स्वस्थानी व्रतकथा, भाग – १२ (शिवपार्वती विवाह प्रसङ्ग)

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! तहाँउप्रान्त श्री स्वस्थानी परमेश्वरीको अनन्त महिमा लिएर पौष शुक्ल पूर्णिमा नजिकिँदै आउन थाल्यो । पार्वतीले अघिल्लै दिन चतुर्दशी तिथिमा सखीहरुलाई साथ लिई हात गोडाका नङ काटी, स्नान गरी, पवित्र मन गरी, एकभक्त र एकचित्त गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गर्न लागिन् । विष्णुले बताएका विधि अनुसार नियमपूर्वक एक महिनासम्म पूजा गरेपछि माघ शुक्ल पूर्णिमा आइपुग्यो । त्यो दिन विष्णु भगवानले बताउनुभएका सामग्रीहरु तयार पारी श्री स्वस्थानी परमेश्वरीको पूजा, जप, ध्यान, पाठ र प्रार्थना गरिन् । उता मृगस्थलीमा रहेका देवराज इन्द्रले पार्वतीले गर्नुभएको यो व्रत चाल पाएर प्रसन्न भई देवताहरुसित भने – ‘हे देवगणहरु हो ! अब तारकासुर दैत्यको नाश हुने कारण बन्न लाग्यो, किनकि हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाएपछि उनका गर्भदेखि पुत्र जन्मलान् । तिनै पार्वती पुत्रले हाम्रो वैरी तारकासुर दैत्यको बध गर्नेछन् ।

त्यसपछि हामीले हाम्रो अमरावती पुरीलाई हात पारी राज्य गर्न पाउने छौं । यतिवेला महादेव सतीदेवीको शोकमा उत्तरापन्थमा गई काम, क्रोध, लोभ, मोह आदि त्यागी दशै इन्द्रियहरु बाँधी, तीनै आँखा चिम्लिई, परब्रह्ममा चित्त लगाई महान् तपस्या गर्न लाग्नुभएको छ । वहाँलाई त्यो तपस्यामा बाधा गराई पुनः काम, क्रोध, लोभ, मोहादिमा फर्काउने कुनै उपाय गर्नुपर्छ ।’ इन्द्रका वचन सुनी देवताहरुले एकमत भई भने – ‘हे महाराज ! त्यो तपस्यामा बाधा गर्न कामदेववाहेक अरु कसैले सक्दैन । यसकारण कामदेव गएर महादेवको चित्तमा कामवाणको प्रहार गरुन् ।’ देवताहरुको यस्तो सल्लाह पाएर ‘कुरा उचित हो’ भनी इन्द्रले कामदेवलाई ल्याउन भनी वायुलाई अह्राई पठाए । वायुले पनि तत्कालै त्यो काम गरे । वायुका साथ कामदेव आइपुगी इन्द्रलाई प्रणाम गरी सोधे – ‘हे देवेन्द्र ! मलाई कति कामले बोलाइबक्सनुभयो । आज्ञा हवस् ।’ अनि कामदेवसँग इन्द्रले भने – ‘हे कामदेव ! विश्वम्भर महादेव यसबखतमा उत्तरापन्थमा रही काम–क्रोधादि त्यागी सम्पूर्ण इन्द्रियहरु बाँधी परब्रह्ममा चित्त लगाई तपस्या गर्न लाग्नुभएको छ  । वहाँविना यो विश्वब्रह्माण्डको रक्षा अरु कसले गर्ला ? यसर्थ तिमीले महादेव भएठाउँमा पुगी वहाँका हृदयमा कामवाण छोडी काम, क्रोध, लोभ, मोह, माया आदिमा प्रवेश गराऊ ।’ इन्द्रका उस्ता वचन सुनी ‘हवस्’ भनी आफ्नी स्त्री रतिलाई साथमा लिई कामदेव उत्तरापन्थमा पुगे ।

