स्वस्थानी व्रतकथा, भाग – १४ (तारकासुर दैत्यको बध)

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! अब म तिमीलाई गणेश र कुमारको उत्पत्ति भएको र तारकासुर विनाश भएको कथा सुनाउँछु । महादेव र पार्वती माता कैलाशमा आनन्दसाथ रहँदै जाँदा बस्दै जाँदा एकदिन पार्वती माताले शरीरमा बुकुवा घस्ता निस्केका मयलको मूर्ति बनाई द्वारपाल बनाई राख्नुभएको थियो । त्यस बखत महादेव बाहिर जानुभएको थियो । फर्किएर घरमा आउँदा त्यो द्वारपालले भित्र जान दिएन । यो देखेर महादेवले क्रोधित भई त्यसको शिर काटी भित्र प्रवेश गर्नुभयो । महादेवलाई देखी ‘हजुरलाई ढोकामा कसैले रोकेन ?’ भनी सोध्नुभयो ‘रोक्न त खोज्दै थियो तर त्यसको शिर काटिदिएर आएँ’ भनी महादेवले भन्नुभयो । यो सुनी पार्वतीले ‘हे भगवन् ! त्यो त मेरो पुत्र हो, बडो विघ्न पर्न गएछ’ भनी करुणा भावले रुन र सुर्ता गर्न लाग्नुभयो ।

यस्तो देखी महादेवले भन्नुभयो – ‘हे पार्वती ! मैले नचिनेकोले गर्दा भूलमा परेछु, तर म उसलाई जसरी भएपनि जीवित पारिदिन्छु । तिमी सुर्ता नगर’ । यसरी पार्वतीको मन बुझाई आफ्ना गणहरूलाई डाकी महादेवबाट आज्ञा भयो – ‘हे गण हो ! तिमीहरू चारै दिशामा जाओ । त्यहाँ पहिले जसलाई दक्षिण सिरानी पारी सुतेको आफ्नासामु देख्छौ त्यसको शिर लिएर आओ’ भनी चन्द्रवाण दिई पठाउनुभयो । गणहरू चारैदिशामा खोज्दै जाँदै थिए । सामुन्नेमा दक्षिण शिर पारी सुतेको एउटा हात्ती देखापर्यो र त्यसलाई चन्द्रवाण प्रहार गरे । वाण गएर हात्तीको घाँटीमा लाग्यो र टाउको शरीरबाट अलग गरिदियो । त्यो हात्तीको शिर लगी गणहरूले महादेवका अगाडि राखिदिँदै भने – ‘हे ईश्वर ! हजुरको आज्ञाअनुसार सर्वप्रथम हामीले दक्षिण मोहडा गरी सुतेको यही हात्तीलाई देख्यौं र शिर लिई आउँदैछौं ।’ त्यसपछि त्यस हात्तीको शिर लगी उक्त द्वारपालको मूर्तिमा जोडिदिनुभयो र त्यस बालकको नाम गणेश भनी राखिदिनुभयो ।

तहाँउप्रान्त महादेव पार्वतीका साथ भुली घरभित्र मात्रै रहन लाग्नुभयो । यो बुझेर इन्द्रले अग्निलाई डाकेर आज्ञा गरे – ‘हे अग्नि ! महादेव पार्वतीका साथ भुलिरहन लाग्नुभएकोले यो ब्रह्माण्डको अब कसले रक्षा गर्ला ? कसरी रक्षा होला ? तिमी गएर वहाँलाई काशिपुरीमा ल्याउनुपर्यो ।’ यस्तो इन्द्र महाराजको आज्ञालाई शिरोपर गरी अग्निले हवस् भनी कैलाश दरबारमा पुगी भित्र जान लाग्दा द्वारपालले रोक्दा भए । अग्निले पनि वायुको रूप लिई ढोकाको माझमा ताला छिराउने प्वालबाट पसी भिक्षुक रूप लिई महादेव पार्वती भएका एकान्त स्थलमा पुगे । अकस्मात् भिक्षुक रूप अग्निलाई देखी क्रुद्ध हुनुभएका महादेवको तृतीय नेत्र खुल्नासाथ अग्नि नाश हुनलागेको देखी जगन्माता पार्वतीका हृदयमा मातृकरुणा उत्पन्न भयो र रिसाएका महादेवलाई शान्त गराउँदै पार्वतीले भन्नुभयो – ‘हे नाथ ! भिक्षा माग्न आएका भिक्षार्थीलाई नाश नगरिबक्सियोस् । अञ्जानमा आएछन् । केही दिऊँ र लिएर जानेछन् ।’ पार्वतीको यस्तो बिन्ती सुनी महादेवले आफ्नो वीर्य लिनु भई ‘लौ भिक्षा लैजा’ भनी दिन खोज्दा अग्निले पनि त्यो वीर्य हातमा थापी मुखमा हाली निलेर बाहिर निस्के । यसरी वीर्य निल्नाले अग्निलाई गर्भ रह्यो र साह्रै डराई गङ्गाका तीरमा कुशघारीमा गई निलेको वीर्य उकेली दिए । त्यो वीर्य वनमा आगो बले झैं देखिन थाल्यो । त्यसैबेला सप्तऋषिका पत्नीहरू गङ्गास्नान गर्न त्यहीँ पुगे । उनीहरूले ‘कस्ले आागो फुकेर गएछ, हामी पनि ताप्न जाऊँ’ भनी जान खोजे तर एउटीले चाहीँ ‘अर्काले बालेको आगो ताप्न हुन्न’ भनी गइनन् । अरु छ ओटीले भने त्यहाँ गएर तापी आएर सातैओटी घर गए । ती आगो ताप्ने छ ओटीलाई भने गर्भ रहिसकेको थियो । तिनका पतिहरूले थाहापाई गर्भ रहेको कारण सोधे । ती छ ओटी ऋषिपत्नीहरूले कुनै जवाफ दिन सकेनन् र क्रोधित भएर ऋषिहरूबाट श्राप पाए । यसरी श्राप पाएका छ ओटी ऋषिपत्नीहरूले गङ्गामा गएर अफ्नो पेटको वीर्य उकेली आकाशमा गएर षट्कृतिका भएर रहे । आगो ताप्न नजाने एउटी ऋषिपत्नी अरुन्धती भने आफ्ना पति वशिष्ठका साथमा नै रहिन् । उता छ ओटीले उकेलेका त्यस वीर्यबाट ६ मुखको बालक उत्पत्ति भई गङ्गाका पुत्र कुमार हुन गई महादेवका साथमा रहन लागे ।

