उदयपुरमा बाम गठबन्धन अगाडी, यस्तो छ चुनावी अंकगणित

उदयपुर  / आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि उदयपुर जिल्लामा स्थानीय तह निर्वाचनको परिणामलाई लिएर राजनीतिक वृत्तमा विश्लेषण गर्न थालिएको छ ।भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा राजनीतिक दलमा खसेको मतका आधारमा त्यस्तो विश्लेषण गर्न थालिएको हो । यस जिल्लामा स्थानीय तह निर्वाचनमा १ लाख ७५ हजार ४६१ मतदाता रहेकोमा ७० प्रतिशत भन्दा बढीले मतदानमा भाग लिएका थिए ।

यस जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागि दुई निर्वाचन र प्रदेश सभा निर्वाचनका लागि चार निर्वाचन क्षेत्र कायम भएका छन् । मंसिर २१ गते दोस्रो चरणको चुनावका लागि वाम गठबन्धन पश्चात चुनावी मैदानमा उत्रिएका उम्मेदवारको उपस्थिति र स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई आधार मान्दा दुवै क्षेत्रमा वाम गठबन्धन धेरै बलियो देखिएको छ ।उदयपुरको निर्वाचन क्षेत्र नं १ मा स्थानीय तहको निर्वाचनमा १ लाख २ हजार ४०८ जना मतदाता रहेको थियो भने अहिले नयाँ थप भएका मतदातासमेत गरी कुल मतदाता संख्या एक लाख १४ हजार ५९१ पुगेको छ । चुनावी मैदानमा वाम गठबन्धनबाट एमालेका मन्जुकुमारी चौधरी र नेपाली काँग्रेसबाट डा. नारायण खड्का विच प्रतिस्पर्धा हुँदैछ ।

स्थानीय तहको निर्वाचनलाई आधार मान्दा उदयपुर क्षेत्र नं. १ मा एमाले २४ हजार ५१६ मत प्राप्त गरेको थियो भने नेपाली काँग्रेसले २४ हजार ४३१ मत प्राप्त गरेको तथ्याङ्क देखिन्छ । जसमा एमाले ८५ मतको अन्तरले अगाडी देखिन्छ । स्थानीय तह निर्वाचनमा एक्लै चुनावी मैदानमा भिडेको नेकपा (माओवादी केन्द्र)ले १६ हजार २०६ मत, संघिय समाजवादी फोरम नेपालले एक हजार ४०४ मत, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)ले ३६९ मत, नयाँ शक्ति पार्टीले १२४ मत र राप्रपाले ९२५ मत पाएको थियो । स्थानीय तहको नतिजालाई आधार मान्दा उदयपुर क्षेत्र नं १ मा माओवादी केन्द्रले प्राप्त गरेको मत नै वाम गठबन्धनको जीतको आधार हो ।

वाम गठबन्धनको पक्षमा ४० हजार ७२२ मत देखिन्छ । जुन नेपाली काँग्रेसले पाएको मतभन्दा १६ हजार २९१ मत बढी हो । तर यस जिल्लामा संघिय समाजवादी फोरम नेपाल, राप्रपा एक्ला एक्लै चुनावी मैदानमा छ ।त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा ७९ हजार ३२७ मतदाताले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने देखिएका छन् । यस क्षेत्रमा वाम गठबन्धनबाट माओवादीका सुरेश राई (हिमाल) र नेपाली काँग्रेसका तर्फबाट नारायण कार्की बीच मूख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

स्थानीय तह निर्वाचनमा उदयपुर २ बाट नेपाली काँग्रेसले १३ हजार ९२५ मत पाएको थियो भने नेकपा (एमाले)ले १६ हजार ६४८ मत ल्याएका थिए । जसमा नेपाली काँग्रेस भन्दा एमाले दुई हजार ७२३ मतले अगाडी देखिन्छ । यस्तै माओवादी केन्द्रले १२ हजार ५५९ मत र अन्य साना दलमा संघिय समाजवादी ४३१, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक ६८, राप्रपा १४६ र नयाँ शक्ति नेपालले ४४ मत ल्याएको जिल्ला निर्वाचनको तथ्याङ्कले देखाउँछ ।स्थानीय तह निर्वाचनको परिणामलाई आधार मान्दा यस क्षेत्रमा वाम गठबन्धनको पक्षमा २९ हजार २०७ मत खसेको देखिन्छ । त्यस्तै नेपाली काँग्रेस, फोरम लोकतान्त्रिक र नयाँ शक्तिको मत जोड्दा १४ हजार ३७ मतको योग देखिन्छ ।

पछिल्लो राजनीतिक परिस्थितिलाई विश्लेषण गर्दा यस जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धन बलियो देखिन्छ ।

तपाईको प्रतिक्रिया