उदयपुरको चुनावी प्रतिस्पर्धा : नयाँ मतदाता निर्णायक

  • सुखिलाल चौधरी

 उदयपुर /आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि उदयपुर जिल्लामा पछिल्लो पटक थप भएका १८ हजार ४५७ नयाँ मतदाता निर्णायक हुनसक्ने राजनीतिक वृत्तमा विश्लेषण गर्न थालिएको छ ।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा राजनीतिक दलमा खसेको मतका आधारमा त्यस्तो विश्लेषण गर्न थालिएको हो । यस जिल्लामा नयाँ थपिएका मतदातासहितको कुल मतदाता संख्या एक लाख ९३ हजार ९१८ पुगेको छ । स्थानीय तह निर्वाचनमा सहभागी नभएका १८ हजार ४५७ बढी मतदाताले मंसिर २१ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा चुनावमा सहभागी हुँदा त्यतिखेर कुल खसेको मत जोडिँदा दलका उम्मेदवारका लागि निर्णायक बन्नसक्ने राजनीतिक बृत्तदेखि चिया पसलमा आँकलन गर्न थालिएको छ ।

स्थानीय तह निर्वाचनपछि थप भएका मतदाताको संख्यात्मक उपस्थिति हेर्दा यस जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत त्रियुगा नगरपालिकामा पाँच हजार ९७७ जना नयाँ मतदाताको संख्या थपिएका छन् । चौदण्डीगढी नगरपालिकामा तीन हजार ८० र बेलका नगरपालिकामा तीन हजार १२६ नयाँ मतदाता जोडिन पुगेका छन् । यसरी निर्वाचन क्षेत्र नं. १ मा तीन वटै नगरपालिका गरी कुल १२ हजार १८३ नयाँ मतदाता थपिएको छ । तिनै नयाँ मतदाता प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि निर्णायक मत बन्न सक्ने सम्भावना बढी रहेको देखिन्छ ।
त्यसैगरी कटारी नगरपालिकामा तीन हजार २९९ जना र उदयपुरगढी गाउँपालिकामा एक हजार ५७२, रौतामाई गाउँपालिकामा ८१४, ताप्ली गाउँपालिकामा २९५ र सुनकोशी गाउँपालिकामा २९४ जना नयाँ मतदाता थप भएका छन् । यसरी निर्वाचन क्षेत्र नं. २ मा एक नगरपालिका र चार गाउँपालिका गरी छ हजार २७४ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अर्जुन खड्काले बताए ।

यस जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागि दुई र प्रदेश सभा निर्वाचनका लागि चार निर्वाचन क्षेत्र कायम भएका छन् । मंसिर २१ गते दोस्रो चरणको चुनावका लागि वाम गठबन्धन गरी चुनावी मैदानमा उत्रिएका उम्मेदवारको उपस्थिति र स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई आधार मान्दा दुवै क्षेत्रमा वाम गठबन्धन धेरै बलियो देखिएको छ ।स्थानीय तहको नतिजालाई आधार मान्दा उदयपुर क्षेत्र नं १ मा माओवादी केन्द्रले प्राप्त गरेको मत नै वाम गठबन्धनको जीतको आधार हो । वाम गठबन्धनको पक्षमा ४० हजार ७२२ मत देखिन्छ । जुन नेपाली काँग्रेसले पाएको मतभन्दा १६ हजार २९१ मत बढी हो । तर यस जिल्लामा संघिय समाजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल, राप्रपा लगायत दल एक्ला एक्लै चुनावी मैदानमा छ ।त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा ७९ हजार ३२७ मतदाताले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने देखिएका छन् । यस क्षेत्रमा वाम गठबन्धनबाट माओवादीका सुरेश कुमार राई (हिमाल) र नेपाली काँग्रेसका तर्फबाट नारायण कार्की बीच मूख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

स्थानीय तह निर्वाचनको परिणामलाई आधार मान्दा यस क्षेत्रमा वाम गठबन्धनको पक्षमा २९ हजार २०७ मत खसेको देखिन्छ । त्यस्तै नेपाली काँग्रेस, फोरम लोकतान्त्रिक र नयाँ शक्तिको मत जोड्दा १४ हजार ३७ मतको योग देखिन्छ । जुन वाम गठबन्धन भन्दा १५ हजार १७० मतले काँग्रेसको मत कम छ ।पछिल्लो राजनीतिक परिस्थितिलाई विश्लेषण गर्दा यस जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धन बलियो देखिन्छ भने प्रदेशसभा सदस्यको निर्वाचनका लागि हाम्रो होइन राम्रो व्यक्तित्व भएका नेताको छनोटमा मतदान जाने सम्भावना बढी देखिएकाले अहिले नै कसले बाजी मार्ला भनेर आकलन गरिएको देखिँदैन ।

तपाईको प्रतिक्रिया