स्वस्थानी व्रतकथा, भाग – १३ (शिव र पार्वतीको विदाइ)

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! त्यसपछि पार्वतीले श्री स्वस्थानी परेमेश्वरीका प्रसादहरु एक सय आठ, एक सय आठका दरले राखिएका थालीहरुबाट आठ रोटी, आठ अक्षता, आठ वेलीपुष्प, आठ पान, आठ कुड्का सुपारी सगुन समेत ल्याई ‘हे स्वामी ! अब मेरो तपस्या र व्रत पूर्ण भयो, मैले सानै उमेरदेखि नै हजुरलाई स्वामी पाऊँ भनी दृढ सङ्कल्प लिएकी थिएँ, सो आज मैले पाउन सकेँ’ भनी महादेवका हातमा प्रसाद चढाई साष्टाङ्ग दण्डवत् प्रणाम गरेर फेरि भनिन् – ‘हे आदिपुरुष ! श्री स्वस्थानी परमेश्वरीका व्रतका प्रभावले मेरो मनोकामना सिद्ध भयो, मैले हजूरलाई स्वामी पाएँ, हे प्रभु ! यो ब्रह्माण्डभित्रका कोही दुःखी छन्, कोही दरिद्री छन्, कोही पापी छन्, कोही निःसन्तान छन्, कोही विनास्त्रीका छन् त कोहि विनापुरुषका छन् । यसरी धेरैले दुःख पाएका छन् । यसकारण तिनको उद्धारका निम्ति श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रकाश गरिदिन पाए लोकको उद्धार हुने थियो भन्ने मलाई लागेको छ । यो कसो गर्दा होला ? मलाई उपाय गरिबक्सियोस् ।’

पार्वतीका यस्ता दयाले भरिएका वचन सुनी महादेवबाट आज्ञा भयो – ‘हे पार्वती ! तिमीले दुःखी दरिद्रीमाथि दया गरी तिनका दुःखहरण गर्ने जुन उपाय सोध्यौ, त्यो बताउँछु । तिमीले अहिले नै अश्वत्थामा ऋषिलाई डाकेर रसातल पातालमा पठाऊ । वहाँ गएर उनले सो व्रत प्रकाश गरिदिने छन् । महादेवबाट यो आज्ञा भएपछि पार्वतीले अश्वत्थामा ऋषिलार्इ डाक्न पठाउनुभयो । केहीपछि अश्वत्थामा ऋषि आइपुगेर उमामहेश्वरलाई साष्टाङ्ग प्रणाम गरेर आफूलाई डाक्न पठाएको कुराको कारण जान्न निवेदन गरे । खुशी भएकी पार्वतीले अश्वत्थामा ऋषिलाई भन्नुभयो – ‘हे अश्वत्थामा ऋषे ! तपाईंलाई किन डाक्न पठाएकी भने, तपाईं अब रसातल पातालमा जानुहोस् । वहाँ गएर तपाईंले पातालमा जो दुःखी, दरिद्री, पापी, स्त्री नहुने, पुरुष नहुने, सन्तति नहुने र अरु कतिकति कुराले दुःख र सन्ताप भोगिरहेकाहरुलाई देख्नुहुन्छ, ती सबैलाई श्री स्वस्थानी परमेश्वरीको व्रत गर्न सिकाउनुहोस् । जुन व्रतका प्रभावले गर्दा त्यस्ता ती सबैको उद्धार होस् ।’ यति भनिसकेपछि पार्वतीले अश्वत्थामा ऋषिलाई विष्णुले बताउनु भएको सम्पूर्ण व्रतविधिहरु सबै सविस्तार बताउनुभयो । तब अश्वत्थामा ऋषि पनि अत्यन्त खुशी हुँदै श्री भवानीशङ्करलाई साष्टाङ्ग प्रणाम गरी विदा लिई रसातल पातालमा गए । हे अगस्त्य मुनि ! यो कुरा तपाईंलाई अठारौं अध्यायमा अरुपनि बताउँला ।

