चुनावपछि बन्ने वामपन्थी नेतृत्वको सरकारमा कांग्रेपनि सहभागी हुनुपर्छ : ओली

झापा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरको निर्वाचनपछि वामपन्थीहरुको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै उक्त सरकारमा नेपाली कांग्रेसलाई समेत सहभागी गराउने स्पष्ट पारेका छन् ।  सोमबार रिपोर्टर्स क्लब नेपालले ओलीको गृहनगर झापामा आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मंसिरपछि वाम गठबन्धनको सरकार बन्ने दाबी गर्दै यसप्रति कसैलाई शंका नगर्न समेत आग्रह गरे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले वाम गठबन्धनको बहुमत आउँछ त भनेर कसैले प्रश्न सोध्दा आफूलाई आश्चर्य लाग्ने समेत बताए । उनले भने,‘किन बहमुत नआउनु ? एकदम आरामदायाी बहुमत आउँछ, हाम्रो सरकार बन्छ, कति सिट जित्छ भनेर प्रश्न नगर्नुहोस्, फेरि अरुको निद्रा निद्रा हराम हुन्छ, यस्तो किन गर्नु ?’

उनले चुनावपछि नेपाली कांग्रेस पनि सरकारमा सामेल हुन सक्नेतर्फ संकेत गरे । उनले भने,‘म उहाँहरुलई आग्रह गर्न चाहन्छु, मिलेर गरिबी हटाउँ, हामी यस्ता कुराहरुमा सहमति गरेर अघि बढौं, अब कांग्रेस प्रतिपक्षमा बसिरहन जरुरी छैन, मेरो आग्रह छ, तपाईहरुपनि सरकारमा आउनुहोस्, मिलेर देश विकास गरौं।’
उनले चुनावमा एमाले–माओवादी केन्द्रको गठबन्धनले आरामदायी बहुमत ल्याउने दाबी गरे । ओलीले थपे,‘अबको निर्वाचनमा हाम्रो गठबन्धनले बहुमत मात्रै होईन, सरकार बनाउनेगरिको सम्मानजनक बहुमत ल्याउँछ।’

ओलीले राजनीतिको लागि मात्रै राजनीति नभएर आफूहरुले देश बनाउनको लागि राजनीति गरिरहेको उल्लेख गर्दै भने,‘देशलाई अघि बढाउनको लागि, देशमा लोकतान्त्रिक प्रणाली स्थापित गर्नको लागि, आर्थिक नीतिहरु सही बनाउनको लागि, स्थायित्व र सामाजिक संस्कारहरु सही बनाउन, असल साँस्कृतिक विधिको प्रबन्ध गर्नको लागि राजनीति हो, अहिले संविधानमार्फत हामी नयाँ संघीय संरचनामा जाँदैछौं, जनताको सपनालाई साकार बनाउनेगरि अब केन्द्रमा, प्रदेशमा नयाँ सरकार बन्छ । स्थानीय सरकार बनिसकेको छ ।’

आज सही नीतिका साथ देशलाई एकताको बाटोमा अघि बढाउने, नेपाललाई लोकतान्त्रिक त्योपनि फराकिलो लोकतन्त्रको बाटोमा अघि बढाउने, स्थायित्वको लागि बहुमतको सुदृढ सरकार चाहिने भएकोले उक्त उद्देश्य प्राप्तिको लागि एमाले र माओवादी केन्द्रवीच चुनावी तालमेल र एकताको प्रयास भएको ओलीको भनाई थियो ।

तपाईको प्रतिक्रिया