एमाले अध्यक्ष ओली बुधबार बैंकक जाँदै

काठमाडौँ, २५ पुस / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्डको बैंकक जाँदै हुनुहुन्छ । उहाँ बुधबार मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट बैंकक जानुहुने भएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार गराउनु हुनेछ ।

सचिव ज्ञवालीले ओलीका साथ धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सकसमेत जानु हुनेछ । मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उहाँ बैंकक जाने गर्नुभएको छ । निर्वाचनको बेला दौडधुपका कारण ओलीको स्वास्थ्यमा परीक्षण गराउनुपर्दछ भनी चिकित्सकको सुझावअनुसार उहाँ बंैकक जानुहुने भएको हो ।

निर्वाचनअघि नै स्वास्थ्य परीक्षण गराउने चिकित्सकको सल्लाह भए पनि निर्वाचनको कारणले उहाँ जान सक्नुभएको थिएन । स्वास्थ्य परीक्षण गराई उहाँ माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको सचिव ज्ञवालीले जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया