बिशेष सम्पादकीय : निर्धक्क भएर मतदान गरौ, योग्य उम्मेदवार रोजौ

आज मंसिर २१ गते अर्थात प्रतिनिधिसभा र प्रदेशसभाको निर्बाचनमा मतदान गर्ने दिन, मतदाताले आफुले चाहेको उम्मेदवार छनौट गर्न पाउने यो सुवर्ण अबसर बर्षौपछि प्राप्त भएको छ तसर्थ यो समयको सही सदुपयोग गर्न हामी चुक्यौँ भने हामीले आफुले चाहेको योग्य उम्मेदवार छान्न पाउने अधिकार बाट बञ्चित हुने छौँ । देशमा स्थानीय निर्बाचन सम्पन्न भएर जनप्रतिनिधिहरु छनौट भईसकेका छन ।

पहिलो चरणमा हिमाली तथा केही पहाडी जिल्लाहरुमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्बाचन पनि सम्पन्न भईसकेको छ । देशमा संबिधान समेत निर्माण भईसकेको छ । अब कार्यन्वयनको पाटो भने बाँकी नै छ । तसर्थ हामीले संबिधान कार्यन्वयन,दिगो शान्ति,अमनचयन,बिकास र स्थायी सरकारका लागी योग्य उम्मेदवार रोज्न पाउने सुनौलो अबसर प्राप्त भएको छ ।

हामीलाई सर्बबिदितै छ । लामो समय सम्म स्थानीय निकाय जनप्रतिनिधि बिहिन बन्यो जस्को शिकार मतदाताहरु नै भए । बिकासका कुनैपनि काम नहुँदा, हाम्रो गाँउ, टोल, शहर र नगरहरुमा बिकासको गति रोकियो । बिकासको गति रोकिएपछि स्थानीय ठाँउको बिकास सम्भव थिएन,जुन कारण हामी बिकास वाट बिमुख भयौँ । संबिधान निर्माण र कार्यन्वयन नहुँदा निक्कै ठुलो समस्या भोग्नुपर्यो । लामो समयको अन्तरालपछि स्थानीय निर्बाचन सम्पन्न भयो र प्रदेशसभा र प्रतिनिधिसभाको निर्बाचन पनि आज हुँदैछ ।

कुनैपनि किसिमको डर, त्रास, ब्यत्तिगत लोभ, लालच, प्रलोभनमा नफसी योग्य र दक्ष उम्मेदवारलाई भोट हालेर जिताउनु हामी सबैको दायित्व र कर्तब्य पनि हो । आफैले आफनो योग्य उम्मेदवार चुन्ने यस्तो सुनौलो अवसर फेरी कहिले पाउने हो थाहा हुन्न तसर्थ हामीले धैर्यता र संयमता अपनाएर उम्मेदवार छनौट गरौँ ,जस्का कारण निर्बाचनपछि आफुलाई कुनै पछुतो नहोस । आफनो पक्षमा मत पार्न यतिबेला उम्मेदवारहरु कम्मर कसेर लाग्नु स्वभाविक हो । उनीहरु मतदातालाई बिभिन्न प्रलोभन देखाएर मत आफनो पक्षमा पार्ने र पछि स्वार्थपुर्तिका लागी काम गर्ने चलन पनि पुरानै हो । मतदाताहरु अहिले उम्मेदवारका गुलिया बचनमा भुलेर गलत स्वार्थ बोकेका उम्मेदवारलाई भोट हाल्ने र पछि पछुताउने समेत अबस्था आउन सक्छ ।

तसर्थ आफनो बुद्धिमता प्रयोग गरेर सबल,सक्षम र योेग्य उम्मेदवारलाई मतदान गरेर जिताउनु हाम्रो कर्तब्य हो । तसर्थ त्यस्ता उम्मेदवारलाई जिताऔँ । हामी सबेजना मतदान स्थलमा पुगेर आफुले रोजेको र चाहेको उम्मेदवारलाई मतदान गरौँ,ताकि भोलिका दिनमा हामीले प्रयोग गरेको मतअधिकारको दुरुपयोग नहोस । सबै मतदाताहरुले आफनो मतअधिकारको प्रयोग गरौँ, इमान्दार, कर्तब्यनिष्ठ र बिकासप्रेमी उम्मेदवारलाई निर्धक्क भएर भोट हालौँ ।

तपाईको प्रतिक्रिया