कुनै एकदिन महादेवबाट गणेश र षट्मुख कुमारलाई आज्ञा भयो – ‘हे गणेश ! हे कुमार ! तिमीहरू सुमेरु पर्वत भएका ठाउँमा जाऊ र त्यसको परिक्रमा गरिआऊ । दुई भाईमध्ये जो पहिले आइपुग्छ, त्यसलाई म उत्तम प्रकारको वरदान दिउँला ।’ महादेवको यस्तो आज्ञा सुन्ने बितिक्कै कुमारले ‘हवस् ‘ भनी आफ्ना वाहन मयूरमा सवार भई सुमेरु पर्वतको परिक्रमा गर्न गए । गणेश भने ‘अब के गरुँ ? कसो गरुँ ?’ भनी मनमा पीर मानी कुमार गएतिर हेर्न लागे । गहिरो चिन्तामा डुबेका गणेशलाई उनका प्रिय वाहन मुसाले अघिसरी बिन्ती गर्यो – ‘हे विनायक ! हजुरलाई मनमा केही पीरकष्ट भए झैं लाग्यो, के भयो ?’ गणेशले यो सुनी महादेवबाट आज्ञा भएका कुरा र षट्मुख कुमार मयूरमा सवार भई सुमेरु पर्वत परिक्रमा गर्न गएको वृत्तान्त बताउँदै भने – ‘खोइ के गर्नु र ? तँ बाहन भने त्यत्ति सानो, म भने यत्ति ठूलो भूँडी र लामो सुँडले युक्त छु । अब के उपाय गर्नु ?’ मालिकको करा सुनेर मुसो बोल्यो – ‘हे गणेश ! मसित एउटा बुद्धि पलायो । कसो हुन्छ सुनिबक्सियोस् । महादेव, पार्वती र गङ्गा बसेका ठाउँमा गएर नम्रताका साथ हात जोडी ‘हे पिता ! हे माता ! मेरा निम्ति सुमेरु पर्वत भनेका र सम्पूर्ण देवता भनेका हजुरहरू नै होइबक्सन्छ’ भनी तीनपल्ट परिक्रमा गरी दण्डवत् गरिबक्सियोस् । सुमेरु भनेका नै मातापिता हुन्, यत्ति गर्नाले त्यो विशेष वरदान हजुरलाई नै प्राप्त हुनेछ ।’ मुसाले भनेका वचन सुनी गणेश अति खुशी हुँदै मुसालाई धन्यवाद दिँदै भन्न लाग्नुभयो – ‘साह्रै राम्रो कुरा गरिस्, हे मुसा ! सानो भनेर हुँदैन, तेरो बुद्धि धन्य छ ।’ यति ज्ञान पाएका गणेशले मुसाले भने झैं गरी तीनपल्ट महादेव, पार्वती र गङ्गाको परिक्रमा गरे । त्यो देखी महादेव खुशी भई भन्न लाग्नुभयो – ‘हे गणेश ! तिमी धन्य रहेछौ । मातापिता नै सुमेरु पर्वतसमान हुन् र तिमीदेखि म अत्यन्त प्रसन्न भएँ । अब उप्रान्त स्वर्ग, मर्त्य, पाताल तीनै लोकमा कसैले कुनै कार्यको आरम्भमा पहिले तिम्रो पूजा नगरी गरेको कार्य सिद्धि नहोओस् । म तिमीलाई यही वरदान दिन्छु ।’

धेरै समय बित्दा पनि सुमेरु पर्वत परिक्रमा गर्न गएका षडानन आई नपुगेकाले माता गङ्गाले महादेवमा बिन्ती गर्न लाग्नुभयो – ‘हे ईश्वर ! यता गणेशले वरदान पाइसके, मेरो पुत्र भने अझै किन आइपुगेन ?’ गङ्गाका वचन सुनी महादेवबाट आज्ञा भयो – ‘हे गङ्गे ! तिमीले स्वस्थानी परमेश्वरीको व्रत गर, तब तिम्रो पुत्र षट्मुख कुमार आइपुग्ला ।’ महादेवको यस्तो आज्ञा पाई व्रतका सम्पूर्ण विधि सोधेर पौष शुक्ल चतुर्दशीका दिन हात गोडाका नङ काटी, पूर्णिमाका दिनदेखि नित्यस्नान गरी, एकभक्त रही ‘मेरो पुत्र कुमार चाँडै आइपुगोस् ‘ भनी विधिपूर्वक स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गरी माघ शुक्ल पूर्णिमाका दिन व्रतको साङ्गे (व्रत वा यज्ञयज्ञादिको समापनको समय) मा १०८/१०८ प्रसादका भागहरूबाट आठ/आठ भागहरू ‘मेरो पुत्र कुमार चाँडै आइपुगोस्’ भनी प्रसाद पुत्रलाई दिन भनी छुट्याएकै समयमा स्वस्थानी परमेश्वरीका व्रतको प्रभावले सुमेरु पर्वत परिक्रमा सकी कुमार टुप्लुक्क दैलामै आइपुगे । गङ्गाले अति हर्षित हुँदै ‘धन्य स्वस्थानी परमेश्वरी’ भनी पुत्रलाई प्रसाद दिईन् । अनि कुमारले महादेवछेउ गई साष्टाङ्ग प्रणाम गरी बिन्ती गरे र भने – ‘हे पिता ! मलाई पनि वरदान प्राप्त होस् ।’ तब महादेवले ‘हे कुमार ! स्वर्ग, मर्त्य, पाताल तीनै लोकमा कसैको केही कार्य गर्दा पहिले तिम्रो पूजा नगरी गरेको कार्य सिद्ध हुनेछैन’ भनी वरदान दिनुभयो ।

