संयुक्त संयन्त्र यूएईको पिडितहरुलाई राहत वितरण

२०७४ भाद्र ६ गते । दुवईमा क्रियाशिल विभिन्न संघसंस्था र व्यवसायीहरु मिलि बनेको संयुक्त संयन्त्र यूएईले आदिवासी जनजाति युवा महासंघ, नेपाल इटहरीसँग सहकार्य गरी बाढी पिडितहरुलाई राहत वितरण गरेको छ । इटहरी–१० स्थित शिव नारायण टोल र इटहरी–९ का मरिक टोलका बाढी पीडितहरुलाई महासंघले स्थानीय प्रतिनिधिको रोहवरमा प्रति परिवार १ थानको दरले ८० थान प्रेसर कुकर वितरण गरेको जानकारी युवा महासंघ इटहरीका अध्यक्ष छिरिङ शेर्पाले बताए ।

बाढी पीडितलाई राहत वितरणमा खाद्यान्न, लत्ता कपडा इत्यादी अन्य संघसंस्थाहरुले वितरण गरेको तर प्रेसर कुकर कमैले मात्रै वितरण गरेको हुँदा आफूहरुले प्रेसर कुकर वितरण गरेको जानकारी आएको छ । राहत वितरणमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् सुनसरीका अध्यक्ष राम माण्डुपा राई, आदिवासी जनजाति युवा महासंघ जिल्ला समिति सुनसरीका अध्यक्ष मिक्सो सेर्मा लिम्बू लगायतको उपस्थिती थियो ।

नेपालमा बाढीको त्रास बढेसंगै यूएईमा समाज सेवा गर्ने पवित्र उद्देश्यले स्थापित विभिन्न जातिय, जिल्लागत संघसंस्था तथा व्यवसायीहरु सम्मिलित ५१ ओटा संघसंस्थाले संयुक्त रुपमा “बाढी पीडित राहत उद्दार संयुक्त संयन्त्र यूएई” गठन गरी राहत संकलनमा जुटेका थिए । उक्त संयन्त्रका संयोजक नेपाली समाज यूएईका निवर्तमान अध्यक्ष चन्द्र प्रसाद सापकोटा, राहत वितरण संयोजक नेपाल आदिवासी जनजाति महासंघ यूएईका अध्यक्ष पासाङ शेर्पा र लेखा समिति संयोजकमा यूएईका नेपाली व्यवसायी नानुकाजी अर्याल रहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...