अब बन्ने पुल चार लेनकाे

महाशाखाले आगामी दिनमा निर्माण हुने पुल चार लेनको बनाउने तयारी गरेको छ । भारत जोड्ने महाकाली नदी माथिको पुल चार लेनको बनाउन ठेक्का सम्झौता भइसकेको छ ।

बढ्दो शहरीकरण, सवारीसाधनको वृद्धि तथा जनजीवन सहज बनाउनका लागि पुल चार लेनको बनाउन थालिएको सिनियर डिभिजनल इञ्जिनियर नरेशमान शाक्यले जानकारी दिनुभयो । महाशाखाले जनकपुर–जटहीमा छ लेनका सडकमा तीन वटा, भैरहवा– बुटवल सडकखण्डमा चार लेनका दुई वटा, नेपालगञ्ज– सुर्खेत सडकखण्डमा चार लेनका पाँच वटा, वीरगञ्ज–पथलैया छ लेनको एउटा, पथलैया–दुधौरा चार लेनको एउटा पुल निर्माण शुरु भएको छ । ती सबै पुल सरकारको पाँच वर्षे रणनीतिक योजनाअन्तर्गत पर्छ ।

यस्तै नारायणगढ– बुटवल, बुटवल कोहलपुर सडक खण्डको विस्तारसँगै पुल पनि सोही लेनका आधारमा निर्माण गरिने छ । सो सडक खण्ड छ लेनको बनिरहेको छ । यस्तै काठमाडौँ– पोखरा सडकखण्ड चार लेनको बनाउने तयारी भएपछि पुलसमेत चार लेनकै बनाउने गरी नक्सा तयार गर्न थालिएको सिनियर डिभिजनल इञ्जिनियर शाक्यले जानकारी दिनुभयो ।

चीनसँग जोडिएका सबै सडक मार्ग डबल लेन बनाउने गरी तयारी भएकाले पुल समेत डबल लेनमा नै निर्माण गरिनेछ । उपमहानिर्देशक थापाले सडकको चौडा विस्तार सँगसँगै पुललाई पनि सोहीअनुसार पुनःनिर्माण तथा नवनिर्माण गर्न लागिएको जानकारी दिनुभयो । नारायगढ– बुटवल सडकखण्डमा एशियाली विकास बैंकले रु सात अर्ब सडक निर्माणमा खर्च गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया