मुनाकुमारी बचाउ अभियान जारी

अस्पताल पुगेरै महिलाद्धारा दोस्रो पटक आर्थिक सहयोग प्रदान

 

इटहरी । दुबै मृगौलामा खराबी आई उपचारा गराईरहेकी इटहरी ३ खोर्सानेखाप निवासी ४६ बर्षीया मुनाकुमारी धिमाल बचाउ अभियान संचालन गरेको महिला आधारशिला सुनसरीले अस्पतालमै पुगेर थप आर्थिक सहयोग उपलब्ध गराएको छ ।  आर्थिक अवस्था ज्यादै कमजोर भएका कारण जीवनमरणको अवस्थामा पुगेकी मुनाकुमारीलाई बचाउनका लागि तीन साता अघिबाट महिला आधारशिला सुनसरीको इटहरी १ स्थित सृजनशिल महिला समूहले अभियान संचालन गरेको थियो ।

अभियान अन्तरगर्त बिभिन्न व्यक्तिबाट इच्छाले प्रदान गरेको एकमुष्ट १८ हजार ५ सय ३० रुपियाँ मुनाकुमारीकै निवासमा पुगेर महिलाहरुले प्रदान गरेका थिए । सोही रकम लिएर उपचारका लागि मुनाकुमारीलाई विराटनगर स्थित नोबेल अस्पतालमा भर्ना गरिएको श्रीमान् खोर्सानेखाप होमस्टे संचालक समितिका अध्यक्ष आशबहादुर धिमालले जानकारी दिए ।

उपचारका लागि कम्तीमा ५ लाखबढी लाग्ने भएपछि धिमाल परिवार चिन्तामा डुबेको थियो । अभियान चलाएका महिलाहरुबाट आर्थिक सहयोग मिलेपछि मुनाकुमारीलाई बचाउन सकिन्छ भन्ने विश्वास लागेर अस्पताल भर्ना गरिएको श्रीमान् आशबहादुरले बताए । नोबेल अस्पतालको मेडिकल वार्डको ८ नम्बर वेडमा राखेर उपचार गराई रहेकी मुनाकुमारीको थप उपचारका लागि अस्पताल नै पुगेर दोस्रोपटक २७ हजार २ सय २५ रुपियाँ प्रदान गरेको महिला आधारशिला सुनसरीकी अध्यक्ष सुशिला उप्रेतीले जानकारी दिइएकी छन् । उनका अनुसार अप्रेशनका लागि चाहिने रगतको पनि जोहो गरिदिएको उप्रेतीले बताएकी छन् । उनको उपचारका लागि खटिएका डा.शैलेन्द्र श्रेष्ठका अनुसार मुनाकुमारीको एउटा किड्गी पुरै खराब भएको र अर्को बचाउने ८० प्रतिशत संभावना छ । डा.श्रेष्ठले पनि महिलाहरुको मुनाकुमारी बचाउ अभियानको प्रशंसा गर्दै मुनाकुमारीको उपचारमा आफ्नो व्यक्तिगत रुपमा गर्न सक्ने सहयोग बचन दिएको सृजनशिल महिला समूह इटहरी १ संगीतचौंकी उपाध्यक्ष जमुना गुरुङले बताइन् ।

डाक्टरले मुनाकुमारीको दाईने पट्टीको मृगौलामा रहेको स्टोन अप्रेशनका लागि डाक्टरले आउदो बुधबार समय तोकेको छ । स्टोन निकालेपछि पुरै खराब भएको मृगौलालाई पनि अप्रेशन गरि फ्याक्नु पर्ने सल्लाह डाक्टरले दिएको गुरुङले जानकारी दिइन् । उनको उपचारका लागि अस्पतालमा सकेसम्म छुट गराउनका लागि पनि अस्पतालका प्रमुख सुनिल शर्मासंग कुराकानी गर्नका लागि समय मागिएको सृजनशिल महिला समूहकी कोषाध्यक्ष गोमा भण्डारीले बताइन् । मुनाकुमारीलाई पूर्ण रुपमा स्वास्थ्य नहुन्जेलसम्ममा आर्थिक संकलन अभियान चलाईरहने अभियानमा सहभागी महिला आधारशिला सुनसरीकी सदस्य नितु कार्कीले बताएकी छन् । तीन सातामा अभियान संचालन गरि मुनाकुमारीको उपचारका लागि दुई पटक गरि कूल ४५ हजार ७ सय ६० रुपियाँ प्रदान गरिसकेको सृजनशिल महिला समूहकी सदस्य शुसिला श्रेष्ठले जानकारी दिएकी छन् ।

मुनाकुमारीका लागि व्यानरै बनाएर इटहरीको मुख्य बजारका पसलहरुमा आर्थिक संकलनका लागि बिहानदेखि बेलुकासम्म अभियान संचालन गरेको समूहकी सदस्य कविता कोईरालाले बताइन् । आफुहरुको अभियानमा केही पुरुषहरुले पनि साथ दिएको अर्की सदस्य बर्षा राईले बताइन् । गरिबका लागि अस्पतालले बिषेश सहयोग गर्नुपर्नेमा त्यो नगरेको आफुहरुले पाएको राईले जनाइन् । मृगौला रोगीका लागि राज्यले पनि छुटको व्यवस्था गरेको भनेपनि मुनाकुमारीले सो सुविधा प्राप्त गर्न नसकेको समूहकी अध्यक्ष बिना केसीले बताइन् ।

तपाईको प्रतिक्रिया

Loading...