शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति : प्रधानमन्त्री देउवा

भीमदत्तनगर / प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले लागू गरेको नीतिका कारण प्रजातन्त्र पुनःस्थापनापछि शिक्षा, स्वास्थ्य र प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउनुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरमा आज सुदूरपश्चिम विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कुलपति देउवाले नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वका धेरै मुलुकमा उच्च र सुविधाजनक क्षेत्रमा काम गर्न सफल भएको बताउनुभयो ।

उहाँले सर्वसुलभ शिक्षा राज्यको मूल दायित्व रहेको बताउँदै विश्वविद्यालय शिक्षामा गरेको लगानीले नै राष्ट्रमा वर्तमानमा मात्रै नभई भविष्यमा पनि प्रतिफल दिने धारणा राख्नुभयो । “शिक्षा राष्ट्रको पुँजी हो”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “शैक्षिक र अनुसन्धानात्मक गतिविधिको स्तरोन्नतिमा लाग्न सबैसँग आग्रह गर्दछु ।”

सुदूरपश्चिम विश्वविद्यालय स्थापनाका निम्ति यहाँका स्थानीयको पहल महत्वपूर्ण रहेको स्मरण गराउँदै प्रधानमन्त्री देउवाले गुणस्तरीय, योग्य र नैतिकवान् जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । आफ्नै नेतृत्वको सरकारले गत असोजमा यहाँका थप १५ क्याम्पसलाई समायोजन गरी विश्वविद्यालयका आङ्गिक क्याम्पसका रुपमा विकास गरेको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया