सूचना केन्द्र सञ्चालनमा ल्याउने तयारी

इलाम, २८ मङ्सिर । पूर्वी प्रवेशद्वारका रूपमा रहेको पशुपतिनगरमा विशेषगरी तेस्रो मुलुकबाट प्रवेश गर्ने पर्यटकलाई लक्षित गरी निर्माण गरिएको पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याउने तयारी भएको छ ।

मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको रु ४६ लाखको लागतमा व्यवस्थित सूचना केन्द्र निर्माण गरिएको हो । आव २०६९÷७० देखि सुरू गरिएको सूचना केन्द्र गत भदौमा सम्पन्न गरिएको समितिका लेखा शाखाका प्रमुख सञ्जीव पौडेलले जानकारी दिनुभयो ।

पश्चिम बङ्गालबाट आउने र आन्तरिक पर्यटकलाई सहज होस् भनेर सूचना केन्द्र निर्माण गरिएको उहाँले बताउनुभयो । पूर्वी पहाडी क्षेत्रका सन्दकपुर, छिन्टापु, तुम्लिङ, कालपोखरीलगायत पर्यटकीयस्थलको अवलोकनका लागि आउने पर्यटकलाई जानकारी लिन सहज होस् भनेर सूचना केन्द्र निर्माण गरिएको हो ।

सूचना केन्द्र निर्माणपछि सञ्चालनको जिम्मेवारी स्थानीयलाई नै दिनेबारे छलफल भइरहेको मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले जनाएको छ । पशुपतिनगर हुँदै धेरै पर्यटक आउने गरेपनि सूचना केन्द्र नहुँदा कति पर्यटक जिल्ला भित्रिए भन्ने यकिन हुन सकेको थिएन् । रासस

तपाईको प्रतिक्रिया

Loading…