उपप्रधानमन्त्री गच्छदार–मतदान

इटहरी/ नेपाली काँग्रेसका नेता उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले आज दिउँसो दुहवी नगरपालिका–२ तुताहास्थित नवीन निकेतन शिक्षा विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

उपप्रधानमन्त्री गच्छदारको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) वैकल्पिक केन्द्रीय सदस्य एवम् पूर्वराज्यमन्त्री भगवती चौधरीले पनि सोही मतदान केन्द्रबाट ‘ख’ मतदान गर्नुभएको छ ।

दुई हजार मतदाता रहेको उक्त मतदान केन्द्रमा मतदान गरेपछि उपप्रधानमन्त्री गच्छदारले अहिलेको निर्वाचन संविधान कार्यान्वयन गर्ने अवसरको गौरवपूर्ण मतदान भइरहेकाले आफूले संविधान कार्यान्वयनसँगै देशको आर्थिक समृद्धि र युवालाई देशभित्रै स्वरोजगार सिर्जनाको निर्णायक कार्य भएको बताउनुभयो । उहाँले मतदातामा लोकतन्त्रको पक्षमा मतदान गर्दै देशले प्राप्त गरेको उपलब्धि रक्षाका लागि जुन उत्साह र उमंग देखिएको छ त्यसलाई मूर्तरुप दिन लोकतान्त्रिक नेतृत्वले चुनाव जित्ने वातावरण बनिरहेकामा आफूलाई भित्रैदेखि उत्साह जागेको पनि सञ्चारकर्मीसँगको संक्षिप्त जिज्ञासामा उक्त कुरा बताउनुभयो । उपप्रधानमन्त्री गच्छदारले विपक्षी उम्मेदवार वा दलभन्दा आफूले निकै धेरै फरक मत प्राप्त गरेर निर्वाचन जित्ने परिस्थिति देखिएको समेत जानकारी दिनुभयो । उहाँले पछिल्लो समयमा राजनीतिप्रति सर्वसाधारणमा देखिएको निराशालाई यो चुनावले अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो । यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्रा विश्वासले तुताहा केन्द्रबाट र नेकपा (माओवादी केन्द्र)का तर्फबाट बिना विभागीय मन्त्री रहनुभएका जाकिर हुसैनले इटहरीको पकली मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । यस जिल्लामा अहिलेसम्म सम्पूर्ण मतदाताले निर्बाध रुपमा मतदान गरिरहेका छन् । बिहान मतदान प्रारम्भ भएको केही घण्टापछि धरान उपमहानगरपालिका–१६ को चन्द्र संस्कृत विद्यलायको मतदान केन्द्रबाहिर बम विस्फोट भएको छ । तर बम विस्फोटबाट सर्वसाधारण मतदातालाई कुनै असर नपरेको प्रहरीले बताएको छ ।

सुनसरीको सम्पूर्ण मतदानस्थलमा लगभग ४० देखि ४५ प्रतिशत मतदान भइसकेको जिल्ला निर्वाचन अधिकृत भक्तबहादुर भट्टराईले आँकडा दिनुभएको छ । मतदाताहरु आ–आफ्नो निर्वाचन क्षेत्रको मतदान केन्द्रमा मत दिनका लागि उत्साहका साथ पङ्क्तिबद्ध भएर पालो पर्खिरहेको पाइएका छन् ।

तपाईको प्रतिक्रिया