डेंगू रोगका कारण झापामा एकको मृत्यु, १२० जना संक्रमित

सुरुङ्गा/ झापामा डेंगू रोगको प्रभावकारी नियन्त्रण हुन नसक्दा डेंगू रोगको संक्रमणका कारण एक व्यक्तिको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–४ बिर्ताबजारका ४० बर्षीय उमेश साह रहेको बिर्ता हेल्थ क्लिनिकका सञ्चालक ब्रजेशकुमार मेहताले जानकारी दिनुभयो । केही दिनदेखि ज्वरो आउने, जोर्नी दुख्ने लगायतका समस्याका कारण उनी स्वास्थ्य जाँचका लागि बिर्ता हेल्थ क्लिनिक आएका थिए । क्लिनिकमा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीएण्डसी अस्पताल पठाएको र अस्पताल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको मेहेताले बताउनुभयो ।

गत असोज ६ गते बिर्तामोड नगरपालिकामा देखा परेको डेंगू रोगको संक्रमण अहिले दमक, कनकाई, अर्जुनधारा, काँकरभिट्टा नगरपालिका र वुद्धशान्ति गाउँपालिकामा देखापरेको छ । झापामा हालसम्म १ सय २० जना मानिसमा यो रोगको संक्रमण देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । भाइरल फिवरका रुपमा चिनिने डेंगू संक्रमण फैलन थालेपछि स्थानीयमा त्रास बढ्नुका साथै अस्पतालमा बिरामीको चाप पनि बढेको छ ।

तपाईको प्रतिक्रिया