राजनीति फोहरी खेल होइन, खेलाडी फोहरीः सभापति राठौर

काठमाडौँ, १७ भदौ । संसदको सुशासन तथा अनुगमन समितिका सभापति मोहनसिंह राठौरले राजनीति फोहरी खेल नभएर राजनीतिकर्मी फोहरी भएको बताउनुभएको छ ।  संवाद डबलीमा रसाइली बन्धु एकता समाजद्वारा आयोजित शुभकामना तथा बधाई कार्यक्रममा सभापति राठौरले भन्नुभयो, “राजनीति आफैँमा फोहरी खेल होइन, राजनीतिकर्मी फोहरी छन् । राजनीतिबिना राज्य र नागरिकको कल्पना गर्न सकिँदैन, त्यसैले राजनीति अनिवार्य छ तर छलछाम र झुटको राजनीति होइन ।”

संस्थाको नयाँ कार्यसमितिलाई बधाई दिँदै सभापति राठौरले जातीय विभेदविरुद्ध लाग्न समाजलाई आग्रह गनुृभयो । कार्यक्रममा सांसद् जगदिश्वर नरसिंह केसीले देशमा गणतन्त्र आईसकेका कारण जातकै कारण कसैले हिनताबोध गर्नु नपर्ने बताउनुभयो । सबैले पार्टीमा आस्था राखेपनि सामाजिक कार्यमा एकजुट भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । हालै गठन भएको समाजको कार्यसमितिका सहअध्यक्षमा चित्रबहादुर रसाईली, उपाध्यक्ष मनिषा सुनार रसाइली, महासचिव मेखबहादुर रसाइली, कोषाध्यक्ष शेरबहादुृर सुनार र सचिव भीमबहादुर विक हुनुहुन्छ । त्यसैगरी, सदस्यहरूमा अमृत सुनार, जीतमाया विश्वकर्मा, ताराकुमारी विश्वकर्मा, भीमबहादुर रसाइली, महेशकुमार रसाइली, कमलबहादुर विश्वकर्मा र सुरेश विक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया