साहित्यकार मनु मन्जिल भन्छन : अरुको प्रेमपत्र लेखेरै क्याम्पसको खर्च टारियो 

मनु मन्जिल चर्चित युवा साहित्यकार हुन  । साहित्य, अनुवाद र कुनै बिषयमा तर्क गर्न खप्पिस मानिन्छन उनी । प्राध्यापन, साहित्य लेखन र अनुवाद उनका मुख्य पेशा झै बनेको छ यतिबेला । राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पुरस्कार समेत प्राप्त गरिसकेका उनी साहित्य क्षेत्रमा सेलिब्रेटी नै मानिन्छन् । बि.सं २०२७ सालमा काभ्रेको साल्मेमा जन्मिएका उनी जागिरे बुबासँगै मकवानपुर, चितवन, बारा, सिक्किम, रौतहट हुँदै अन्य क्षेत्रमा अध्यायन गर्दै २०५२ सालमा त्रिभुवन बिश्वबिद्यालयबाट अग्रेजी साहित्यमा एमएड गर्न सफल भए ।

त्यसपछि प्राध्यापन शुरु गरेका उनी २०५४ सालमा सुनसरीको इटहरीमा आए र त्यहीबाट शुरु भयो उनको संघर्ष र सफलताको जीवन । लामो समय सम्म अभाव र छटपटिमा जीवन बिताएका मन्जिल सम्झिन्छन त्यही अभावले बाँच्न, हाँस्न र संघर्ष गर्न सिकायो र आजको अबस्थासम्म  आईपुगियो । साहित्यमा कविता, गीत, गजल, निबन्ध लेख्न रुचाउने उनका ६ वटा कृतिहरु बजारमा उपलब्ध छन् । अनुवादमा समेत बिषेश दख्खल भएका उनको ७ औँ कृतिका रुपमा निबन्ध संग्रह बजारमा आउने तयारीमा छ । सन २०१० मा दक्षिण एशियाली पुरस्कार बिजेता मन्जिलसँग साहित्य र जीवनका बिषयमा पुर्बेली न्युजका लागी गरिएको कुराकानीका अंशहरु :

पछिल्लो समय के मा ब्यस्त हुनुहुन्छ ?

त्यही हो । लेखन, प्राध्यापन, साहित्य र कलासम्बन्धी बहस यस्तै कार्यक्रमहरुमा समय बिताईहेको छु । साथै सातौ कृतिको रुपमा एउटा निबन्ध संग्रह बजारमा ल्याउने तयारी गरिरहेको छु । साथै एउटा महत्वकांक्षी काम गर्दैछु । सार्कको एउटा एपेक्स बडीले मलाई नेपालका सयजना मुलकविका सयभन्दा बढी कविताहरु अनुवाद गर्ने जिम्मा दिनुभएको छ । म त्यो काममा पनि सक्रिय छु । म काम अलि ढिलो गर्ने भएका कारण थोरै बढी समय लागिरहेको छ ।

साहित्य र प्राध्यापन त फरक पाटो होईन र ?

प्राध्यापन मेरो सौख हो । फेरी मैले यही प्राध्यापन गरेर दुईवटा छोरी हुर्काईरहेको छु । त्यसैले यो रहर सँगै बाध्यता पनि हो । अर्को कुरा अग्रेजी साहित्य अध्यायन गरेका कारण म त्यो अध्यायन गरेको कुरा प्राध्यापन मार्फत बाँडिरहेको छु । साहित्य मेरो मुलबाटो हो । जस्ले मलाई परिचय दियो यो दुबे कुराहरुलाई संयोजन गरेर अगाडी बढेको छु ।

साहित्यमा कसरी र कहिलेदेखि रुचि भयो ?

म सानैदेखि साहित्यमा रुचि राख्थे । मैले २०४४ सालदेखि नै साहित्य लेख्न शुरु गरेको हुँ । २०४६ सालमा पहिलोपटक मेरो म शिर्षकको कविता पत्रिकामा प्रकाशित भएको थियो । त्यतिबेला त आफुलाई भयंकर कवि लाग्दथ्यो । मानौ की लक्ष्मीप्रसाद देवकोटा आफनो छेउमा केही होईनन ।

पहिलोपटक छापिएको कविता र पत्रिकाको नाम याद छ ?