तहाँउप्रान्त एकदिन महादेवले पार्वती कत्तिको बठ्याईं गर्दी रहिछन् बुझ्नुपर्यो भनी कसैले नदेख्ने ठाउँमा लुक्नुभयो । पार्वतीले महादेवजीलाई वरपर कतै नदेख्दा चित्त आकुल गरी विलाप गर्न लाग्नुभयो । अनेक ठाउँमा खोजी गर्दै जाँदा एकान्त ठाउँमा लुकिरहनु भएका महादेवलाई बल्लतल्ल फेला पार्नुभयो र भन्नुभयो – ‘हे ईश्वर ! तपाईंले मलाई छलेर किन लुक्नु आउनुपर्यो ? के म सुन्दरी भइनँ कि ? मन परिन कि ?’ भन्ने प्रश्न गर्दै आँसु खसाउन थाल्नुभयो । तब महादेवले केही नबोली ‘पार्वतीले मलाई अब यसै छोड्ने भर्इनन् । अब अर्कै रुप लिई वनविहार गर्न जानुपर्यो’ भनी मनमनै विचार गरी त्यहाँबाट अन्तर्ध्यान हुनुभई नेपाल देशको पशुपतिनाथ मन्दिर छेउको श्लेष्मान्तक वनमा गई, किराँतको रुप लिएर शिकारी झैं हिँड्न लाग्नुभयो । महादेवलाई पार्वतीले कतै नदेख्दा मनमा ठूलो चिन्ता लिई मलाई मेरा स्वामीले किन छल्नुभयो ? कहाँ जानुभयो ? भनी मनमा ज्यादै दुःख मानी ध्यानदृष्टिले विचार गरी हेर्दा त महादेवले किराँतको रुप धारण गरी पशुपतिनाथको श्लेष्मान्तक वनमा गई शिकार खेली हिँडेको थाहा पाउनु भयो । अनि पार्वतीले पनि महादेवजीलाई छल्नका निम्ति अत्यन्त राम्री किराँतिनीको रुप लिई श्लेष्मान्तक वनमैं गई एउटा ठूलो वृक्षमुनि बसिरहनुभयो ।

केही समय बितेपछि महादेव पनि घुम्दै फिर्दै त्यहाँ आइपुग्नु भयो र किराँतिनी रुपकी पार्वतीलाई देखी मोहित भई सोध्नुभयो – ‘हे सुन्दरी ! तिमी को हौ ? देवकन्या हौ कि ? यक्षकन्या हौ कि ? नागकन्या हौ कि ? कि तिमी उर्वशी अप्सरा नै हौ कि ? तिमी जस्ती ता यो ब्रह्माण्डभरिमा कोही स्त्री जाति छैनन् होला के ? तिमी झैं सुन्दरी यो संसारभरिमा पाउन दुर्लभ छ ! यस्ती परम सुन्दरी ! त्यसमा पनि तरुनी नारी ! एक्लै यो वनको बीचमा आई किन बस्यौ ? वन्यजन्तु वाघ, हात्तीको कत्तिपनि डर नमानी यस्ता डरलाग्दा ठाउँमा बस्नुको कारण के हो ? मलाई भन ।’ किराँतरुपी महादेवका यस्ता आज्ञा सुनी ‘पक्का पनि मलाई सोध्ने महादेव नै हुन्’ भनी किराँतिनी रुप लिएकी पार्वतीले मनमनै दण्डवत् प्रणाम गर्नुभयो । त्यस वखतमा महादेवको रूप कस्तो थियो भने बायाँ हातमा धनु र दायाँ हातमा त्रिशूल लिनु भएका, वाण राख्ने ठोक्रो काँधमा भिर्नु भएका, सर्पको गहना लगाई डरलाग्दा मूर्ति हुनु भएका किराँत रुपका हुनुहुन्थ्यो । यस्ता किराँतरुप महादेवलाई देखी पार्वतीले बिन्ती गर्नुभयो – ‘हे किराँत ! म यहाँ तपस्या गरी बसेकी छु । यसरी म बसेको धेरै वर्ष भयो । किराँतिनीको जात हुनाले बाघ, हात्ती र अरु कुनै वनचरको मलाई कुनै डर लाग्दैन ।’ यस्ता तरहसित दुई स्त्रीपुरुषको आपसमा अनेक कुराकानी हुँदै दिन बितेको चालै नपाई तुरुन्तै झमक्क साँझ पर्यो ।