यत्ति कुरा कुमारबाट सुनिसकेपछि अगस्त्य मुनि विन्ति गर्नुहुन्छ ‘हे स्कन्द कुमार ! जतिबेला महादेवले सतीदेवीलाई सम्झी बौलाहा जस्तो भएर हिँड्नु भएथ्यो । त्यही अवसर छोपी तारकासुर दैत्यले देवताहरूलाई अमरावतीबाट हटाई इन्द्राणीसहित आफ्नो अधीनमा पारेको थियो । इन्द्रादि देवता पनि तारकासुरको शक्ति देखी डराई भागेर पशुपतिस्थानको मृगस्थलीमा आई बसेका थिए । यो कथा मैले तपाईंका मुखबाट ( एघारौं अध्यायमा) सुनिसकेको थिएँ । अब म तारकासुर दैत्यका बारेमा अरु जान्न चाहन्छु । तारकासुर दैत्यले कसको तपस्या गरेर वरदान प्राप्त गरेर अमरावती लिएको हो ? फेरि उसलाई कसले ? कसरी मारिदियो ? इन्द्रले आफ्नो स्वर्गको रजाईलाई फेरि कसरी प्राप्त गरे ? यी सम्पूर्ण कुराको वृत्तान्त सुन्न पाऊँ ।’ अगस्त्य मुनिका यस्ता प्रश्न सुनी कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगस्त्य मुनि ! कश्यप पुत्र तारकासुरले दुग्धप्रभा नाम गरेको तीर्थमा स्नान गर्न गएका बखतमा पेची मुनिले त्यहाँ तपस्या गरेको देखी आफूलाई पनि तपस्या गर्ने इच्छा भयो र पेची मुनिसँग सोध्यो – ‘हे मुनिवर ! तपाईंले यसरी तपस्या गरेको देख्दा मलाई पनि तपस्या गर्ने इच्छा जाग्यो । मलाई पनि तपस्या गर्ने क्रम वताइदिनुहोस् ।’ तारकासुरको इच्छा बुझी पेची मुनिले भने – ‘हे दैत्य ! तँलाई तपस्या गर्ने मन भएछ । अब तैंले यो दुग्धप्रभा नाम गरेको तीर्थका शिरमा रहेको हिमालय पर्वतमा गई तपस्या गर्नु ।’

पेची मुनिबाट यस्तो उपदेश पाएको तारकासुर दैत्य त्यहाँबाट हिमालय पर्वतमा गई एक हजार वर्षसम्म ठूलो कष्ट सही घोर तपस्या गर्यो । यस तरहको तपस्या देखी ब्रह्माजी प्रसन्न भई – ‘हे तारकासुर ! तेरो तपस्याबाट म सन्तुष्ट भएँ । मनमा जे इच्छा छ सो वर माग ‘ भन्ने आज्ञा भयो । ब्रह्माको दर्शन पाई हर्षले गदगद हुँदै साष्टाङ्ग दण्डवत् प्रणाम गरी तारकासुरले भन्न लाग्यो – ‘हे पितामह ! हजुरको दर्शन पाएर म धन्य भएँ । वरदान माग भनी हजुरबाट आज्ञा भयो । सो म के माग्छु भने हजुरबाट सृष्टि भएका प्राणिमध्येबाट पाँचवर्ष उमेर नाघेका कसैबाट पनि मेरो मृत्यु नहोस् । फेरि जसले मेरो शिर भूमिमा गिराउला उसको पनि शिर फुटेर मृत्यु होस् । मैले सम्पूर्ण इन्द्रादि देवतालाई परास्त गर्न सकूँ ‘ तारकासुरले मागेको यो वरदानलाई ब्रह्माले ‘तथास्तु ‘ भन्नुभयो र आफ्नो ब्रह्मास्त्र पनि दिनुभई अन्तर्धान हुनुभयो । मनले चाहना गरेअनुसारको वर पाएको तारकासुर दैत्यले आफू वलवान् भएर अर्कालाई तृणबराबर पनि नठानी, सारा दैत्यगण साथमा लिई स्वर्गको अमरावती पुगी इन्द्रादि देवतालाई युद्धका निम्ति ललकार्यो । कोटिकोटि दैत्यहरू लिएर तारकासुरले आफूहरूसँग जाइलाग्न आएको देवताका राजा इन्द्रले देखी आफ्ना पनि तेत्तीस कोटि देवता जम्मा गरी आआफ्ना शस्त्रअस्त्रले सुसज्जित भई युद्धका निम्ति अघि सरे । युद्धको मैदानमा घनघोर युद्ध भयो । देवताहरूले दैत्यपट्टिका करोडौं सेनाको संहार गरे । आफ्ना धेरै सेनाको नाश भएको देखी तारकासुर दैत्यले आफ्ना गुरु शुक्राचार्यसित गई बिन्ती गर्यो – ‘हे गुरुदेव ! देवताहरूले हाम्रो दैत्य सेनाको ठूलो सङ्ख्यामा नाश गरिदिए, तपाईंले उद्धार गरिदिनुपर्यो ।’ यो कुरा सुनी गुरु शुक्राचार्यले युद्धका मैदानमा आई सञ्जीवनी विद्या पढी पानी छर्किदिए । पानीका छिटा पर्नासाथ अघि मरेका सकल दैत्यहरू ब्युँझिएर फेरि युद्ध गर्न अग्रसर भए ।

