पैसा खाने सडक !

सरोकारवाला भन्छन्ः पहाड मात्रै भत्काइन्छ सडक बन्दैनन्

ओखलढुंगा / ‘सरखार लागोस्’ सराप्दा प्रयोग हुने पुरानो शब्दावली हो यो । घरमाथि सडक खन्दा घुरेन पुरिएपछि फेदिगुठ गाविसकी अन्दाजी ७५ वर्षीया बृद्धाले स्काभेटर चालकलाई यसरी नै ‘यिनीहरुलाई सरखार लागोस्’ भनेर सरापिन् । उनले एक पटक सडक खनेर आँगन पुरेका कारण सरापेको होइन, हरेक वर्ष खन्ने र आँगनमा माटो हालिदिन तर पुरा नहुने भएकाले सरापेकी रहिछन् ।  नाम सोधे पनि उनले झर्केर ‘मेरै बारी खनेर आँगन पुर्नेलाई किन चाहियो नामसाम’ भन्दै आक्र्रोस पोखिन् । साँघुटार–ओखलढुंगा सडक खने पनि कहिल्यै नसकिने समस्याले उनी जस्ता हजारौं स्थानीय बासिन्दा प्रताडित त छन् नै, ०६३ सालदेखी निर्माण थालिएको सडकमा अहिलेसम्म गाडी चल्न सकेको छैन । यो सडक पश्चिम क्षेत्रलाई सदरमुकाम ओखलढुंगा जोड्ने एकमात्र सडक हो ।

त्यस्तै अर्को रणनीतिक महत्वको सडक मोलुङ एकवार पनि हो । संसाद यज्ञराज सुनुवारको सिफारिसमा बजेट विनियोजन हुँदै आएको उक्त ‘मोलुङखोला करिडोर सडक’ निर्माण सुरु भएको आठ वर्षमा जम्मा तीन किलोमिटर मात्र ट्रयाक खोलिएको छ । यति काम सक्न दुई करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।  २०६४ सालमा जिल्ला विकास समितिको २० लाख रुपैयाँ बजेटमा उपभोक्ता समितिमार्फत सडक निर्माण अघि बढाइएको थियो । त्यसपछि प्रत्येक आर्थिक वर्षमा राष्ट्रिय योजना आयोगले रातो किताबमै उल्लेख गरेर ३० लाखभन्दा बढी विनियोजन गर्दै आएको छ ।

दशकदेखी रणनीतिक महत्वका सडक अलपत्र

यस्ता महत्वपूर्ण सडकमध्ये निर्माण थालेर दशक देखी अलपत्र हुँदै आएका तर वित्तीय प्रगति भने देखिएर बजेट खर्च भएका साँघुटार–ओखलढुंगा–सिलौरीघाट सडक र मोलुगं एकवार सडक अन्तर जिल्ला र व्यापारिक केन्द्र जोड्ने सडक हुन् । यी सडकले उदयपुरको घुर्मीदेखी सोलुखुम्बु र रामेछापको मन्थलीदेखी सदरमुकाम ओखलढुंगा हुँदै खोटाङ र सोलुखुम्बु जोड्ने छन् ।

साँघुटार ओखलढुंगा सडकको ८० किलोमिटर खण्डमा जिल्ला विकास समिति, गाविस र राष्ट्रिय योजना आयोगको कति खर्च भयो सडक डिभिजन कार्यालयलाई नै बजेटबारे जानकरी छैन । हर्कपुर सडक डिभिजन कार्यालयका प्रमुख ईश्वर रिजालले विगतमा योजना डुब्लिकेशन भएको गुनासो आएकाले अब सचेत भएर काम गर्ने बताए । विभिन्न स्रोतको ५० करोड हाराहारीमा बजेट सकिएको अनुमान छ ।

गत आर्थिक वर्षमा मात्रै ६ किलोमिटर कटिङको कामका लागि दुई ओटा ठेक्का लागेका थिए । दुई करोड ४७ लाख र ७० खर्च ४१ हजार खर्च भइसकेको छ । सडक डिभिजन कार्यालयले प्रगति देखाए पनि स्थानीय बासिन्दा भने कामै नभएको आरोप लगाउँछन् ।

अन्तर जिल्ला जोड्ने रणनीतिक महत्वको उक्त सडक आर्थिक वर्ष ०७२/०७३ मै घोराखोरी–ओखलढुंगाको फेदिगुमा ४ किलोमिटर सडक खन्न वन समुहले रोकेपछि अलपत्र छ । समस्या समाधानका लागि कार्यालयले पहल नगरेपछि काम हुन नसकेको हो । ठेक्का लाग्ने, ठेकेदारले पेश्की लिने र वर्षौं काम नगर्ने भएकाले पर्यटकीय र आर्थिक केन्द्र जोड्ने महत्वूर्ण सडक निर्माणको कार्यले गति लिन सकेको छैन ।

मध्यपहाडी लोकर्मागसँग छोटो दुरीमा जोड्ने मोलुङ एकवार सडकका लागि आर्थिक वर्ष ०७१/७२ मा ५ करोडको ठेक्का आहान गरिएको थियो । तीमध्ये २ करोड ८५ लाखको ठेक्का स्वीकृत भएकोमा १ करोड २० लाख बराबरको काम फरफारक भइसकेको छ । जिल्लाको सिस्नेरी–६ र टोक्सेल– १ स्थित सुनकोसी दोभानदेखि सुरु हुने मोलुङखोला करिडोर २५ किलोमिटर छ । सात मिटर चौडाइ र एक मिटर ‘ड्रेन’ खन्नुपर्ने मापदण्ड भए पनि ठेकेदारले त्यसअनुसार काम गरेका छैनन् । हालसम्म बाटो निर्माण ढिलाइ हुनुको प्रमुख कारण ठेकेदार र सडक डिभिजन रहेको स्थानीयको आरोप छ ।

समस्या यी सडकमा मात्र सिमित छैन । लिखु एकवार, नबलपुर–पलापु–कोषहाट सडक, साघुँटारदेखी भुसिंगासम्म जोड्ने सडकमा बर्षेनी लाखौँ रकम विनियोजन हुने बजेट खर्च भए पनि सडकमा सवारी संचालन हुनु त परको कुरा ट्रयाक खन्ने काम पनि पुरा भएका छैनन् ।

सडक बन्छन् गाडी गुड्दैनन्

‘यी सडक त पैसा खाने सडक रहेछन्’ रिर्पोटिङमा घोराखोरी पुगेका कान्तिपुर दैनिकका पत्रकार कुम्भराज राईले भने– ‘तीन चार वर्षदेखीको काम केही देखिदैन, खर्च चाँही करोडमा भइरहेको छ ।’ १० वर्षदेखी निरन्तर निर्माण भइरहेको साँघुटार ओखलढुंगा सडकमा मोटरसाइकल हिडाउन पनि मुस्किल पर्छ ।

जिल्लाको विकास र जिल्लाबासीको भविश्यसँग जोडिएका रणनीतिक महत्वका सडक निर्माणमा ओखलढुंगा हर्कपुर सडक डिभिजन कार्यालयको लापरवाहीले समस्या आएको सरोकारवालाहरुले बताएका छन् । नेकपा माओवादी केन्द्रका नेता निशान्त शर्माले सडक डिभिजले निर्माण गरेका सडक हेरेर चित्त बुझाउने ठाँउ नभएको बताए । ‘ग्रेड नमिलेका, कतै हवाइमैदानजस्तो फराकिलो र कतै स्काभेटर छिराउन मुस्किल पर्ने गरि खनिएका छन् । सडकले विकास होइन विनाश मात्र निम्याएको छ’ उनले अनलाइन खबरसँग भने । मोलुङ एकवार र साँघुटार ओखलढुंगा सडक १० वर्ष सम्म पुरा नहुनु सडक डिभिजन कार्यालयको लापरवाही भएको उनले बताए ।

दलका स्थानिय नेता भन्छन् : पहाड मात्रै नभत्किाइयोस् !

सडक डिभिजन कार्यालयको कामप्रति चौतर्फी गुनासो आएपछि मंसिरको दोश्रो साता तत्कालीन प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले डिभिजन प्रमुख ईश्वरबहादुर रिजाललाई जिल्ला प्रशासन कार्यालयमै बोलाएर कामको प्रगति विवरण मागे । राजनीतिक दल र संचारकर्मी माझ ११ पृष्ठ लामो प्रगति विवरण पेश गरेका रिजालको जवाफ सुनिनसक्दै माओवादी केन्द्रका नेता निशान्त शर्माले ‘डिइसाब, पहाड भत्काएर गाउँ जोखिम बनाउने भए यस्ता सडक नबनाउनुस्’ भन्दै प्रतिवाद गरे ।

सडक डिभिजनले निर्माण गरेका सडकमा सवारी संचालन हुन सक्ने अवस्था नभए पछि दलका नेताहरुले पडाड भत्काउन मात्रै डोजर नचलाउन ध्यानाकर्षण गराए । एमालेका जिल्ला अध्यक्ष मोहन कुमार श्रेष्ठले दलका नेताहरुले ठेकेदारले समयमा काम नगरे पनि कारवाहीको सट्टा जोगाउन नहुने बताए । आफ्नो दलका ठेकेदार भए जोगाउने प्रबृत्तिले निर्माणका काम अलपत्र हुने गरेको भन्दै काम नगर्ने माथि कारवाही गर्ने हिम्मत गर्न डिभिजन प्रमुख रिजाललाई सुझाव दिएका थिए ।

क्रान्तिकारी माओवादीका जिल्ला सचिव रुद्र फुयलले सडक डिभिजनको काम थाल्ने मिति हुने र सकिने मिति नहुने रहेछ भन्दै व्यंग्य गरे । कार्यालयले भने सडक विभागबाट दर्जनौ टुक्रे योजना आउने र मर्मतमा खर्च गर्न दवाव आउने भएकाले धेरै समय साना योजनामा समय खर्चिनु पर्ने भएकाले समस्या भएको बताउँदै आएको छ ।

टुक्रे योजनाले समस्या

ठूला र महत्वपूर्ण योजना संचालन र अनुगमन गर्न सडकमा थुप्रै टुक्रे योजना भएकाले पनि समस्या देखिएको छ । ‘साना योजनामा दलका नेताहरुले दवाव दिन्छन्, ठूलामा ध्यान दिदैनन्’ डिभिजन प्रमुख रिजालले गुनासो गरे । चालु आर्थिक वर्षमा मात्रै डिभिजन कार्यालयमा ४ देखी ८ लाखका ३४ ओटा टुक्रे योजनामा अख्तियारी आएको छ । यस्ता टुक्रे योजना सिमिति समयम हुने भएकाले मा प्राविधिक खटाउने र सम्पन्न गर्ने काममा कर्मचारी नहुँदा समयमा काम गर्न नसकिएको रिजाललले दावी गरे । ‘टुक्रे योजनाले हैरान बनायो’ उनले भने । सडक विभागको नीति नै ठिक नभएको उनको ठम्याइ छ । ठूला योजनामा ध्यान दिन दलको नेताहरुले सडक डिभिजन कार्यालयलाई ध्यानाकर्षण गराएका छन् ।

सडक निर्माणमा स्काभेटर चालकै नै प्राविधिक

सडक निर्माणमा सागै प्राविधिक हुनु पर्ने भए पनि सर्भे सकिएपछि विल बनाउन मात्रै प्राविधिकको काम आउँछ । सडक निर्माणका क्रममा अनुगमन नहुँदा स्काभेटर चालक नै प्राविधिक बनेर सडक निर्माण गर्ने गरेका छन् । स्थानीयको स्वार्थ र ठेकेदारको विल पुर्याउने रणनीतिले मोड र ग्रेड मिलाउने भन्दा परिमाण पुर्याउने गरि कि खन्ने प्रचलन छ ।

‘विल बनाउन मात्र प्राविधिक आएको देखिन्छ, ठेकेदार भेटेपछि मिलिहाल्छ, अनि कसरी मापदण्ड अनुसारको सडक बन्छ ?’ एमाले नेता अर्जुन धमलाले प्रश्न गरे ।

चौतर्फी आलोचना र गुनासो आएपछि ओखलढुंगा हर्कपुर सडक डिभिजन कर्यालयले विगतका आधारमा समिक्षा नगर्न आग्रह गरेको छ । विगतका आधारमा होइन काम गर्न समयम दिन र आफुले गरेका कामको जिम्मेवारी लिन आफु तयार रहेको डिभिजन प्रमुख रिजालले आग्रह गरे । आगामी दिनमा रणनीतिक महत्वका सडकलाई प्रथामिकतामा राखेर काम गर्ने उनले बताए ।

करिडोर क्षेत्र पुनर्निर्माण पनि पछि

ओखलढुंगाको विकासमा मेरुदण्ड मानिएका दुई सडक मोलुङ एकवार र साँघुुटार–ओखलढुंगा–सिलौरीघाट सडक करिडोर ०७२ बैशाखको भूकम्बाट पनि अति प्रभावित क्षेत्र हुन् । ती क्षेत्रमा निर्माणाधीन सडक त अलपत्र छन् नै भुकम्पपछि पूनः निर्माणको काम समेत अपलत्र अवस्थामा छ । मोलुङ एकवार सडक खण्डमा समेत अनुान वितरण भए पनि पुनः निर्माणको काम सुस्त छ । कतिले घर बनाउन सडकले भत्काउला कि भनेर सडक पर्खेर बसेका बताएका छन् । यसको उदाहरण हुन् मूलखर्क गाविस–८ का रामप्रसाद गौतम । उनले घर पूर्ण क्षति भएर अनुदान लिए पनि सडक सर्भे हुने सुनेपछि आफ्नो घर सडकमा पर्छ कि भन्ने आशंकाले घरको जग हालेका छैनन् ।

‘अनुदान लिए पनि कारण यही मोलुङ करिडोर सडकमा सर्भे गर्दा भत्काउनुपर्ने क्षेत्रमा प¥यो भने के गर्ने भनेर निर्माण नथालेको सुनाए । घर बनाउन तयारी गरेका भूकम्प पीडित मोलुङ करिडोर क्षेत्रमा करिब ५ सय प्रभावित घरधुरी छन् ।

रणनीतिक महत्वका सडक छिटो बनाउन माग

यसरी जिल्लाका रणनीतिक महत्व बोकेका सडकहरु निर्माणको काम अलपत्र पर्दा भूकम्प पछिको पुनः निर्माणको काम समेत प्रभावित भएको छ । जिल्लाको विकासमा मेरुदण्ड सावित सडकहरु नै अलपत्र अवस्थामा रहेकाले पूर्वाधार निर्माणका काममा जिल्ला पिछाडि परेको हो । ओखलढुंगाका रणनीतिक, आर्थिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएका मोलुङ एकवार र साँघुुटार–ओखलढुंगा–सिलौरीघाट सडक निर्माण पुरा भए ओखलढुंगा खोटाङ र सोलुखुम्बुको व्यापारिक केन्द्र बन्नेसक्ने भएकाले सबैले यी सडक निर्माणमा योगदान गर्नु पर्नेमा सरोकारवाहरुले जोड दिदै आएका छन् । आफैले सिफारिस गरेको सडकको कामको गति देखेर सांसद यज्ञराज सुनुवार दिक्क छन् । ‘ठेकेदार र आयोजना प्रमुखलाई धेरै भनियो कामको अझै उस्तै छ’ सांसद सुनुवारले भने– ‘अब त सडक विभागमै धर्ना बस्नु पर्ने भयो ।’

फोटाे : ८ वर्षदेखी निर्माणाधीन मोलुङ एकवार सडक जहाँ ३ किलोमिटर मात्र ट्रयाक खुलेको छ ।

तपाईको प्रतिक्रिया

Loading...