पुर्वी पहाडमा बम आतंक : कस्ले मच्चाउँदैछ बितण्डा ?

प्रदेश र केन्द्रको निर्बाचनको मिति नजिकिएसँगै प्रदेश नम्बर १ मा पर्ने पुर्वी पहाडी जिल्लामा बम आतंक शुरु भएको छ । उम्मेदवारलाई लक्षित गर्दै मंगलबार मात्र २ वटा बिस्फोट भएका छन । भोजपुर र संखुवासभामा भएका बिस्फोटले निर्बाचन भयरहित छैन र कसैले ब्यत्तिगत स्वार्थका लागी निर्बाचन भाँडने खेलमा लागेको स्पष्ट देखिन्छ । पुर्वी पहाडी जिल्लामा विप्लव निकट नेकपाका कार्यकर्ताहरुले उम्मेदवारको घरमा झण्डा गाडने,घर कब्जा गर्ने र उम्मेदवारी फिर्ता लिन दिएको दबाबले यो घटनामा पनि उनीहरुको संलग्नता रहेको अनुमान लगाउन गाहे छैन ।
मंगलबार मात्र नेकपा एमालेका नेता तथा भोजपुर क्षेत्र नम्बर २ का उम्मेदवार शेरधन राईलाई लक्षित गरी भोजपुरमा बम आक्रमण भएको छ भने संखुवासभामा एमाले नेता राजेन्द्र गौतम चढेको गाडी एम्बुसमा परेको छ । भोजपुरमा आक्रमणबाट राईका अंगरक्षक घाइते भएका छन् भने संखुवासभामा पनि गौतम सहित ४ नेता घाईते भएका छन । गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोला नजिकै गुम्बा मास्तिर उम्मेद्वार राइसहित नेता कार्यकर्ता चढेको गाडीमा बम हानिएको हो ।
सडकको घुम्तिमा पारेर हानिएको बम विस्फोट हुँदा राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक (असई) डिल्ली देवकोटाको हातमा चोट लागेको छ । पूर्वसूचना तथा सञ्चारमन्त्री समेत रहेका राईलाई बम कसले हान्यो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालयले बम प्रहारको पुष्टि गरेको छ । थप अनुसन्धान गर्न र आक्रमणकारीको खोजी गर्न टोली पठाइएको प्रहरीले बताएको छ । यता चुनावी सभालाई सम्बोधन गर्नका लागि संखुवासभाको धुपुबाट बाह्रबिसे जाँदै गरेको गाडी एम्बुसमा परेको हो । एम्बुस बिस्फोटका कारण गाडीमा सामान्य क्षति पुगेको बताइएको छ ।
गाडीमा एमाले नेता राजेन्द्र गौतम, समानुपातिक सभासद् इन्दिरा मिश्र ‘चेतना’, माओवादी केन्द्रका नेता राजेन्द्र कार्की ‘नबिन’ र पूर्ण राईसहित सवार रहेको जानकारी प्राप्त भएको छ । बाह्रबिसेमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न बिहानै त्यसतर्फ हिडेका हुन् । उक्त बिस्पोटपछि त्यहाँ केही समय हेलिकप्टरले गस्ती समेत गरेको छ ।
बिस्फोट कसले र किन गराएको हो भन्ने बारे केहि जानकारी नभएको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । यसअघि रोल्पामा माओवादी नेता वर्षमान पुन र रुकुममा जनार्दन शर्मालाई पनि लक्षित गरी बम आक्रमण भएको थियो । यो आक्रमणमा विप्लव निकट नेकपाका कार्यकर्ताको संलग्नता रहेको अनुमान प्रहरीले गरेको छ ।
Chat Conversation End

तपाईको प्रतिक्रिया