कोशीटप्पुमा चराको बासस्थान मासिँदै

इटहरी, ४ माघ / घुमन्ते चराहरूका लागि उपयुक्त मानिँदै आएका बासस्थान मासिँदै गएपछि आसपास क्षेत्रका सिमसार क्षेत्रमा चराहरू बढी देखिन थालेका छन् ।
विश्व रामसार सूचीमा पहिलो पटक सूचीकृत नेपालका सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेको बासस्थान अतिक्रमण र बाढीजस्तो समस्याका कारण आवश्यक उपभोग्य वस्तु अभावले घुमन्ते चरा प्रभावित बनी अन्यत्र सर्न थालेको पाइएको छ ।

दुर्लभ र अति दुर्लभ चराको विचरणस्थल मानिएको कोशीटप्पुको वन्यजन्तु आरक्ष अतिक्रमणका चपेटामा परेपछि हिउँदमा पाहुनाका रुपमा आरक्षमा आई बसोवास गर्ने चराहरू आरक्ष आसपासका अन्य सिमसार क्षेत्रतिर जान थालेको आरक्षण स्रोतले जनाएको छ ।

नेपालमा सबैभन्दा धेरै ५२७ प्रजातिका चराको बासस्थान कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र हो । विचरणस्थल प्रभावित बनेपछि सुनसरीको बर्जुताल तथा मोरङका बेतना र हसिना सिमसार एवं इटहरीको तालतलैया क्षेत्रमा समेत चराको आगमन बढ्दै गएको चराविद्ले बताएका छन् ।

आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार सिंहले सप्तकोशी नदीमा आएको बाढीपछि धेरै चरा बस्ने बासस्थानमाथि अतिक्रमण बढेका कारणले पनि घुमन्ते एवं साइबेरियाली चरा आएर बस्ने सङ्ख्यामा कमी आएको स्वीकार गर्नुभयो ।

कोशीटप्पुमा पिंटेल, मलर्ड, गजु, रेडिसियल डक, बारहेडेड गुजलगायत पाहुना चरा आउने गरेका छन् । चराविज्ञका अनुसार कतिपय पाहुना चरा कोशीटप्पुमा आएर बच्चा कोरली हुर्काएर जाने गर्छन् । पछिल्लो केही वर्षयता घुमन्ते चराहरू बच्चा कोरल्ने कामभन्दा पनि ज्यान बचाउन बासस्थान खोजीमा रहने भएकाले त्यस्ता चरा आउन छाडेको पाइएको बताइएको छ । कोशी बर्ड सोसाइटीका अनुसार यस वर्ष जलहाँस बढी देखिएका छन् । ताल सरसफाइका लागि करोडौं रुपियाँ खर्चे पनि काम नभएको तथा काम कागजमा मात्रै सीमित भएको र भ्रष्टाचार मौलाएको आरोप लाग्दै आएको छ ।

आरक्षमा यस पटक २३ वर्षपछि राजगरुड देखा परेको बताइएको छ । यस्तै १७ वर्षपछि ग्रेटर ह्वाइट फ्रन्टेड गुज तीन वटा देखिएको छ । यो हाँस प्रजातिको आगन्तुक चरा हो । अघिल्लो वर्ष बर्जु तालमा २० वर्षपछि कम्ब डक भेटिएको मध्यवर्ती क्षेत्र विकास समितिका सचिव भीष्म अधिकारीले बताउनुभयो ।

सुनसरीको चिमडीस्थित बर्जु ताललाई संरक्षण गरिएपछि यस क्षेत्रमा पनि चरा आउने क्रम बढेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षका अनुसार गत वर्षभन्दा यस वर्ष कोशीटप्पुमा चराहरूको विचरण सुरक्षालाई ध्यानमा राखेर संरक्षणको काम भइरहेको छ ।

कोशीटप्पुमा पाइने दुर्लभ चरा अवलोकन र अध्ययन गर्न विभिन्न मुलुक र स्वदेशकै अनुसन्धानकर्ता पनि भेला हुने गरेका छन् । बासस्थान संरक्षण गर्दै चराको दैनिकीमा बाधा पुग्ने गतिविधि नियन्त्रण गर्न सके चराहरूको संरक्षणका लागि पर्यटक आकर्षण गर्न सकिने संरक्षणमा सम्बद्ध पदाधिकारीले बताएका छन् ।

तपाईको प्रतिक्रिया