सुनसरी र मोरङका जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र धरापमा

बेलबारी । सरकारको प्राथमिकता र चासोमा नपर्दा ठुलो सम्भावना बोकेको जडिबुटीको उत्पादन तथा प्रबद्र्धन गर्ने कम्पनीहरु ओझेलमा पर्दै गएका छन् । प्रचुर सम्भावना बोकेको यो क्षेत्रलाई सरकारले बजेट लगायतका अत्यावश्यक कुराहरु उपलब्ध नगराउँदा समस्या भईरहेको छ । मोरङको बेलबारी तथा सुनसरीको तरहरामा रहेको जडीबुटी उत्पादन गर्ने कम्पनी अहिले जिर्ण अवस्थामा पुगेका छन ।

 

बि.सं. २०५० सालमा स्थापना भएका यी कम्पनीले पुरानै परम्परागत प्रविधि मार्फत जडिबुटी प्रशोधन गर्दै आएका छन । कम्पनीलाई आधुनिकीकरण र प्रविधिमैंत्री बनाउन नेपाल सरकारले खासै चासो नदिएका कारण कम्पनी जिर्ण बन्दै गएको जडिबुटि उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड बेलबारीका प्रमुख फडिन्द्र थापा बताउँछन । कम्पनीले सुनसरीको तरहरामा २५ हेक्टर र मोरङको बेलबारी शाखामा ७० हेक्टर क्षेत्रफलमा जडिबुटी खेती गर्दै आएको छ । कम्पनीले सिटोनेला, लेमनग्रास, पामारोजा, फ्रेन्च वेसिल, मेन्था, क्यामोमाईल, मसला लगायतका जातको खेती गर्दै आएको छ ।

देश तथा विदेशमा यी जडिबुटिको माग उच्च रहेको छ । प्रशोधन गरेको झोल औषधी बनाउन, विभिन्न उच्चस्तरका अत्तर तथा फरफ्युम निर्माणमा प्रयोग हुने गरेको छ । यी जडिबुटीको सुगन्धका लागि उच्च ब्राण्डका पेय पदार्थमा पनि प्रयोग गर्न विदेशमा ठुलो माग रहेको छ । प्रशोधन केन्द्रले बार्षिक ५ मेट्रिक टन उत्पादन गर्ने लक्ष्य राखेर काम गर्दै आएको छ । तर यो लक्ष्य अनुसार पनि उत्पादन हुन सकेको छैन । बार्षिक रुपमा ४ मेट्रिक टन सम्म उत्पादन हुँदै आएको छ । मल, विऊ, सिचाईको उचित प्रवन्ध गरी खेती गर्न सके दुई शाखामा बार्षिक ८ टन सम्म उत्पादन गर्न सकिने जटिबुटी बेलबारी प्रशोधन केन्द्रका कर्मचारी बताउँछन ।

 

बार्षिक रुपमा उत्पादनको परिमाण घटदै गएको छ । रोजगारी सृजना हुने र आम्दानी हुने यस्ता क्षेत्रमा सरकारको ध्यान जान सकेको देखिदैन । आफ्नै देशको सम्भावनालाई लत्याएर सरकारले नै बिदेशी बस्तुको प्रचारमा गर्नु देशकै हित विपरित हुने सर्बसाधारणको बुझाई छ । सरकारले यस्ता क्षेत्रमा लगानी बढाउन र संरक्षण गर्नु जरुरी रहेको स्थानीय बासिन्दाको सुझाब रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...