वहाँ पुगेर उनले महादेवलाई साष्टाङ्ग दण्डवत प्रणाम गरे । त्यसपछि धनुष्टङ्कार गरी, कानसम्म कामवाण खिँची महादेवका बाँधिएका इन्द्रियहरुको मूल आधारसम्मका स्थानका मनलाई ताकी कामदेवले कामवाण छोडे । उक्त वाण गएर लाग्नासाथ महादेवका गाँठो परेका इन्द्रियहरु खुल्न थाले र मन चञ्चल हुनथाले । अकस्मात् यस्तो भएको चाल पाएर अति क्रुद्ध भई यताउती नजर घुमाउँदा आफ्ना सामु कामदेवलाई देख्नुभयो । त्यसैबेला तेस्रो नेत्रबाट क्रोधरुपी अग्नीज्वाला निस्केर गई तत्कालै कामदेवलाई भस्म पारिदियो । आफ्ना स्वामी भस्म भएको देखी कामदेवकी स्त्री रतिले नाना प्रकारले विलाप गर्दै श्री महादेवका पाउमा पुगी विन्ती गर्न लागिन् – ‘हे जगदीश्वर ! यो अपराध मेरा स्वामीले गरेका होइनन् । तपाईका हृदयमा यो कामवाणको प्रहार ता इन्द्रका आज्ञाबाट भएको हो । हे दीननाथ ! मदेखि प्रसन्न हुनुभई यो अपराध क्षमा गरी मलाई स्वामी दान दिने कृपा गर्नुहोस् । हे दयासागर ! हे दुष्ट संहारक ! हे साधुसन्तरक्षक ! हे शरणागत वत्सल ! हे अभयदाता ! तपाईंका महिमाको वर्णन गर्न हजार जिब्रा भएका शेषनागले पनि सक्दैनन् भने म एक स्त्रीजातिले कसरी सकुँली ? हे भक्तवत्सल ! मेरा स्वामीलाई जीवनदान दिई, मलाई विधवा जीवनबाट मुक्ति दिलाई, मेरो मन सन्तोष गराई मलाई आफ्ना पतिका साथ लगाईदिनुहोस् ।’ भनी नाना प्रकारका विलाप गर्न लागिन् ।

यसरी रतिले अति नै शोक गरी रुँदैकराउँदै स्तुति गरेको सुनी आशुतोष महादेवको मन करुणाले भरियो र भन्नुभयो – ‘हे रति ! तिमी अब धेरै शोक नगर । जे हुनु थियो सो भयो । किनभने विधिको विधान टर्दैन । म तिमीलाई तिम्रा स्वामी दिन्छु, तर यस जन्ममा होइन । द्वापर युगका अन्त्यमा जब विष्णुको आठौं अवतार कृष्णको रुपमा हुनेछ, तब तिम्रा पति वहाँकै पुत्र प्रद्युम्न भएर जन्म लिनेछन् । त्यसबेला तिमी शम्बासुर दैत्यका दरबारमा मायावती नामले दासीको काम गरेर बसेकी हुनेछ्यौ । त्यसैबेला तिमीले आफ्ना पतिलाई दश दिनका बालकको रुपमा प्राप्त गर्नेछ्यौ । त्यतिबेला तिमीले नारदजीबाट आज भएका यी सबै घटनाहरु बुझ्नेछ्यौ र आफ्ना बालक पतिलाई पालनपोषण गरी हुर्काउनेछ्यौ । हे रति ! अहिलेलाई दुःख नमान । अब आफ्ना घर जाऊ ।’ यसरी महादेवबाट आफ्ना कल्याणका निम्ति भविष्यवाणी सुन्न पाएकी रतिले महादेवलाई साष्टाङ्ग प्रणाम गरी फर्किर्इन् ।

हे अगस्त्य मुनि ! तहाँउप्रान्त महादेवले आफ्नी प्राणप्रिया सतीदेवीलाई सम्झी मृत्युपश्चात् कहाँ जन्म लिन पुगिन् होला भनी ध्यानदृष्टिले हेर्दा हिमालयपुत्रीका रुपमा पार्वती नाम लिई जन्मिएर महादेव स्वामी पाऊँ भनी तीर्थ, व्रत, जप, तप, यज्ञादि गरी विष्णुका उपदेशले श्री स्वस्थानी परमेश्वरीको उपासना गर्न लागेको थाहा हुन गयो । अब पार्वतीको चरित्र हेर्नुपर्यो भन्ने मन गरी महादेव उत्तरापन्थबाट अन्तर्ध्यान भई इन्द्रको रुप धारण गरी बज्र हातमा लिई ऐरावत हात्तीमा चढी पार्वतीले व्रत गरिरहेको ठाउँमा पुग्नुभयो । जतिबेला पार्वतीले एक महिनासम्म विधिपूर्वक, नियमपूर्वक, भक्तिपूर्वक व्रत बसी व्रतसमाप्तिका साङ्गेका दिन विधिवत् पूजा सकी हातमा अर्घ्यपात्र लिएर महादेव स्वामी पाऊँ भनेर स्वस्थानी परमेश्वरीलाई अर्घ्य अर्पण गर्दै स्तुति गर्दै थिइन् – ‘हे ईश्वरी !  हे निरञ्जन निराकार ! तपाईंलाई कोटिकोटि नमस्कार छ । सम्पूर्ण तीर्थ पनि तपाईं, सृष्टि–स्थिति–संहारकर्ता पनि तपाईं, पञ्चमहाभूत पनि तपाईं, सत्व–रज–तम त्रिगुण पनि तपाईं,  यो ब्रह्माण्डका आत्मस्वरुप भइरहेकी आद्याशक्ति पनि तपाईं, कालस्वरुप पनि तपाईं, यस्ती तपाईंको वर्णन गर्न ब्रह्मा–सरस्वती–शेषनागले पनि नसकेको, म कसरी सकुँली ? मेरो भक्तिद्वारा प्रसन्न हुनुहोस् ।’ यसरी जसै पार्वतीले स्तुति गरी, अर्घ्य दिई प्रसाद झिक्न लागेकी थिइन्, त्यसैबेला महादेव इन्द्रको रुप लिएर त्यहाँ आइपुग्नुभयो ।

इन्द्रभेषधारी महादेवलाई देखी पार्वतीले भनिन् – ‘हे देवराज ! यो मैले गरेको स्वागत, आसन र पूजा ग्रहण गर्नुहोस् ।’ यति भनेर पार्वतीले यथायोग्य पूजा गरिन् र हात जोडी विन्ती गरिन् – ‘तपाईं के कामले पाल्नु भएको हो ? आज्ञा होस् ।’ यो सुनी इन्द्रभेषधारी महादेवबाट आज्ञा भयो – ‘हे पार्वती ! तिमीले गरेको मेरो स्वागत, आसन र यथायोग्य पूजा पाएर म सन्तुष्ट छु । महादेव स्वामी पाउने इच्छा गरी तिमीले यत्ति लामो व्रत बसी नियम पालना गरेकी रहिछौ । तर ती महादेव कस्ता छन् ? थाहा छ के त ? ती ता बौलाहा जस्ता, महाघृणी, सर्पको गहना भिरेका, कम्मरमा बाघको छाला बेह्रेका, साथमा भूत–प्रेत–प्रमथगण लिएका, बूढो गोरु चढेका, दाहिने हातमा डमरु लिएका, देब्रे हातमा त्रिशूल लिएका, विष–भाङ–धतुरो खाई निर्लज्ज भई घुमफिर गर्ने, अघोरमूर्ति लिएर श्मशान वास गर्ने यस्ता छन् । तिमी भने यस्ती कोमल पद्मपुष्प फक्रिएजस्ती सुन्दरी, तिमीलाई ती महादेव स्वामी हुन सुहाउँदैनन् । बरु सम्पूर्ण देवताका पनि राजा, मलाई स्वामी रोजेर स्वर्गकी रानी हुनपायौ भने धेरै राम्रो होला ।’ इन्द्ररुपी महादेवले भनेका यस्ता वचन सुनी पार्वतीलाई एक्कासी रिस उठ्यो र लाललाल नेत्र पारी भन्न लागिन् – ‘हे पापिष्ठ ! मैले श्री स्वस्थानी परमेश्वरीको व्रत र पूजा गरिरहेका यस्ता पुण्यथलोमा आई इन्द्रको जस्तो स्वर्गको राजा भएर देवाधिदेव महादेवको निन्दा गरिस् ।

मेरा निम्ति यो सहन गर्न नसकिने कुरा पर्यो । अतः तँलाई अब म श्राप दिन्छु ।’ भनी ओठ थर्थर कपाउँदै श्राप दिन तत्पर भर्इन् । यो देखेर अब पार्वतीले पक्कै श्राप दिनेछिन् भनी डराई इन्द्ररुपी महादेवले हतारहतार भन्नुभयो – ‘हे पार्वती ! म इन्द्र होइन । तिम्रो चरित्रको परीक्षा गर्न इन्द्ररुप लिई आएको म तिम्रै आराध्यदेव महादेव हुँ । तिम्रो भक्ति देखी म सन्तुष्ट भएँ । अब मेरो ज्योति स्वरुपलाई दर्शन गर ।’ यत्ति भनी  ज्योतिस्वरुप परमात्मा महादेवले दर्शन दिनुभयो । महादेवको दर्शन पाएकी पार्वतीले हर्षले प्रफुल्लित हुँदै महादेवलाई साष्टाङ्ग प्रणाम गरिन् र भनिन् – ‘हे आराध्यदेव जगदीश्वर ! मैले अघि बाल्यकालमा पनि हजूरको सेवा गरेँ । वटुकरुप लिई आएर यसैगरी परीक्षा लिई दर्शन दिई ‘श्री विष्णुका उपदेश अनुसार मेरो आराधना गर’ भनी हजुरबाट आज्ञा भएथ्यो । आज्ञाअनुसार विष्णुलाई प्रसन्न गराई दर्शन पाएँ र उनै वैकुण्ठनाथ लक्ष्मीपति विष्णुका उपदेशले श्री स्वस्थानी परमेश्वरीको व्रत र त्यो महान् व्रतको सम्पूर्ण विधि जान्न पाएँ । विष्णुको कृपा र स्वस्थानी जगदीश्वरीको व्रत गरेको प्रभावले आज पुनः हजुरको दर्शन पाएँ । प्रभु ! अब यी स्वस्थानी परमेश्वरीका प्रसाद एक सय आठ, एक सय आठ  प्रसादका सामग्रीहरु मध्येबाट आठआठका भाग दिनलाई विवाह नभैकन हजूरलाई कसरी टक्र्याऊँ ?’

हे अगस्त्य मुनि ! पार्वतीले भनेका सबै कुरा सुनिसकेपछि श्री महादेव प्रसन्न हुनुभयो र पार्वतीलाई मागी विवाह गर्न भनी हिमालय पर्वत छेउ पुगी ‘तिम्री छोरी पार्वती मलाई कन्यादान देऊ’ भन्नुभयो । हिमालय पर्वतले महादेवको आज्ञा सुनी आफ्नी पुत्री पार्वतीले महादेव स्वामी पाउनका निम्ति बडो कष्ट सही व्रत, जप, तप, ध्यान गरेको बुझी मनमा ठूलो हर्ष मानी कन्यादान दिन मञ्जुर गर्दै आफ्नी स्त्री मेनकासित भने – ‘हे प्रिये ! हामी धन्य रहेछौं । किनभने हाम्री पुत्री पार्वतीलाई कन्यादान थाप्न भनी महादेवजी स्वयं आफै हाम्रो दैलो टेक्न आउनुभएछ । अब कन्यादान गर्नुपर्छ । चाहिने सामग्री तयार गर ।’ भनी अह्राए । त्यसपछि हिमालयले वशिष्ठ आदि कुलगुरु बृहस्पति, कुल पुरोहित र ज्योतिषीहरुलाई डाकी दिन, लग्न, मुहूर्त, वार, नक्षत्र, वेला आदि बुझी अक्षय तृतीयाका दिन लग्न ठहर्याई कन्यादान गर्ने निश्चय गरे । त्यसपछि स्वर्ग, मर्त्य, पाताल तीनै लोकका देवता ऋषि, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग र अप्सराहरुलाई निमन्त्रणा पठाए । यो बाहेक आफ्ना कुलकुटुम्ब, छरछिमेक, इष्टमित्रहरुमा पनि छोरी पार्वतीको विवाहको निमन्त्रणा दिइयो । ठहर्याइएका दिनमा सबै निम्तालुहरु आए । अनि सबैजना यज्ञका वरिपरि बसे । चतुर्मुखी ब्रह्माले अघि सरेर यज्ञको शुभारम्भ गरे ।

ऋषिगणहरु सबैले सुर मिलाएर वेदऋचा पाठ गर्न थाले ।  एकातिर गन्धर्व र अप्सराहरु भेलाभई नाच्न र गाउन थाले । देवकन्या, ऋषिकन्या, नागकन्या, दैत्यकन्या, गन्धर्वकन्या, किन्नरकन्याहरु रङ्गिबिरङ्गी वस्त्र र नानाथरीका गरगहना आदिले सिँगारिई योभन्दा ऊ राम्री ऊभन्दा ऊ झन् राम्री भई पार्वतीका विवाहको यज्ञमण्डपको चारैतिर रही कन्यादानको रमाइलो हेर्न आए । पार्वतीका माता मेनकाले पुत्रीलाई श्रीखण्डका बुकुवा दली, अनेकौं सुगन्ध लेपन गराई, हीरा–मोती–मणि–माणिक्यादि नाना रत्न जडाउ गरेर गरगहना र रङ्गीबिरङ्गी लुगा कपडाले सोह्रश्रृङ्गार गराई यज्ञमण्डपमा ल्यार्इन् । त्यसवखतमा अप्सरा र गन्धर्वहरूले मङ्गल गान गाएर तथा वाद्यबाजा बजार्इ शोभा बढाए । अनि शुभलग्नको वेला हुन लागेकाले हिमालय राजले तिल कुश सहित पार्वतीको हात समाए । मेनकाले सुनको कमण्डलुले छोरीका हातमा जलधारा गरिन् । कन्यादानको सङ्कल्प शुभारम्भ भयो । त्यसैबेला हिमालयले बिन्ती गरे – ‘हे जगदीश्वर ! आजको यो शुभ लगनमा मेरी पुत्री हजूरलाई अर्पण गर्दैछु । हजूरको गोत्र कुन हो ? शास्त्रमा गोत्रविना कुनैपनि कार्य निष्फल हुन्छ भनेको छ ।’ हिमालयले सोधेको यो कुरा सुनी महादेवले कुनै उत्तर नदिई घोसेमुण्टो लगाइरहनु भयो । हिमालय पर्वतले छोरीको हात समाइरहेर ज्वाईंका मुखतिर हेरेको हेर्यै भए  । ब्रह्माविष्णुसहित इन्द्रादि देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग कसैले पनि यसै हो भन्न नसकी चुप लागी मुखामुख गरिरहे । त्यसैबेला नारद ऋषि देखा परे ।