त्यो छैन । कविताको शिर्षक थाहा छ र पत्रिकाको नाम र कविताका हरफहरु याद भएन ।

भनेपछि बिद्यार्थी जिवनमा भेरै कविताहरु लेखिए ?

कति हो कति, त्यस्को हिसाव छैन । बिश्वबिद्यालय अध्यायनका क्रममा मैले कविता र साहित्य मात्र लेखिँन । थुप्रै साथीहरुको प्रेमपत्र लेखिदिँए । भावनामा डुबेर, आफनै प्रेमिका सम्झिएर, क्षितिजको कल्पना गरेर त कति प्रेमपत्र लेखियो । प्रेमपत्र लेखेरै बिश्वबिद्यालयको खर्च टारियो । खर्चको अभाव कहिल्यै भएन प्रेमपत्र लेखिदिए बापत साथीहरुले खर्च दिन्थे ।

अरुको प्रेमपत्र तयति धेरै लेख्नेले आफनो प्रेमपत्र कति लेख्नुभयो ?

लेखियो आफनो पनि प्रेमपत्र धेरै लेखियो । अरुको त लेख्नेले आफनो के छोडिन्थ्यो । पारिवारीक समस्याका कारण आफुले प्रेमपत्र लेखेको सँग बिवाह त भएन तर अहिले पनि एकअर्काप्रति ठुलो सम्मान चाँहि अझै छ ।

तपाईको प्रेमपत्र त सफल भएन नी तपाईले त मागी बिवाह गर्नुभयो ?

हाहाहा धेरै लेखियो प्रेमपत्र तर समय अहिलेजस्तो थिएन । प्रेमपत्र उस्को हातमा पुग्न दुईमहिना लाग्दथ्यो उसको आफुसँग आईपुग्न थप दुईमहिना त्यो बिचमा त्यो प्रेमको भाईब्रेटले दिएको आनन्द चाँहि बडो गज्जबको हुन्थ्यो ।

साहित्यकारहरु झुत्रेझाम्रे हुन्छन, सुकिलामुकिला हुँदैनन भनिन्छ नी ?

म चाँहि यो कुराको बिरोधी हुँ । मलाई चाँहि के लाग्छ भने हामीमात्र किन झुत्रे हुनुपर्ने बिकसित देशहरु बेलायत, अमेरिका लगायतका मुलुकमा कबिहरु राष्ट्रपति भन्दा सुन्दर देखिन्थे, उनीहरुका भन्दा राम्रा लुगा लगाउँथे, आकर्षक देखिन्थे । फेरी झुत्रे हुनु चेतना सँग त्यस्को के सम्बन्ध छ र ? त्यो त संघर्ष गरेको छु भनेर देखाएको मात्र न हो । तर आजको समयमा त तपाई सुकिलो जुत्ता र सुकिलो कपडा लगाएपनि संघर्ष त गरिरहनुभएको छ नी । संघर्ष त झुत्रेझाम्रे देखिएर मात्र हुने होईन नी । लामोलामो दारी पालेर, रक्सी खाएर त संघर्ष देखिने हैन नी,। पहिला पहिला भुपी शेरचनको पालामा, लक्ष्मीप्रसाद देबकोटाको पालामा कस्तो थियो भने कविले जस्तो लगाउँदा पनि हुन्थ्यो । त्यो बेला सञ्चारमाध्यायम नै थिएनन । पत्रिकामा कवि जस्तो भएपनि उसले लगाएको लुगा देखिदैनथ्यो । अहिलेजस्तो क्यामेरा, टेलिभिजन थिएनन । उनीहरुले राम्रो कुरा लेखेपछि हावाले नै राम्रो कुरा फिजाउँदथ्यो । कवि देखिनु पर्दैनथियाे । तर अहिले समय फेरियो कविता सँगै कवि र साहित्यकार पनि सुन्दर देखिनुपर्छ । अहिले त कविहरु सेलिब्रेटी छन । उनीहरुलाई संसारभर हेरिन्छ, सुनिन्छ त्यसैले कविहरु पनि आकर्षक बन्नु जरुरी छ ।

राजनीतिमा कत्तिको चासो छ ?

राजनीतिमा खासै चासो लाग्दैन । पेशा ब्यबसाय गर्ने मान्छे त्यतातिर नै बढी समय ब्यतित गर्छु । एउटा सचेत नागरिकका हिसाबले चासो नै नराख्ने त हुँदैन तर झण्डा बोकेरै हिँडनुपर्छ भन्ने चाँहि लाग्दैन ।

कुन समयमा बढी साहित्य लेख्नुहुन्छ ?

म चाँहि बिशेष गरी रातिको समयमा साहित्य लेख्छु । किनभने त्यस समयमा ध्यान केन्द्रित गर्न सहज हुन्छ । तपाई पटक पटक एउटै कविता बाचन गर्नुहुन्छ भन्ने आरोप छ नी ? हाहाहा आरोप सही हो किनकी महिना र बर्षमा मात्र कार्यक्रममा जान पाए पो, कविता सिर्जना गर्न सकिन्छ,नयाँ कविता भन्न पाईन्छ । कुनैबेला एकैदिन धेरै ठाँउमा कविता बाचन गर्नुपर्छ त्यस्तोमा दोहोरिनु स्वभाविक हो । किनभने नयाँ सिर्जना गर्ने समय नै अपुग हुन्छ ।

साहित्यमा भएका बिकृतिलाई हटाउन के गर्नुपर्ला ?

बडो गाहे छ । हाम्रो समयमा एउटा कविता पत्रिकामा छपाउन बर्षौ मेहनत गर्नुपर्दथ्यो । घोटिँदा घोटिँदा बल्लबल्ल एउटा कविता छापिन्थ्यो । त्यो कवितामा दम पनि थियो । अहिले त यसो लेख्न बस्यो केही मिनेटमै फेसबुकमै भएपनि पोष्ट गर्यो, एकैछिनमा वाहवाही कमायो,साहित्यकार बनिहाल्यो, यस्तो अबस्था छ त्यहि भएर गाहे छ ।

साहित्यमा लागेर गलत गरेँ जस्तो कहिल्यै लागेको छ ?

अँ कहिलेकाँही लागेको छ । जब मैले एकदशक बढी अभाव र पिडाको जिवन बिताएको छु । जिवनमा धेरै संघर्ष गरेको छु । त्यो मोडमा सायद म पनि ब्यापार ब्यबसायमा लागेको भए भन्ने चाँहि लागेको थियो । अहिले चाँहि पटक्कै छैन ।

अन्त्यमा केही भन्न मन लागेको छ ?

मलाई दुईवटा कुरा भन्न मन लागेको छ । बिगत, बिगत भईहाल्यो तर आजको नेपालीहरुमा सबैभन्दा बढी त उच्च शिक्षित हुन । बिभिन्न बहसमार्फत बिश्वलाई हल्लाउन सक्ने खुबीको बिकास होस । सबै नेपालीहरुको अनुहारमा म चमक देख्न चहान्छु । म बिदेशमा जाँदा नेपाली एअरपोर्टहरुमा नेपालीहरु देख्दा म रोएर आएको छु । तसर्थ सारा नेपालीहरु सुखी र उन्नत भएको देख्न चहान्छु ।  दोस्रो कुरा हामी राष्ट्रप्रति कम संबेदनशिल भयौँ की ।

जनताप्रति कम संबेदनशिल भयौँ की । हामी सबै पेशा ब्यबसायमा भएका मानिसहरु सर्बसाधारणप्रति कम जिम्मेवार भयौँ की भन्ने लाग्छ । कम्तिमा हामी सचेत मानिसहरुले चाँहि अरुको बिषयमा पनि थोरै भएपनि सोचौँ भन्ने लागेको छ । नेपालीहरुको शिर संसारमा उच्च राख्न हामी सबैले  आफनो ठाँउबाट थोरै भएपनि जिम्मेवार बन्नुपर्छ जस्तो मलाई लागेको छ । प्रस्तुति : नरेन्द्र बस्नेत

तपाईको प्रतिक्रिया