बाक्लो हिमपातले जनजीवन प्रभावित, किसान उत्साहित (फोटोसहित)

ओखलढुंगा, पुस १७ / बाक्लो हिमपातपछि ओखलढुंगा र सोलुखुम्बुको लेकाली गाविसहरु सेताम्मे भएका छन् । हिमपातसँगैको चिसाका कारण जनजीवन प्रभावित भएको छ । चिसोले विद्यालयहरुमा विद्यार्थी संख्या घटेका छन् भने सर्वसाधारणको चहलपहल घटेको छ । ओखलढुंगाको उत्तरी गाविसहरु पात्ले, जन्तरखानी, भुसिंगा, रावादोलु, खिजीफलाँटे, रगनी लगायतका गाविसको माथिल्लो भेगमा एक फिट भन्दा बाक्लो हिउँ परेको छ । शनिबारदेखि शुरु भएको हिमपात आईतबारसम्म दुई फिट हिउ जमेको छ । हिउँ परेपछि स्थानीय कृषकहरु भने खुशी भएका छन् । हिमपात भएपछि गहुँ, उवा, आलु, मकै जस्ता बाली फस्टाउने पात्लेका स्थानीय बाबु शेर्पाले बताउनुभयो ।

हिमपातकै कारण लेकाली भेगका सडक अबरुद्ध भएको छ । पुषको मध्यतिरै हिमपात नभएको वर्षौं भएकोमा यसवर्ष भने छिट्टै हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । हिमपातले चिसो बढेकै कारण आधा भन्दा बढी विद्यार्थी विद्यालय नआएको जनकल्याण आधारभूत विद्यालय पात्ले २ की सहयोगी मनिका तामाङले बताउनुभयो । भुकम्पले भत्काएको कारण टहरामा कक्षा संचालन हुँदै आएका विद्यालय सबैभन्दा बढी चिसोको मारमा परेका हुन् ।

तपाईको प्रतिक्रिया