उनले सतीदेवीको हाडका यन्त्र लिएका थिए अनि गाउँदै पनि थिए । शिवगीता गाउँदै र नाच्दै त्यो यज्ञशालामा आई उनी भन्न लागे – ‘हे गिरिराज ! जसका मायाले यो विश्वब्रह्माण्डको कहिले सृष्टि, कहिले स्थिति र कहिले संहार हुन्छ । कहिले एक स्वरुपबाट ब्रह्मा–विष्णु–महादेव तीन रुप हुन्छन् । कहिले ती तीनै एकरुप पनि हुन्छन् । यिनै आदि पुरुष हुन्, यिनका न माता,  न पिता, न जाति, न गोत्र, केही पनि छैन । सम्पूर्ण तेत्तीस कोटि देवताका पितामाता र चौध भुवनका समस्त जीवात्माका हृदयमा रहेर पाप पुण्यका साक्षी भएका, यस्ता निरञ्जन, निराकार परमेश्वरको महिमा गाउन हजार जिब्रा भएका शेषनागले पनि सक्दैनन् भने अरु कसले सक्ला ? हे हिमालयराज ! मनमा कुनै सन्देह नलिई श्री जगदीश्वर परमपिता श्री महादेवजीलाई कन्यादान दिनुहोस् ।’

यसरी नारद ऋषिले भनेको सुनी त्यहाँ उपस्थित रहेका सम्पूर्ण देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, नाग, दैत्य आदि सबैले ‘नारदजीले भलो कुरा भनेका हुन्, यसमा कुनै सन्देह नमान्नुहोस्’ भने । तब हिमालय पर्वतले पार्वतीलाई महादेवका हातमा कन्यादान दिनुभयो । पार्वतीले पनि अघिसरी फूलको वरमाला लिएर महादेवलाई तीनपल्ट परिक्रमा गरी उनको गलामा वरमाला लगाइदिइन् र पाउमा ढोगिन् । हिमालय पर्वतले सम्पूर्ण देवता र अरु सबै आमन्त्रितहरुलाई भोजनले तृप्त गराई यथोचित दक्षिणा र वस्त्रादि दान दिएर सन्तुष्ट गराए । भोजन, आदर र मीठो बोलीव्यवहारले परिपूर्ण भएका सम्पूर्ण देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग, अप्सरा र अरु डाकेका सबै पाहुनाहरुले विदा माग्दै भने – ‘हे हिमालयराज ! तिमी धन्य रहेछौ । अनि मेनकाको कोख पनि धन्य रहेछ । तिमी दुईजना जस्तो सप्तद्वीपमा हुन दुर्लभ छ । तिमीहरुको जन्म सफल भयो, किनकि जुन पिनाकधारी महादेवलाई ठूलाठूला योगेश्वरहरुले आफ्ना ध्यानदृष्टिले हेर्दा पनि दर्शन पाउन सक्दैनन् । त्यस्ता महादेवलाई तिमीले ज्वाईं गराउन पायौ । अब हामी पनि आ–आफ्ना आश्रममा जान विदा माग्छौं ।’ आएका सबै निम्तालुहरुले यसरी भनेका सुनी हिमालयराज र मेनकाले पनि आदरका साथ प्रणाम गरी सबैलाई विदा दिए । विवाहमा सामेल भई जान लागेका सम्पूर्ण देवता र अन्य सबै निम्तालुहरुले पनि महादेवलाई साष्टाङ्ग दण्डवत् प्रणाम गरी क्रमशः विदा हुँदा भए ।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां शिवपार्वती-विवाहवर्णनं नाम त्रयोदशोऽध्यायः ।।

ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्

दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।

काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।

देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।

अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।

निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।

तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।

तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता

या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।

या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता

सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।

कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।

करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।

अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।

समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।

ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।

खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।

चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।

सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।

ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

तपाईको प्रतिक्रिया