तब किराँतरुपी महादेव आज्ञा गर्नुहुन्छ – ‘हे सुन्दरी ! हामी दुईजना एक्लाएक्लै छौं । यसकारण आज यहीँ वास बसौं । हेर, अब रात पर्न लाग्यो ।’ महादेवका यस्ता कुरा सुनी पार्वतीले भन्नुभयो – ‘हे किराँत ! तिमीले ता बडो अनौठो बोले झैं लाग्यो किनभने तिमी पुरुषजाति र म स्त्रीजाति । अनि यस्ता वनका माझमा, कोही अर्को नभएका ठाउँमा कसरी एकै ठाउँमा वास बस्न सकिन्छ ? अर्को कुरा पुरुषजातिको ता उति भर पर्नु पनि ठीक छैन । राम्री स्त्री देखेपछि घरपरिवार सब बिर्सन्छन् । यसर्थ हामी अलगअलग वास बस्नु उचित ठहर्छ ।’ किराँतिनी स्वरुप पार्वतीका कुरा सुनी किराँतरुपी महादेवले – ‘हे किराँतिनी ! तिम्रो सोचाइ मैले बुझेँ, तर तिमीले त्यस्तो अनर्थ सोच्यौ । त्यो कुरा मेरो पेटमा एक रत्ति पनि छैन । तिमीले कुनै डर नमाने हुन्छ ।’ भन्नुभयो र विश्वास दिलाउनु भयो । अनि दुबै किराँत/किराँतिनी रुप लिएका महादेवपार्वती कुनै एक वृक्षका मुनि बास बसे । आजभोलि गर्दै त्यहाँ बसेको पनि निक्कै दिन बितिसकेपछि एकदिन पार्वतीले मनमा ‘सधैं यसै रहेर कत्ति निर्वाह गर्नु ? यी भोलेनाथ ता यत्तिक्कै बसेर पनि टार्न सक्छन् । म ता स्त्री जाति हुँ । मैले ता घरव्यवहारपट्टिको पनि चासो लिनुपर्छ । अरु कुनै उपाय त सोच्नैपर्यो’ भन्ने विचार गर्नुभयो अनि महादेवलाई छलेर एकातिर जानुभयो र आकाशवाणि भए झैं गरी बोल्न लाग्नुभयो – ‘हे ईश्वर ! हजुरले हामीलाई बिर्सिनुभएर यसरी वनविहार मात्र गरिरहनाले हामी ब्रह्मा, विष्णु, इन्द्रादिहरुको दुःखकष्ट कसले टारिदेला ? हे करुणामय ! हे वृषवाहन ! अब कैलाशको याद भए हाम्रो उद्धार हुँदो हो । प्रभु ! हामीले धेरै दुःख पायौं । हजुरबाट हाम्रो रक्षा होस् ।”

यसप्रकारको आकाशवाणि सुनेपछि महादेवले विचार गर्नुभयो – ‘म यहाँ आएर वनविहार गरेको ता कसैले देखेको थिएन । यो आकाशवाणि जस्तो बोल्ने को रहेछ ? सायद देवताहरुले नै पो बोलेका हुन् कि ?’ भनी वरिपरि हेर्दा कोही देख्नुभएन र चूपै रही किराँतिनी रुपकी पार्वतीलाई नदेखी जताततै खोज्न लाग्नुभयो । त्यत्तिक्कैमा पार्वती पनि केही थाहा नपाए झैं गरी रुखका हाँगामा बसी फल टिपी खान लाग्नुभयो । महादेवले खोज्दाखोज्दै भेट्नुभयो र ‘हे सुन्दरी ! तिमी कहाँ गयौ ? तिमीलाई मैले कत्ति ठाउँ खोजिसकेँ, तर भेट्न नसकेर म ता व्याकुल भैसकेको थिएँ’ भन्नुभयो । यो सुनी किराँतिनीरुपी पार्वतीले ‘हे किराँत ! म कहाँ त्यत्ति टाढा गएकी थिएँ र ? भोक लाग्यो र कन्दमूल, फलफुल खान यता आएकी थिएँ’ भन्नुभयो । यस्ता प्रकारका कुराकानी गरिरहँदा र पूर्णिमाको चन्द्रमाभन्दा पनि राम्री पार्वतीलाई देख्दा महादेवको मनोवेग भङ्ग भै किराँतिनी रुपकी पार्वतीलाई समाउन जाई लाग्नुभयो । यो देखेर किराँतिनी रुपकी पार्वतीले डराएझैं गरी भन्नुभयो – ‘हे किराँत ! के तिम्रो धर्म यही हो ? मैले ता महादेव प्रभु बाहेक अरु श्रीमान् बनाउने छैन भनी प्रतिज्ञा गरेकी छु । तिमीबाट अन्यथा भए म तिमीलाई श्राप दिई मर्नेछु । म ठूलो विश्वासमा थिएँ तर तिमी यस्ता रहेछौ ।’ तब किराँतरुपी महादेवले भन्नुभयो – ‘तिम्रो त्यस्तो प्रतिज्ञा छ भने मलाई उनै महादेव भनी जान । वनविहारका इच्छाले यहाँ किराँतरुप भई आएको हुँ । नपत्याए मेरो असली रुप हेर ।’ यत्ति भनी महादेवले आफ्नो ज्योतिःस्वरुपको दर्शन दिनुभयो ।

त्यसपछि किराँतिनी रुपकी पार्वतीले हर्ष मानी महादेवका पाउमा साष्टाङ्ग दण्डवत् प्रणाम गरी बिन्ती गर्न लाग्नुभयो – ‘हे ईश्वर ! हजुर साक्षात् महादेव नै होइबक्सनु हुँदोरहेछ । अब कन्यादान लिन मेरा बाबाआमा भएका ठाउँमा आउनुहोस् ।’ भनी महादेवलाई लिई पार्वती आफ्ना बाबा हिमालयका घरमा जानुभयो । वहाँ पुग्दा श्री महादेवले पार्वतीको असली रुप देखेर आश्चर्य मान्नुभयो । सबै कुरा बुझिसकेपछि लाजले के गरुँ र कसो गरुँ हुँदै अन्तर्ध्यान हुनुभई महादेव फेरि पशुपतिस्थानको श्लेष्मान्तक वनको उत्तर भागमा गई किराँतेश्वर शिवलिङ्ग भई रहनुभयो । श्री महादेवजी अन्तर्ध्यान भइसकेपछि पार्वतीले महादेवलाई नदेख्दा अत्यन्त विलाप गरी ध्यानदृष्टिले हेर्नुभयो, अनि श्लेष्मान्तक वनको उत्तर भागमा किराँतेश्वर शिवलिङ्ग भई रहनुभएको चाल पाउनु भयो, अनि आफू पनि सोही ठाउँमा जानुभयो र पशुपतिस्थानको किनारको पवित्र वागमती नदीमा नित्य स्नान गरी किराँतेश्वर शिवलिङ्गमा जल र अरु जुटेका सामग्रीहरु धूप, दीप, नैवेद्य, अनेकौं मेवामिष्ठान्न आदि चढाई पूजा गरी महादेवको ध्यान गरी तपस्या गर्न लाग्नुभयो । किराँतेश्वर शिवलिङ्गको नित्य सेवा गरी पवित्र वागमती नदीमा स्नान गरी किनारमा बसी तपस्या गरेको ठाउँको नाउँ गौरीघाट भयो, जुन पवित्रस्थल गौरीघाटमा गएर कुनैपनि नरनारीले पवित्र वागमती नदीमा स्नान गरी किराँतेश्वर शिवलिङ्गको दर्शन गर्ला, जलार्पण गर्ला तिनका सबै दुःखकष्ट नाश भइजाला र यो लोकमा अतुल ऐश्वर्य सुख प्राप्त गरी अन्त्यमा कैलाशवास होला ।

हे अगस्त्य मुनि ! पवित्र वागमती नदीका किनारमा पार्वतीले नित्यस्नान, ध्यान, पूजा र तपस्या गरेको देखी किराँतेश्वर महादेवले प्रसन्न भएर आफ्ना कर्पूर झैं गौर वर्णको स्वरुप लिई प्रकट भई पार्वतीलाई दर्शन दिनुभयो । जगन्माता पार्वतीले आफ्ना आराध्यदेवको दर्शन पाएर पाउमा परी अञ्जली बाँधी हर्षाश्रु बहाउँदै बिन्ती गर्न लाग्नुभयो – ‘हे करुणाकर ! मलाई हजुरले किन यस प्रकारले दुःखकष्ट दिइरहनु भएको ? के हजुरलाई म मन परिन कि ? किन मलाई छोडेर एकान्त यो श्लेष्मान्तक वनको स्थलमा आई बसिबक्सनु भएको ?’ यसरी पार्वतीले विस्मात् मानेको देखी महादेव अत्यन्तै खुशी हुँदै पार्वतीलाई अङ्कमाल गरी काखमा राखेर त्यहाँबाट अन्तर्ध्यान भई हिमालय पर्वतराजका घरतर्फ लाग्नुभयो । महादेव र पार्वती घरमा आएको देखी हिमालय पर्वतले अत्यन्तै खुशी भई छोरीज्वाईंको सम्मानमा नाना सुगन्धले युक्त पुष्पवृष्टि गराउनुभयो । त्यसपछि उच्च आसनमा बसाली पाद्य, अर्घ्यादि चढाई चौरासी व्यञ्जन तैयार गरी भोजन गराउनुभयो । ससुरालीमा चारदिन जति बस्नु भइसकेपछि महादेवबाट पार्वतीमा आज्ञा भयो – ‘हे गिरिराज पुत्री ! कैलाश छोडेको पनि धेरै भयो । यहाँ बसी काम छैन । अब कैलाशमा जानुपर्छ । तिम्रा बाबाआमासित विदा मागौं ।’ यसपछि दुबैजना हिमालयराज छेउ पुगे अनि महादेवले निवेदन गर्नुभयो – ‘हे पिता ! जुन दिन सतीदेवीले देहत्याग गरिथिन्, त्यो दिनदेखि कैलाश शून्य छ । अब हजुरबाट आज्ञा भए पार्वतीलाई साथ लिई कैलाश जाने थिएँ ।’

महादेवले आफूलाई ‘हे पिता !’ भनेको सुनी अत्यन्तै खुशी र हर्षले गदगद भएका हिमालय राजले अत्यन्तै विनम्र हुँदै हात जोडी विन्ती गरे – ‘हे त्रैलोक्यनाथ ! हे चराचरपते ! हजुरले अज्ञानीले जस्तो गरी मलाई मोहले छोपी ‘हे पिता !’ भन्नु भएकाले मेरा सम्पूर्ण विकार नष्ट हुन गए । हे प्रभु ! अब ममाथि दया गरी मेरा सम्पूर्ण अज्ञान नाश गरिबक्सियोस् । मेरा अभिमान पनि नष्ट गरिदिर्इ बक्सियोस् । हजुरका भक्तिमा मेरो चित्त सधैं लागिरहोस् ।’ यत्ति भनिसकेपछि महादेव र पार्वतीलाई नानाथरीका वस्त्रालङ्कार र गरगहना पहिर्याई, सिँहासनमा बसाली, षोडशोपचारले पूजा गरी नानाथरिका मेवामिष्ठान्नादि नैवद्य चढाउनु भयो । अनि स्तुति गर्न लाग्नुभयो :– ‘हे भवानीशङ्कर ! जसरी लक्ष्मीनारायण समुद्रका घरमा गएर बसिदिनु हुँदा समुद्रले आनन्द महसुस गर्नुभएको थियो, त्यसैगरी छोरी सहित भएर हजुरले मेरा घरमा राज गरिदिनाले म आनन्दमा रमेँ । हे जगदीश्वर ! हजुरको महिमा अपरम्पार छ । हजुरका मायाले नै यो विश्वब्रह्माण्ड व्याप्त छ । जतिबेला देवदानव मिली समुद्र मन्थन गरेका बेला कालकूट विष निस्क्यो र संसार नै डढाउन लाग्यो । त्यो देखेर हजुरले नै त्यो उग्र विष आफ्नो घाँटीमा राखी सबैको रक्षा गरिबक्सनु भयो । त्यसरी हजुरको नाम नीलकण्ठ पनि रहन गयो । हे विश्वम्भर ! आफैले सृष्टि र स्थिति गरी आफूले नै संहार पनि गर्ने, यस्ता हजुरलाई कोटिकोटि प्रणाम छ । हे परब्रह्म ! पृथ्वीलाई रथ, चार वेदलाई घोडा, चन्द्र र सूर्यलाई रथका पाङ्ग्रा, ब्रह्मालाई सारथी, सुमेरु पर्वतलाई धनुष, शेषनागलाई धनुको ताँदो , विष्णुलाई वाणको चुच्चो बनाई त्रिपुरासुर दैत्यको नाश गर्ने हे शम्भो ! हजुरलाई कोटिकोटि नमस्कार छ । हे युगेश्वर ! ब्रह्मा भन्नु, स्थावर भन्नु, जङ्गम भन्नु, त्यसमा पनि यम भन्नु, नारायण भन्नु सबै हजुर नै होइबक्सनु हुन्छ । फेरि सत्व–रज–तम त्रिगुण भन्नु, मृत्यु भन्नु, कालका पनि काल भन्नु, गुणका पनि गुण भन्नु, देवताका पनि देवता भन्नु, अनाथका नाथ भन्नु सबै हजुर नै होइबक्सनु हुन्छ । यसैगरी विश्वरुप मूर्ति भन्नु, आदि–मध्य–अन्त्य नभएका भन्नु, अष्टवसु भन्नु, द्वादशादित्य भन्नु, दिक्पाल भन्नु पनि सबै हजुर नै होइबक्सनु हुन्छ । हे वृषभध्वज ! हजुरका महिमाको वर्णन गर्न चतुर्मुख ब्रह्मा भए, सरस्वती भर्इन्, हजार जिब्रा भएका शेषनाग भए, यिनको पनि सामर्थ्य पुग्दैन भने मेरो कसरी पुग्ला ?’

यस्ता तरहसित हिमालय राजले स्तुति गरेको देखी महादेव सन्तुष्ट हुनुभई प्रसन्न मुद्रा लिई भन्न लाग्नुभयो – ‘हे पर्वतराज ! तपाईंले गरेका सेवा र भक्तिदेखि म सन्तुष्ट भएँ । आफ्नो चित्तलाई सदा मेरो भक्तिमा लगाई कैलाश पद प्राप्त हुनेछ । अब हामी आफ्ना बाटो लाग्छौं । बिदा पाऊँ’ यत्ति भनी हिमालय पर्वत र मेनकासित विदा लिई महादेव बृष वाहनमा चढ्नुभयो र पार्वतीलाई आफ्ना काखमा राखी सुस्तसुस्त कैलाशमा पुग्नुभयो र वहाँ प्रमथगणका साथमा आनन्दले राज गर्नुभयो ।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां श्रीगौरीशङ्कर-कैलाश-प्रवेश-वर्णनं नाम चतुर्दशोऽध्यायः ।।

ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्
दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

ज्योर्तिबिद तथा बास्तुविद कोइराला पिण्डेश्वर बिद्यापिठ धरानमा सहप्राध्यापक हुनुहुन्छ । उहाँ पूर्वेली न्जुजका स्तम्भकार समेत हुनुहुन्छ ।

कृष्ण प्रसाद काेइरालाबाट थप

स्वस्थानी व्रतकथा, भाग – १७ (विष्णुले बन्नुपर्यो – झार, घाँस, रूख र ढुङ्गो)

स्वस्थानी व्रतकथा, भाग – १६ (वृन्दाले गुमाईन् सतीत्व)

स्वस्थानी व्रतकथा, भाग – १५ (रावणले प्राप्त गर्यो ‘माता पार्वती’)

माघ महिनाको मासिक राशिफल

स्वस्थानी व्रतकथा, भाग – १४ (तारकासुर दैत्यको बध)

स्वस्थानी व्रतकथा, भाग – १३ (शिव र पार्वतीको विदाइ)

स्वस्थानी व्रतकथा, भाग – ११ (पार्वतीका निमित्त विष्णुद्वारा स्वस्थानीको व्रतविधि बताइएको प्रसङ्ग)

स्वस्थानी व्रतकथा, भाग – १० (ज्योतिर्लिङ्गको उत्पत्ति कथा)

स्वस्थानी व्रतकथा, भाग – ९ (विभिन्न शक्तिपीठको उत्पत्तिको प्रसङ्ग)

स्वस्थानी व्रतकथा, भाग – ८ (सतीदेवीको शव बोकी महादेवको पृथ्वीभ्रमण)

तपाईको प्रतिक्रिया