छिन्ताङ्ग काण्डमा मारिनेहरू शहीद घोषित

 

 

धनकुटा । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले १६ जनालाई शहीद घोषणा गरेको छ ।
शहीद घोषणा गरिएका सबैजना पंचायती व्यवस्थाको समयमा भूमिगत अवस्थामा रहेको नेकपा मालेका कार्यकर्ताले शंकास्पद गतिविधि गरेको भन्दै प्रहरीले गरेको कारबाहीमा मारिएका थिए ।

यो घटना २०३६ साल कात्तिक २७ गते धनकुटाको छिन्ताङ्ग गाउँमा भएकाले यसलाई छिन्ताङ्ग काण्डका रूपमा बुझिन्छ । यो घटना भएका बेला सुर्यबहादुर थापाले सरकारको नेतृत्व गरेका थिए । यसका साथै बैठकले विश्व बैंकले प्रदान गर्न लागेको आठ अर्ब रुपैयाँको सहायता स्वीकार गर्न स्वीकृति दिएको छ । प्राप्त सहायता लाइफ स्टक कार्यक्रमको कार्यान्वयनमा खर्च गर्ने योजना छ ।

 

आजको बैठकले प्रदेशप्रमुख र अस्थायी राजधानी निर्धारण गर्ने बारेको निर्णय भने गर्न सकेन । सरकारका प्रवक्ता तथा सुचना तथा संचारमन्त्री मोहनबहादुर पाण्डेले यो विषयले बैठकमा प्रवेश पाएपनि निर्णय भने हुन नसकेको बताए । यसैगरी, बैठकले नेपाली सेनाका उपरथी गौरव तन्डुललाई रथीमा बढुवा गर्दै युएन फोर्स कमाण्डरको प्रशिक्षणमा सहभागी हुने अनुमति दिएको छ । साथै बैठकबाट भएको निर्णयअनुसार सेनाका प्राविधिक महासेनानी गेहेन्द्रलाल महर्जनलाई प्राविधिक सहायक रथीमा पदोन्नति गरिएको छ । नेपाल न्याय सेवाको विशिष्ट श्रेणीमा महेन्द्रनाथ उपाध्यायको बढुवा भएको छ भने यसै बैठकको निर्णयबाट हेमराज पन्त पुनरावेदन समितिको अध्यक्षको रूपमा नियुक्त भएका छन्।

तपाईको प्रतिक्रिया