आफूले मारेका दैत्यहरूलाई फेरि बचाइएको देखी क्रुद्ध भएका देवेन्द्र ऐरावत हात्तीमा चढी वज्र प्रहार गर्दै अनेक तरहसँग युद्ध गर्न लागे । दशहजार वर्षसम्म घनघोर युद्ध चलिरह्यो । दुबै पक्षका कोटिकोटि सेनाहरू मरे । दैत्यहरूपट्टि चाहिँ मर्नासाथ गुरु शुक्राचार्यले ब्युँझाइदिने र देवतापट्टिको चाहिँ मरेका मरेकै हुने हुँदा सकल देवता सहित देवराज इन्द्र त्यहाँबाट भाग्न थाले । त्यसैबेला देवगुरु वृहस्पति आई भन्नुभयो – ‘हे इन्द्र महाराज ! यो सङ्ग्राममा तपार्इंको जीत असम्भव छ, किनभने अघि तारकासुर दैत्यले एक हजार वर्षसम्म कठोर तपस्या गरी ब्रह्मालाई खुशी गराएर ‘ब्रह्माबाट सृष्टि भएका प्राणिमध्ये पाँच वर्ष उमेर नाघेका कसैबाट पनि उसको मृत्यु नहुने र जसले उसको शिर भूइँमा गिराउला, त्यसको पनि शिर फुटेर मृत्यु हुने’ वरदान पाएको छ । यसकारण अब तपाईंहरू महादेवका शरणमा जानुहोस् ।’ हे अगस्त्य मुनि ! तब गुरु वृहस्पतिका कथनअनुसार देवताहरू आएर मर्त्यलोकको पशुपतिस्थानको मृगस्थलीमा आएर लुकेर बसेका थिए । उनीहरूले महादेवलाई भेट्न नसकेर त्यहाँ बसेका थिए । किनभने त्यसबेला महादेव सतीदेवीका वियोगले बौलाहाजस्ता भएर हिँड्नु भएको थियो । कालान्तरमा हिमालय पुत्रीको रूपमा सतीदेवीको जन्म भएर पार्वती नाम रहन गई महादेवको आराधना गरी शिव/पार्वतीको विवाह भएको थियो । जुन पुण्यकथा मबाट तपाईंले सुनिसक्नु भएको छ । शिवपार्वतीबाट गणेश र कुमारको जन्म नहुञ्जेल धेरै समयसम्म इन्द्रादि देवता पशुपतिस्थानको मृगस्थलीमा नै लुकेर बसेका थिए । यसरी देवताहरू भागेर गएपछि दैत्यराज तारकासुरले स्वर्ग, मर्त्य, पाताल तीनै लोकको रजाईं गरी परम आनन्दले रहँदो भयो ।

धेरै कालपछि एकदिन देवराज इन्द्रले तेत्तीस कोटि देवताहरूलाई डाकी भने – ‘हे देवता हो ! तारकासुर दैत्यले अमरावती रजाईं गरेको र हामीलाई यसरी दुःख दिएको धेरै काल भयो । अब त्यस पापिष्ठको संहार गरी हामीले आफ्नो अमरावती फर्काउनु पर्छ । गुरु वृहस्पतिको आज्ञाअनुसार अब हामी महादेवका शरणमा जाऔं । महादेवका गणेश र कुमार दुई पुत्र जन्मिएका छन् र ती दुईबाट हाम्रा शत्रु तारकासुरको नाश हुनेछ । अब गएर महादेवसित बिन्ती गरौं’ भनी तेत्तीस कोटि देवताका साथ गई महादेवमा बिन्ती चढाउन कैलाश पुगेका इन्द्रले महादेवलाई साष्टाङ्ग प्रणाम गरी ‘हे नीलकण्ठ ! पापिष्ठ तारकासुरले इन्द्राणीसहित अमरावती हामीबाट खोसेर हामीलाई दुःख दिएको धेरै काल भयो । अब त्यसको संहार गरी हाम्रो उद्धार गरिबक्सियोस्’ भनी बिन्ती गरे । यस्तो बिन्ती सुनिसकेपछि शम्भुले भन्नुभयो – ‘हे इन्द्रादि देवगण हो ! तारकासुर दैत्य मबाट मारिँदैन । तर मेरो पुत्र कुमारले भने मारिदिनेछ । देवता, यक्ष, गन्धर्व आदि सबैले कुमारलाई सेनापतिको पदमा राखी युद्धभूमिमा जाओ । म पनि आउनेछु ।’ यस्तो महादेवको आज्ञा सुनी सो आज्ञालाई शिरोपर गरी महादेवमा साष्टाङ्ग प्रणाम गरी सम्पूर्ण देवता, यक्ष, गन्धर्व, भूत, प्रेत, प्रमथगण सहित भई कुमारजीका सेनापतित्वमा तारकासुर दैत्यसँग युद्धका निम्ति भगवान् शिवको पिनाक धनु लिई प्रस्थान गरे ।

गणेशलाई युद्धमा लिई जान देवताहरूले बिर्सिएका हुँदा गणेशले आफ्नो वाहन मुसोसित भन्नुभयो – ‘हे मुसा ! लौ हेर त महादेवबाट मैले पाएको वरदानलाई देवताहरूले अपमानित बनाए ।’ आफ्ना मालिकका यस्ता कुरा सुनी मुसाले भन्यो – ‘हे गणनाथ ! उनीहरूले अन्यथा गरेका होइनन् । अवश्य पनि हजुरलाई भन्न बिर्सिएका छन् । म गई सम्झाई आउनेछु ।’ भनी तुरुन्त गई पिनाक धनुको ताँदो काटिदियो र फर्की आयो । इन्द्रादि देवताहरूले जब पिनाक धनुको ताँदो काटिएको देखे तब बडो खेद मान्दै भन्न लागे – ‘अहो ! यो केबाट यस्तो विघ्न हुनगयो ? हाम्रो साइत बिग्रियो । अब कुन उपाय गर्ने हो ?’ यो सुनी महादेवबाट आज्ञा भयो – ‘हे देवता हो ! अन्यथा नठान ! तिमीहरूले गणेशलाई जाऊँ भन्न बिर्सियौ कि कसो ? उनलाई साथमा नलिए काम सफल हुँदैन । यसर्थ गणेशलाई पनि साथ लैजानुपर्छ ।’ महादेवको आज्ञा सुनी इन्द्रादि देवताहरूले गणेशलाई पनि साथ लिई तारकासुर दैत्यसँग युद्ध गर्नका निम्ति अमरावती पुरी गए । त्यहाँ देवता र दैत्यहरूको परस्पर घोर घमासान युद्ध प्रारम्भ भयो । तारकासुर दैत्यले कुमारको रथ घचेटेर एक योजन पछि हटायो । कुमारले पनि क्रुद्ध भएर तारकासुरको रथलाई त्यसै गरी चार योजन पछि हटाइदिनुभयो । यो देखी क्रोधले आकुल भएको तारकसुरले कुमारमाथि खड्ग प्रहार गर्यो । आफूमाथि खड्ग प्रहार गरेको देखी कुमारले धनुको ताँदोलाई कानसम्म खिँची तारकासुरको मुन्टोलाई लक्ष्य गरी चन्द्रवाण प्रहार गर्नुभयो । त्यो वाणले दिनको सूर्यास्त हुनु र तारा नदेखिनु ठीक सन्ध्या समयमा तारकासुरको शिर चुँडायो । त्यो देखी हतारसाथ महादेव पुगी त्यो दैत्यको शिर भूमिमा गिर्न नपाउँदै बीचमा नै समाउनुभयो । तारकासुरको त्यो अवस्था देखेर दैत्य सेनाहरू दशै दिशातिर भागेर आआफ्ना प्राण बचाउन तिर लागे । त्यसपछि इन्द्रादि सम्पूर्ण देवताहरू कुमारको जयगान गर्दै ‘धन्य धन्य कुमार ! ‘ भन्दै उनलाई अघि लगाई कैलाश पर्वतमा पुगे ।

