सवारी नपाएर वैदेशिक रोजगारीमा जाने र फर्कनेलाई सास्ती

काठमाडौँ/ जिल्लाका सबै साथीभाइ र परिवारजन मतदानको तयारीमा रहँदा गुल्मीका बमबहादुर रोका मगर संयुक्त अरब इमिरेट्स(युएई) मा रोजगारीका लागि उड्न आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभयो ।

दिउँसो १ः३० बजे विमानस्थलमा भेटिएका रोकामगर यातायात नचलेपछि दुई घण्टाको हिँडाइपछि विमानस्थल पुग्नुभएको रहेछ । तन विदेशको यात्रामा लागेपनि उहाँको मन भने गाउँमा भइरहेको निर्वाचनमै थियो ।

उहाँले छिनछिनमा गाउँमा भइरहेको मतदानबारे मोबाइलबाट जानकारी लिइरहनुभएको थियो । “संविधान कार्यान्वयनको महत्वपूर्ण अवसरको रुपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पहिलोपटक मतदान गर्ने तीव्र इच्छा थियो तर आजै दुबई उड्नुपर्ने बाध्यताले सहभागी हुन सकिनँ, असाध्यै दुःख लागेको छ” – उहाँले भन्नुभयो । अपराह्न ४ः३० बजेको इत्तेहाद एयरबाट दुबई जान लागेका रोकामगरलाई एकातर्फ मतदान गर्न नपाएकामा खिन्नता थियो भने अर्कोतर्फ विमानस्थलसम्म हिँडेर पुग्दाको सास्ती थियो । नयाँ बसपार्क (गोंगबु)बाट तीनघण्टा पैदल हिँडेर विमानस्थल पुग्नुभएका चितवनका प्रभु साहलाई पनि मतदान गर्न नपाएकामा दुःख लागेको छ । अपराह्न साउदी अरब जाने तयारीमा रहनुभएका साहले भन्नुभयो, “के गर्नु ? आजैका दिन उडान प¥यो । भोट हाल्न नपाएकामा असाध्यै दुःख लागेको छ । नियतिले विदेशिनुपर्ने बाध्यता आइलाग्यो ।” उहाँहरु जस्तै सयौँको संख्यामा वैदेशिक रोजगारीका लागि जानेहरुले आज निर्वाचनका दिन सार्वजनिक यातायातको अभावमा कष्ट झेल्नुप¥यो ।

विमानस्थलबाट वैदेशिक रोजगारीका लागि दैनिक एकहजार दुई सयदेखि एकहजार पाँच सयको हाराहारीमा नेपाली युवा खाडीसहितका विभिन्न मुलुक जाने गरेका छन् । मतदानकै दिन मलेसिया उड्ने तयारीमा रहनुभएका सिरहाका धनकुमार यादव पनि पहिलो पटक मतदान गर्न नपाउँदा चिन्तित देखिनुहुन्थ्यो । परिवारको साथ भन्दा पनि मतदान गर्न नपाएकामा दुःख लागेको अनुभव सुनाउँदै उहाँले विदेशको पैसाभन्दा पनि भोट ठूलो लागेको भए पनि बाध्यताले विदेशिनुको विकल्प नभएको बताउनुभयो । मोरङका अर्जुन राम पनि मलेसिया जाने तयारीमा विमानस्थलमा भेटिनुभयो । टाढादेखि हिँडेर आउँदाको थकान उहाँमा प्रष्टै देखिन्थ्यो । उहाँले भन्नुभयो – “उमेरले पनि पहिलो पटक भोट हाल्ने अवसर दिलाएको थियो तर पनि बाध्यता भोट खसाल्न पाइनँ । देशमा रोजगारीको अवसर छैन । अबको नेतृत्वले काम गरेर खाने अवसर दिलाइदिए हुन्थ्यो । यसरी कतिञ्जेल झोला बोकेर हिड्ने ?” वैदेशिक रोजगारीमा गएका कतिपय आज विमानस्थलमा ओर्लिए र उनीहरुलाई गन्तव्यसम्म पुग्न सवारीसाधन नभएर समस्या भएको देखियो ।

दुबहीबाट काठमार्डौँ आउनुभएका देवकी सुवेदी अपरान्ह सवारीसाधनको पर्खाइमा विमानस्थलमा छट्पटाउँदै हुनुहुन्थ्यो ।

सुटकेस घिसार्दै विमानस्थलको बाहिर सडकमा हिँडिरहनुभएका सुवेदीले भन्नुभयो – “अब कसरी जाने ? थानकोट पुग्नुपर्ने ट्याक्सीले कलंकी सम्मको रु तीन हजार मागे । आधा बाटो हिँडेर कसरी घर पुग्ने हो ?”

मलेसियाबाट फर्कनुभएका काठमाडौँका अंशु भण्डारी पनि सवारी साधन नपाएर सडकमै सुटकेस घिसारेर विमानस्थलको द्वारबाट बाहिरिँदै हुनुहुन्थ्यो ।

सरकारले निर्वाचनलाई ध्यान राखेर सार्वजनिक गएराति १२ बजेदेखि आज मतदान हुने दिन साँझ ७ः०० बजेसम्म सवारी चलाउन निषेध गरेको थियो ।
पर्यटक यात्रुलाई पर्यटक बसको व्यवस्था गरिएको भएपनि अन्य यात्रुलाई विमानस्थल जान र घर फर्कन चाहने यात्रुलाई समस्या भयो ।

अन्तर्राष्ट्रिय उडान नियमित भएपनि तुलनात्मकरुपमा आज विमानस्थलमा यात्रुको चहलपहल निकै कम थियो । अन्तर्राष्ट्रिय उडान तालिकाअनुरुप नियमित भइरहेको भएपनि यात्रुको संख्या अत्यन्तै न्यून रहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताउनुभयो ।

उहाँका अनुसार आन्तरिकतर्फ आज करिब ८० प्रतिशत उडान कटौती भएको छ ।

तपाईको प्रतिक्रिया