्तिको साह्रै कमजोरीले गर्दा दुःख पाएका शिवभट्टले आफ्नी स्त्रीसित एकदिन भने – ‘हे प्रिये ! हामी साह्रै गरिब भयौं । धनसम्पत्तिको अभावले बुढेसकालमा झन् दुःख पाइएला । त्यसो हुँदा सम्पत्ति प्राप्त गर्नका निम्ति हामीले सिद्धिगणेशको सेवा गरौं ।’

यी कुरा सुन्दा सतीका मनमा आनन्द लाग्यो र दुबैले सात–सात दिनमा आउने मङ्गलवारै पिच्छे विहान चाँडै उठी गणेश मन्दिरमा पुगी श्रद्धा र भक्ति पुर्याई गणेशको सेवा गर्न लागे । एकत्व भई दशवर्ष जति सेवा गरेपछि सिद्धि विनायकले प्रत्यक्ष दर्शन दिई ‘हे द्विजदम्पती ! तिमी दुईले गरेको सेवाले म सन्तोष भएँ । जो इच्छा छ वरदान माग’ भन्नुभयो । यो सुनी शिवभट्टले साष्टाङ्ग दण्डवत् ढोग गरी हात जोडी भने – ‘हे पार्वतीनन्दन ! यो जन्मका निम्ति पूर्वजन्ममा मैले केही कमाएको रहेनछु, जसले गर्दा आज मैले सम्पत्तिको साह्रै कङ्गाल भएर दुःख पाइरहेको छु । यसकारण हे प्रभु ! सम्पत्तिका इच्छाले मैले हजुरको सेवा गरेको हुँ ।’ ब्राह्मणको आशय बुझी सिद्धिविनायकले भन्नुभयो – ‘हे शिवभट्ट ! अब आउँदो मङ्गलवारका दिन विहानीपख यहाँ आएर सधैं झैं मेरो पूजा गर्नू । त्यसबेला तिमीहरू दुबैले मेरा मूर्तिका सामु केही देख्नेछौ । त्यो आफ्ना घरमा लगेर तसलामा राखेर माथिबाट तसलैले छोपिदिनु । त्यसलाई चारदिनपछि उघारेर हेर्नु । सुन भइराखेको भेट्टाउनेछौ । त्यसपछि तिमीहरू सुखी होउला ।’ गणेशले यो वरदान दिई अन्तर्धान हुनुभयो । ती द्विजदम्पतीले पनि गणेशलाई साष्टाङ्ग प्रणाम गरी मनमा आनन्द मान्दै घर फर्किए ।

पर्खंदा पर्खंदा मङ्गलवार आइपुग्यो र गणेशको आज्ञाअनुसार सिद्धि विनायकका मन्दिरमा गएर शिवभट्ट ब्राह्मणका पतिपत्नीले सधैं झैं श्रद्धाभक्तिपूर्वक पूजा गरे । त्यसै बखतमा गणेशका मूर्ति आगाडि एउटा लड्डु देखा पर्यो । ती ब्राह्मणब्राह्मणीले खुसी हुँदै त्यो लड्डु बोकी घरमा लगेर तसलामा राखी माथिबाट तसलैले छोपिदिए । चारदिनपछि तसला झिकी लड्डु राखेको तसलामा हेर्दा त्यहाँ त सुनको लड्डु भएको देखे । अनि खुसी हुँदै त्यसलाई बडो जतन गरी राखे । त्यसपछि आज भन्दै भोलिभन्दै ती ब्राह्मण/ब्राह्मणी अतुलनीय सम्पत्तिवान् भई सुखी भए । घरघर गएर भिक्षा मागी खाने शिवभट्ट ब्राह्मणले अब हुनेखाने भएपछि एकदिन आफ्नी पत्नीसित भने – ‘हे सती ! पूर्वजन्ममा हामीले कुनै दानपुण्य नगरेकाले यो जन्ममा दरिद्र भई दुःखका दिन बिताउँदै थियौं । भाग्यवश सिद्धिविनायकका कृपाले आज हामी धनी र सुखी छौं । हामीले कर्तव्य बिर्सनु हुँदैन । अब यस जन्ममा धेरै दानधर्म गरौं । पतिका कुरा सुनी ब्राह्मणी ज्यादै खुसी भइन् र दुबै स्त्रीपुरुषले नित्य गङ्गास्नान गरी, हरिहरको पूजा गरी सुवर्णादि द्रव्य दान पनि गर्न लागे । जति धर्म गर्यो सम्पत्ति पनि बढ्दै गयो ।

यो देखी एकदिन ब्राह्मणले आफ्नी ब्राह्मणीसित भने – ‘हे सती ! हाम्रा सन्तान छैनन् । अब बुढ्याइँले छोयो । यो सम्पत्ति बढाएर मात्र के गर्नु ? भरे यसको रक्षा र उपभोग गर्ने हाम्रो कोही छैन । यसकारण सन्तान प्राप्तिका निम्ति फेरि सिद्धिविनायकको सेवा गरौं ।’ पतिका यस्ता कुरा सुनेर सतीले ‘हवस् । त्यसै गरौं’ भनिन् । त्यसपछि अघि झैं प्रत्येक मङ्गलवारका दिन एकाबिहानै गणेश मन्दिरमा गई दुबैजनाले भक्तिपूर्वक सिद्धिगणेशको सेवा गर्न लागे । ती दुईबाट यसरी सेवा भएको देखी गणेश सन्तोष भई दर्शन दिई ‘हे शिवभट्ट ब्राह्मण ! हे सती ब्राह्मणी ! तिमीहरूका सेवाबाट म सन्तुष्ट भएँ । इच्छाअनुसारको वरदान माग’ भनी आज्ञा गर्नुभयो । तब दुबै ब्राह्मणब्राह्मणीले अञ्जली बाँधी ‘हे गजानन ! हजुरका कृपाले हामीलाई परिपूर्ण सम्पत्ति भयो, तर त्यसको रक्षा गरिदिने कोही नभएकाले हामीले सन्तान पाऊँ ।’ भनी बिन्ती गरे । द्विजदम्पतीका यी कथन सुनी सिद्धिगणेशले भने – ‘हे ब्राह्मणब्राह्मणी ! आउँदो मङ्गलवारका दिन यसैगरी यहाँ आएर मेरो पूजा गर्नू । त्यसबेलामा एउटी गौ आएर तिमीहरूका मुखमा आएर हेरी रहनेछिन् । तिमीहरूले त्यो गाईको मुख हेरी पूजा गर्नू । केहीबेरपछि ती गाईले गोब्र्याउनेछिन् । त्यो गोबरलाई भुइँमा खस्न नपाउँदै हातमा थाप्नु र घरमा लगी तसलामा राखी माथिबाट तसलैले छोपिदिनू । चारदिनपछि उघारेर हेर्नू । त्यो गोबरबाट एउटी कन्यारत्न उत्पत्ति भइरहेकी हुनेछिन् । तिमीले पूर्वजन्ममा नराखेकोले यो जन्ममा तिमीलाई पुत्र भने लेखिएको छैन ।’ गणेशले यत्ति आज्ञा गरेपछि शिवभट्ट ब्राह्मण र सती ब्राह्मणी हर्षले गदगद हुँदै गणेशलाई साष्टाङ्ग प्रणाम गरी आफ्ना घर फर्किए । सिद्धिदाता गणेश पनि उनीहरूभन्दा अघि नै अन्तर्धान हुनुभयो ।

त्यसको सातौं दिन जब मङ्गलवार आयो, बिहानै उठी, स्नान, सन्ध्या सकी पूजाको सामग्री लिएर शिवभट्ट ब्राह्मण स्त्रीसहित भएर सिद्धिविनायकको मन्दिरमा गए । वहाँ पुगी सिद्धिविनायकको पूजा गर्न लाग्दा एउटी गाई आई ती दुबैका मुखतिर हेरिरहिन् । गणेशको पूजा सकिएपछि ती दुबैले गाईलाई प्रणाम गरे । त्यसै बखतमा गाईले गोब्र्याइन् । त्यो गोबरलाई भूमिमा गिर्नुभन्दा अगावै शिवभट्ट ब्राह्मणले हातमा थापे । त्यसपछि गौ र सिद्धिविनायकलाई परिक्रमा गरी प्रणाम गरी ती दम्पती घर गए । गणेशका आज्ञाअनुसार त्यो गोबर तसलामा राखी माथिबाट तसलैले छोपिदिए । चारदिनपछि छोपेको तसला उघारेर हेर्दा अर्का तसलामा भएको गोबरबाट नवजात कन्या उत्पत्ति भइरहेकी देखे । ती कन्या कस्ती थिईन् भने बालसूर्यको जस्तो झल्झलाकार तेज भएकी, पूर्णिमाका चन्द्रजस्तो मुखमण्डल भएकी, वासुकी नागका शरीरजस्ता हातगोडा भएकी, बाघका झैं कम्मर भएकी, हात्तीको सुँड जस्तो जङ्घा भएकी, यस्ती अपूर्व सुन्दरी कन्यालाई देखी ती ब्राह्मणब्राह्मणीले अत्यन्त खुसी हुँदै तसलाबाट झिकी सुरक्षित साथ लालनपालन गर्न लागे ।

ती बालिकालाई पियाउने दूध भएन र आउँदो मङ्गलबार विहान सिद्धिविनायकका मन्दिरमा गई अघिका झैं पूजा र प्रार्थना गरे । गणेशले प्रसन्न भई दर्शन दिएर ‘हे शिवभट्ट ! हे सती ! तिमीहरू दुबै ब्राह्मणब्राह्मणीलाई के को इच्छा छ भन’ भनी आज्ञा भयो । तब शिवभट्ट ब्राह्मणले अघिसरी बिन्ती गरे – ‘हे विनायक ! हजुरका कृपाद्वारा सन्तान प्राप्त भयो, तर त्यसलाई खुवाउन पियाउन दूध नहुँदा निवेदन गर्न आएका छौं ।’ ब्राह्मणका यी कुरा सुनी सिद्धिविनायकबाट ‘मैले त्यो बालिकालाई दूध दिएँ, घर जाँदा हुन्छ’ भन्ने आज्ञा भयो । सती ब्राह्मणीले आफ्नो स्तन निचोरी हेर्दा दूध आयो र दुबैले गणेशलाई साष्टाङ्ग प्रणाम गरी खुसी हुँदै घरमा पुगे । पुग्नासाथ सती ब्राह्मणीले बालिकालाई दूध चुसाएर स्याहारसुसार गर्न लागिन् । सीताजीको उत्पत्ति हुँदा राजा जनकलाई जुन आनन्द भएथ्यो, शिवभट्ट ब्राह्मण र सती ब्राह्मणीलाई पनि त्यस्तै आनन्द प्राप्त भयो । जातक कर्म, छैठी कर्म गरी जब एघार दिन भयो, अनि वेद पढेका विद्वान् ब्राह्मणहरू डाकी आफ्ना शक्ति अनुसार शास्त्र र कुलाचारका आधारमा सूतकशुद्धि (न्वारान) कर्म गराए । गुरु पुरोहितले भने – ‘हे शिवभट्ट ! तपाईं धन्य हुनुहुन्छ । यी बालिका धेरै भाग्यशाली छिन्, सम्पूर्ण लोकले मान्नेछन् । गाईका गोबरबाट उत्पत्ति भएकीले यिनको नाम गोमा भयो । यो नाम लोकमा प्रख्यात हुनेछ । यिनलाई सबैले सधैं सम्झनेछन् ।’ शिवभट्ट ब्राह्मणले पनि गुरुहरूका आशीर्वादरूपी वचन सुनेर खुसी भई उहाँहरूलाई श्रद्धापूर्वक भोजन र दक्षिणाले सन्तुष्ट गराएर विदा दिए । गुरुहरू पनि आआफ्ना आश्रममा गए ।

हे अगस्त्य मुनि ! तहाँउप्रान्त गोमा बालिका शुक्लपक्षका चन्द्रमा झैं बढी पाँच वर्षकी हुन पुगिन् । एकदिन उनका बाबाआमाले ‘हे छोरी गोमा ! हामी गङ्गास्नान गरी आउँछौं । तैंले पूजाको सामान तैयार गरी अक्षता पनि केलाई राखेस्’ भनी अह्राई ती दुबै स्त्रीपुरुष गङ्गाजीतर्फ गए । उनीहरूको नित्य गङ्गामा जाने र वहाँ गएर स्नान गरी हरिहरको पूजा र सुवर्ण, वस्त्र र अन्न आदि दान गरेर आउने नियम थियो । ती दुई ब्राह्मण दम्पतीका यस्ता सत्कर्मका पुण्य प्रभावले गर्दा अमरावती कम्पायमान हुन लाग्यो । यो देखेर डराएका इन्द्रादि तेत्तीस कोटि देवताहरू कैलाश पर्वतमा पुगी महादेवका शरणमा गई बिन्ती गर्न लागे – ‘हे स्मरहर ! मर्त्यमण्डलका दक्षिणकोणमा ब्रह्मपुर नामको एउटा नगर छ । त्यहाँ शिवभट्ट र सती नाम गरेका एक जोडा ब्राह्मण दम्पती छन् । ती दुई स्त्रीपुरुष मिली हजुरका पुत्र गणेशको सेवा गरेर उनलाई रिझाई अनगिन्ती धनसम्पत्ति पाएका छन् । ती ब्राह्मण दम्पत्तिले त्यो धनलाई पुण्य कमाउने काममा लगाए । तिनले नित्य गङ्गामा गएर स्नान गरी हरिहरको पूजा गरी सुवर्णादि दान गरेर मात्र घरमा आउने नियम बनाएका छन् । हे प्रभु ! तिनीहरूले गरेका दानधर्मका प्रभावले अमरावती हल्लियो । हे करुणावतार ! ती ब्राह्मणले गणेशका वरप्रसादले सम्पत्ति पाए पनि सन्तान पाएका थिएनन्, तर फेरि पनि गणेश प्रसन्न हुनुभई बत्तीसै लक्षणले युक्त भएकी, परम तेजस्वी, अत्यन्त सुन्दरी एक पुत्रीको पनि वरदान दिनुभयो । हे परमेश्वर ! अब हजुरबाट हाम्रो रक्षा नभएमा हामी अमरावतीबाट पतन हुनेछौं । हे नाथ ! अब हाम्रो उद्धार गरिबक्सियोस् ।’ यो सुनी महादेवले देवताहरूलाई आश्वासन दिनुभयो – ‘हे इन्द्रादि देवता हो ! म रक्षा गरुँला । तिमीहरू निर्धक्क भएर अमरावती फर्क ।’ महादेवको आज्ञा सुनी खुसी हुँदै इन्द्रादि देवताहरूले ‘हवस्’ भनी साष्टाङ्ग प्रणाम गरी आआफ्ना लोकतर्फ फर्किए ।

देवताहरू गएउप्रान्त महादेवले इन्द्रको रक्षाका निम्ति जटाको मुकुट बनाई, भिक्षुकको रूप लिई, शरीरभर भष्म लेपन गरी, बायाँ हातमा त्रिशूल लिएर, दायाँ हातले डमरु बजाउँदै शिवभट्ट ब्राह्मणका घरमा भिक्षा माग्न पुग्नुभयो । त्यसबखतमा गोमा पूजाका निम्ति अक्षता केलाउँदै थिईन् । महादेवले पनि बलेंसीमा उभिई ‘अलख निरञ्जन’ भनी अलख जगाए । भित्रबाट गोमाले ‘हे भिक्षुक ! मेरा बाबा महतारी गङ्गा स्नान गर्न जानुभएको छ । म पनि पूजाका अक्षता केलाउन थालेकी छु । यसकारण भिक्षा दिने अर्को छैन । एकैछिन पर्खनुहोला । म छिटो आउनेछु’ भनी पर्खाएर थोरै वेरपछि भिक्षा लिएर दैलाका बाहिरपट्टि सिकुवामा आईन् र भनिन् ‘हे भिक्षुक ! अक्षता केलाउन लाग्दा ढिलाई हुन गयो । यो भिक्षा लिनुहोस् ।’ भिक्षुकरूपी महादेवले भन्नुभयो – ‘हे बालिके ! द्वारमा आएर अलख जगाउने भिक्षुक, योगी, सन्यासीलाई पर्खाउने तेरा पितृकुलको कुन धर्म हो ? अघि तैंले केलाएका पूजाका अक्षता दिए लिन्छु, तर यो तैंले दिन ल्याएका भिक्षा मलाई चाहिँदैन ।’ भिक्षुकको कुरा सुनी बालिका गोमाले पनि मुख फर्काइन् र भनिन् – ‘लिने भए यही भिक्षा लेऊ । मेरा बाबाले पूजा गर्नका निम्ति मैले केलाएका अक्षता भने म दिन्न ।’

हे अगस्त्य मुनि ! धन सम्पत्तिका मदले मात्तिएर शिवभट्ट ब्राह्मण र सती ब्राह्मणीले कर्तव्य बिर्सिएर पतन हुँदै जालान् भन्ने विचारले भएभरका कुरा थाहा हुँदाहुँदै पनि लोकलाई आफ्नो महिमा बुझाउनका निम्ति भिक्षुकरूपी महादेवले गोमा कन्यासित भन्नुभयो – ‘हे ब्राह्मण कन्या ! तैंले आफ्ना अहङ्कारले गर्दा मैले मागेको भिक्षा दिइनस् । अब म तँलाई चारवटा श्राप दिन्छु । तेरो सातवर्षको उमेर हुँदा सत्तरी वर्षका बुढासित बिहे होस् । सिद्धिविनायकका कृपाले पाएको तेरा बाबामहतारीका सम्पत्तिको नाश होस् । तैंले नाना प्रकारका दुःख भोग्नु परोस् । तेरा बाबाआमाको तँबाट छिट्टै बिछोड होस् ।’ यत्ति भनी भिक्षुकरूपी महादेव त्यहाँ नै अन्तर्धान भई कैलाशमा पुग्नुभयो ।

 

इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां गोमाकन्या-श्रापप्राप्तिर्नामैकोनविंशोऽध्यायः ।।

 

ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्

दिनकरकिरण निबोधितनवनलिनदलनिभेक्षणः कृष्णः ।।

काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।

देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।

अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।

निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।

तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।

तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता

या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।

या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता

सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।

कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।

करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।

अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।

समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।

ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।

खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।

चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।

सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।

ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

 

तपाईको प्रतिक्रिया