त्यहाँ पुगेपछि इन्द्रादि देवताहरूले महादेवमा बिन्ती गरे – ‘हे जगदीश्वर ! हजुरका कृपाले शत्रुको नाश गरी आइपुग्यौं । अब आज्ञा पाएमा हामी अमरावती पुरीमा जाने थियौं ‘ यो बिन्ती सुनेर महादेवले इन्द्रलाई भन्नुभयो – ‘हे इन्द्र ! तिम्रो राज्य अब कहिल्यै कसैले जित्न सक्ने छैन र अकण्टक रहनेछ ।’ यो सुनी अति प्रसन्न भएका इन्द्रसहित तेत्तीस कोटि देवताले महादेवलाई साष्टाङ्ग दण्डवत् प्रणाम गरी अमरावतीमा गएर आनन्दले राज्य गर्दा भए ।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां श्रीगणेश-कार्तिकेययोः जन्म-तारकासुर-दैत्य-बधश्च-वर्णनं नाम पञ्चदशोऽध्यायः ।।

ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्

दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।

काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।

देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।

अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।

निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।

तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।

तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता

या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।

या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता

सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।

कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।

करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।

अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।

समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।

ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।

खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।

चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।

सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।

ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

ज्योर्तिबिद तथा बास्तुविद कोइराला पिण्डेश्वर बिद्यापिठ धरानमा सहप्राध्यापक हुनुहुन्छ । उहाँ पूर्वेली न्जुजका स्तम्भकार समेत हुनुहुन्छ ।

कृष्ण प्रसाद काेइरालाबाट थप

राशिफल / वि.सं. २०७५ वैशाख १२ गते बुधबार

राशिफल / २०७५ वैशाख ११ गते मङ्गलबार

आजको राशिफल / २०७५ वैशाख १० गते सोमबार

साप्ताहिक राशिफल (वैशाख ०९ देखि १५)

राशिफल / वि.सं. २०७५ वैशाख ०८ गते शनिबार

राशिफल / वि.सं. २०७५ वैशाख ०७ गते शुक्रबार

राशिफल / वि.सं. २०७५ वैशाख ०५ गते बुधबार

साप्ताहिक राशिफल / २०७५ वैशाख ०२ देखि ०८ गतेसम्म

आमाको मुख हेर्नु अघि एकपटक पढ्नै पर्ने – किन आमाको सम्मान गर्ने ?

तपाईको लागि २०७५ शुभ की अशुभ ?

तपाईको प्रतिक्रिया