बाढीका कारण झापाका अधिकांश ठाँउहरु डुबानमा, ३ सय बढि परिवार विस्थापित

झापा । केही दिन यता परिरहेको भारी वर्षाका कारण झापामा  १२ घरपरिवार विस्थापित भएका छन्न् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाले दिएको जानकारी अनुसार गौरीगञ्जमा ८ र झापा गाउँपालिकामा ४ गरी १२ घरपरिवार विस्थापित भएका हुन् । शुक्रबार कनकाई नदीमा आएको बाढीले विस्थापित गौरीगञ्ज गाउँपालिका-२ का ५ घरपरिवार अहिले आमगाछी प्राथमिक विद्यालयमा बस्दै आएका छन् ।

यसअघि बिहीबार कमल नदीमा आएको बाढीले सोही गाउँपालिकाको वडा नंं. १, सुकुम्वासी वस्तीका ३ घर परिवार विस्थापित भएका छन् । त्यस्तै, जिल्लाको दक्षिणी क्षेत्र झापा गाउँपालिकाको वडा नं. ७, मदरगाछमा कनकाई नदी पस्दा ४ घरपरिवार विस्थापित भएको रेडक्रसका अभिशेक पोखरेलले अनलाइनखबरलाई बताए । उनका अनुसार विस्थापितहरु अहिले छिमेकीको आश्रय लिएर बसिरहेका छन् ।

३ सय ९ परिवार प्रभावित

त्यसैगरी, जिल्लाका ३ सय ९ घरपरिवार बाढीबाट प्रभावित बनेको बताइएको छ । रेडक्रसका अनुसार भद्रपुर नगरपालिका-१, साबिक पृथ्वीनगर-८ मा १५० परिवार डुवानमा परी प्रभावित भएका छन् । भद्रपुरकै भैसावाडी भन्ने स्थानमा मेची नदीमा पानीको बहाव बढ्दा १ सय ३० परिवार डुवानमा परेका छन् । गौरीगञ्ज गाउँपालिकाको वडा नं. १, साबिक महाभारा-९, रङ्गिया थानमा कनकाई नदीको पानी पस्दा जमिन कटान गरिरहेकाले प्रत्यक्ष रुपमा ५० देखि ६० परिवार तथा अप्रत्यक्ष रुपमा ५ सयदेखि ६ सय परिवार जोखिममा रहेको रेडक्रसले जनाएको छ । मेचीनगर नगरपालिका-१५, साविक ज्यामिरगढी-१, सेडाईँ वस्तीमा न्ािन्दा खोलामा आएको बाढीले जमिन कटान गर्दा ४५ घर जोखिममा रहेका छन् भने त्यसमध्ये ६ घरपरिवार उच्च जोखिममा रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया