सामाचकेवा पर्व शुरु

विराटनगर / मिथिलाञ्चलमा भाइटिकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइ प्रेमको प्रतीकका रुपमा रहेको सामाचकेवा पर्व आजबाट विधिवत रुपमा शुरु भएको छ । कात्तिक शुक्ल द्वितिया तिथि अर्थात आजदेखि कात्तिक पुर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका लागि आजै कलात्मक मूर्ति बनाउनका लागि माटोको जोहो गर्नुपर्ने भएकाले पर्वको शुभारम्भका रुपमा लिने गरिएको हो ।

यो पर्वका लागि दिदीबहिनीले माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर कात्तिक पुर्णिमाको मध्यरात्रिमा विशेष पूजापाठ गरी पर्वको सम्पन्न गर्ने गर्छन् । काँचो माटोको बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र सोही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेबा’ भनिन्छ ।
भगवान कृष्णकी छोरीको नाम सामा थियो । आफ्ना पिता कृष्णबाट श्रापित भएर ‘चरा’ बनेकी सामालाई भाई साम्बले चराबाट मुक्त गराएकाले भाइ साम्बलाई ‘चकेवा’को नामाकरण गरिएको हो । तसर्थ, यो पर्व सामाचकेवा पर्वको रुपमा प्रसिद्ध भएको हो ।

यो पर्व मैथिलानी र थारु समुदायकी महिलाहरुले मनाउने गरिन्छ । ग्रामीण क्षेत्रमा अझैं पनि यो पर्वको लोकप्रियता कायमै छ भने तराईका सहरी क्षेत्रमा क्रमिक रुपमा यो पर्वप्रतिको आकर्षणमा केहि कमी आएको महशुस गर्न थालिएको छ । भविष्य पुराणमा उल्लेख गरिएअनुसार, सामाकी नोकरानी डिहुलीले सामा जतिखेर बृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरुसँग रमण गर्ने गरेको झुठो कुरा कृष्णसमक्ष लगाइन् । भगवान कृष्ण आवशेमा आएर सामा र बृन्दावनका समस्त ऋषिहरुलाई चरा बन्ने श्राप दिनुभयो ।

सामाको भाइ साम्बले जव यी विषयहरुमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामासहित सवै ऋषिहरुलाई श्रापबाट मुक्त गर्नुभयो । भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अवदेखि जसले माटोको सामा बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन्, उसको दाजुभाइ दीर्घायु हुने बरदान सामाले दिनुभएपछि यो पर्वको शुभारम्भ भएको धार्मिक मान्यता छ ।

यस पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउने कार्यको थालनी हुन्छ । सो दिन सिरी सामा, दोश्रो दिन चकेबाका साथै एक पातिमा बसेका सातवटा चरा जसलाई सतभैंया भनिन्छ । त्यसपछि क्रमिक रुपमा खररुची भैया, बाटो बहिनो, दुई मुखबाला चरा, भाग्य चक्र कारण विमुख भएका दाजुबहिनीको मूति बनाइन्छ । यसका साथै बृन्दावन जङ्गल, भूmठो कुरा लगाउने चुगलखोरका साथै बनाइएका ती मूर्तिहरुलाई विभिन्न रङ्गमा रङ्गने कार्य गरिन्छ ।

यस पर्वमा सवैभन्दा रोचक भनेको दिदीबहिनीले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशसाका साथै आशिष दिने खालका सामा गीत गाउने गरिन्छ । सोही क्रममा आपूmलाई चाहिएका सरसमान पनि गीतको माध्यमबाट सुनाउने र विकासका लागि पनि आग्रह गर्छन् । जुन यस प्रकारका छन् ।
गामके अधिकारी तोहे बड्का भैंया हो ।  भैया, पोखरी खुनाइ दिह, चम्पा पूmल लगाइ दिह हो ।।

अर्थात, गाउँको अधिकारी वा गाउपालिकामा निर्वाचित पदाधिकारीका रुपमा रहनु भएका दाजुलाई सम्बोधन गर्दै गाउँमा पोखरीको निर्माण गर्नु र पूmल रोप्न अर्थात विकास निर्माणको कार्य गर्न गीतको माध्यबाट आग्रह गरिन्छ । यस पर्वमा विभिन्न प्रकारका सयौं लोकगीतहरु गाउने गरिन्छ । गीतको माध्यमबाट दिदीबहिनीले दाजुभाइलाई सुखदुःख सुनाउने र उपभोग्य वस्तुहरुको पनि माग गर्ने गरिन्छ ।

आ–आफ्ना आँगनमा त्यस्ता गीत गाएर सो पर्व समापनका लागि महिलाहरु बाँसको टोकरीमा माटाका निर्मित मूर्तिलगायत पुजा सामाग्री बोकेर गीत गाउँदै चौंवाटो, खुल्ला चौंर वा फुलबारीमा पुग्ने गर्छन् । सम्पूर्ण टोलकी महिलाहरु एक ठाउँमा भेला भएर पर्वको अन्तिमरुप दिने गर्छन् ।

सो अवसरमा सवैभन्दा पहिले भाइले सामा फोडेपछि चुगला र बृन्दावन जलाइन्छ । एक अर्कासँग मूर्तिहरु साटासाट गरेर घर फर्कने क्रममा पुनः गीत गाउँदै आँगनमा पुगेर ‘झुम्मरी’ गीत गाएर पर्वको समापन गरिन्छ । यस पर्वमा प्रसादको रुपमा नयाँ धानको चिउरा, दही, मिठाइका साथै नयाँ धानको बाला समेत राख्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया